६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

इपिसेन्टरमै पुगेन सरकारी राहत

भूकम्पले घर भत्किएपछि आफैंले त्रिपाल खरिद गरेर खुला आकाशमुनि रात बिताउँदै जाजरकोटको भेरी नगरपालिका–१ माथिल्लो रिम्नाका स्थानीय ।

भूकम्प गएको तीन दिनपछि केन्द्रबिन्दु रहेको जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा पुग्दा धनी बोहरा बेलुकाको खानेकुरा जोहो गर्न बारीतिर गएकी थिइन्। भूकम्पका कारण उनको घर चर्किएको छ। बारीमा काठको खाँबोमा फेरे (ऊनी कपडा) थियो। ‘भूकम्पले घर चर्किएकाले भित्र पस्न डर लाग्छ,’ धनीले भनिन्, ‘बारीमा फेरे टाँगेर रात बिताउने गरेका छौं।’ उनको ६ जनाको परिवारले तीन दिनदेखि यसैगरी रात काटिरहेको छ।

भूकम्पको इपिसेन्टरमा सोमबार दिउँसोसम्म राहत पुगेको थिएन। इपिसेन्टरबाट फर्कंदै गर्दा फेरि ५.८ म्याग्निच्युडको भूकम्प गयो। सदरमुकाम फर्किएर धनीलाई फोन गर्दा उनले आफ्नो घर पुरै भत्किएको बताइन्। ‘तपाईं आउँदा बस्न नमिल्ने भए पनि घर सग्लै थियो, अहिलेको भूकम्पले ढाल्यो,’ उनले भनिन्, ‘बारीमा हालेको फेरे पनि भूकम्पले च्यातिदियो।’ भूकम्प जाँदै गर्दा सेनाको हेलिकोप्टरले केही राहत सामग्री रामीडाँडामा पु¥याएको छ। दाताले दिएको राहत सामग्री पनि एकद्वार प्रणालीका नाममा गाउँपालिकामै थन्किएको छ। ‘राहत आइपुग्यो भन्छन्, हामीले पाएका छैनौं,’ उनले भनिन्, ‘पाल, ओढ्ने र ओछ्याउने भए सजिलो हुन्थ्यो।’

रामीडाँडाकै कौशिला बुढाको आठ जनाको परिवार छ। घर ढाक्न ल्याइएको पाल टाँगेर उनीहरू बसिरहेका छन्। पहाडी क्षेत्र भएकाले रामीडाँडामा दिउँसै चिसो छ। राति आगो बालेर पालैपालो सुत्ने गरेको कौशिलाले सुनाइन्। ‘एक त बारीको बास छ, आगोले भएको पाल पनि जलाउला भन्ने चिन्ताले पालो लाएर सुत्ने गरेका छौं,’ उनले भनिन्, ‘भूकम्पको केन्द्रलाई नै सरकारले यसरी बेवास्ता गर्न हुन्थेन।’ भूकम्पको केन्द्र बारेकोटमा मानवीय क्षति भने भएन। घरहरू चाहिँ बस्नलायक छैनन्। गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी दिउँसोसम्म एक हजार घरमा पूर्ण क्षति भएको र तीन हजार घर बस्नलायक नभएको तथ्यांक दिँदै थिए। बेलुका टेलिफोनमा उनले भने, ‘अहिलेको भूकम्पले कुनै पनि घर सुरक्षित छैनन्। शुक्रबार रातिको भूकम्पले चर्किएका घरहरू भत्किएका छन्। केही बचेका घर अहिले चर्किएर बस्न नमिल्ने भएका छन्।

 भूकम्पपीडितका लागि भारतले पठाएको दोस्रो खेपको राहत सामग्री लिएर आएको भारतीय वायु सेनाको जहाज नेपालगन्ज विमानस्थलमा । 

रामीडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल गत शनिबार पुगे। सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेतसहित प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा पुगे। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल इपिसेन्टर रामीडाँडा पुग्दैछन्। स्थानीय यहाँ पुग्नेहरूसँग पाल र ओढ्ने–ओछ्याउने सामानहरू उपलब्ध गराइदिन माग गर्छन्। ‘हामीलाई खाद्यान्न आवश्यक छैन। पछि घर बनाउन सहयोग गर्नुहोला। पीडित जयकला बटालाले भनिन्, ‘चिसोमा ओत लाग्ने पाल पनि नपाउँदा सरकार भएको अनुभूति गर्न पाएनौं।’ पालिका अध्यक्ष गिरीले मंगलबारबाट आएको राहत सामग्री वितरण गर्ने बताए। ‘सोमबारसम्म केही राहत  सामग्री आइपुगेको छ,’ उनले भने, ‘आएका राहत सामग्री वडामार्फत वितरणको तयारी थालेका छौं।’

दुईपटक एउटै ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा स्थानीय थप त्रासमा छन्। ‘कतिबेला भूकम्प आएर फेरि क्षति गर्ने हो कि भन्ने चिन्ता थपिएको छ,’ स्वास्थ्यकर्मी सपना बुढाले भनिन्, ‘यहाँ कोही पनि घरभित्र पस्न सक्ने अवस्था छैनन्।’ उनले सरकारले त्रिपाल, लत्ताकपडाको व्यवस्था नगर्दा कोही तरकारी फलाउन बनाइएका टनेलमा, कोही फरियाको पाल बनाएर रात काट्न बाध्य भएको बताइन्।

भूकम्पको इपिसेन्टर नजिकै पर्छ, कुशे गाउँपालिका–७ को धनराशि गाउँ। त्यहाँ भूकम्पमा परेर सात जनाले ज्यान गुमाए। यहीँ गाउँकी एलिशा शाही भूकम्प आउँदा दौडेर बाँचिन्। ससुरासहित परिवारका तीन सदस्य घर ढल्दा च्यापिएर घाइते भए। भोलिपल्ट घाइतेहरूलाई लिन हेलिकोप्टर आयो। उनीहरूको उपचार सुर्खेतमा भइरहेको छ। एलिशा र बाँकी परिवार शनिबारदेखि बारीमा आफैसँग भएको त्रिपाल टाँगेर गुजारा चलाइरहेको छ। ‘जसरी बिरामीको उद्धार भयो, त्यसरी नै राहत पनि आइदिएको भए सजिलो हुन्थ्यो,’ उनले भनिन्, ‘चिसो मौसममा पालमुनि रात बिताउनुपर्दा गाह्रो भइरहेको छ।’

गाउँपालिका उपाध्यक्ष देवीकाकुमारी सिंहले मृतकका परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको बताइन्। ‘सबै वडाबाट क्षतिको विवरण आइनसकेकाले अरूलाई राहत वितरण गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘आज साँझ (सोमबार) कार्यपालिका बैठक बसेर वडा पालिकामार्फत राहत वितरण गर्ने तयारीमा छौं।’ उनले अहिलेसम्म पालिकाका ४ हजार २७० घरपरिवार भुकम्पका कारण विस्थापित हुनुपरेको तथ्यांक पालिकासँग रहेको बताइन्। साँझ टेलिफोनमा कुरा गर्दा भने उनले दोस्रोपटक गएको भूकम्पले थप घरमा क्षति पु¥याएको जानकारी दिइन्। ‘सोमबार आएको भूकम्पले फेरि केही घरमा क्षति पु¥याएको जानकारी आएको छ। मानवीय क्षति अहिलेसम्म भएको जानकारीमा छैन,’ उनले भनिन्, ‘पटकपटक भूकम्प आउन थालेपछि कोही पनि घरभित्र बस्न सक्ने अवस्था छैन।

उपप्रधानमन्त्रीद्वारा निरीक्षण

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिका–१ को रामीडाँडासहित जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। भूकम्पलगत्तै घाइतेहरूको उद्धारमा लाग्नुपरेकाले केही समय राहत पु¥याउन ढिलाई भएको बताउँदै उनले मंगलबारसम्म सबै प्रभावित नागरिकसम्म राहत सामग्री पुग्ने विश्वास व्यक्त गरे। रामीडाँडामा स्थानीयसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले तत्कालै हेलिकोप्टरमार्फत आवश्यक राहत सामग्रीहरू ल्याइने बताए। त्यसको केही बेरपछि नेपाली सेनाको हेलिकोप्टरले राहत सामग्री रामीडाँडा पुर्‍याएको थियो।

भूकम्पमा सन्तान गुमाएकी जाजरकोटको कुशे गाउँपालिकाकी महिलालाई सान्त्वना दिँदै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर

उपप्रधानमन्त्री खड्काले प्रभावित नागरिकहरूलाई तत्काल राहत सामग्री पु¥याएर भत्किएका घरहरूको पुनर्निर्माणमा सरकार केन्द्रित हुने बताए। ऊर्जामन्त्री शक्ति बस्नेत, प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई लिएर प्रभावित क्षेत्र पुगेका खड्काले राहत सामग्री स्थल र हवाईमार्गबाट प्रभावित नागरिकसम्म पु¥याउने काम भइरहेको बताए। ‘पछि समस्या नहोस् भनेर एकद्वारा नीति अपनाइएको हो, यसले गर्दा केही अलमल भएको हो,’ उनले भने, ‘अब त्यो समस्या पनि छैन, मंगलबारसम्म सबै पीडितले टेन्ट, खाद्यान्न, लत्ताकपडालगायत सामग्री पाउनुहुन्छ।’

प्रकाशित: २१ कार्तिक २०८० ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App