२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चितवनका ‘पुष्पा र अञ्जली’ कोशी टप्पुमा रमाउॅदै

कोशी टप्पु वन्यजन्तु आरक्षको इन्क्लोजरमा राखिएका पुष्पा र अञ्जली। तस्बिर: नागरिक

चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षणमा ल्याइएका ‘पुष्पा र अञ्जली’एक सिंगे गैंडा यहाँको वातावरणमा समायोजन भएका छन्। एक महिना अघि चितवनबाट कोशी टप्पुमा पुष्पा र अञ्जलीपोथी गैँडालाई ल्याइएको थियो। 

‘चितवनमा जुन खाले वातावरण थियो, यहाँ पनि त्यही खाले वातावरण भएकाले पुष्पा र अञ्जलीसहजै समायोजन भएका छन्,’ कोशी टप्पु वन्यजन्तु आरक्षका पशु स्वास्थ्य प्राविधिक देवकुमार गाईमले भने, ‘चितवनबाट कोशी टप्पुमा ल्याउने क्रममा चोटपटक लागेको थियो। त्यो घाउँ अहिले निको भई सकेको छ।’

उनका अनुसार पुष्पा र अञ्जलीलाई दिनभर घाँसे मैदानमा चराउने गरिएको छ भने साँझ ५ बजेपछि बिहान ७ बजेसम्म इन्क्लोजरमा राख्ने गरिएको हो। आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर निर्माण गरिएको छ। गैँडालाई बाहिर चरिचरणका लागि लानका लागि पुष्पा र अञ्जलीका दुई–दुई जना हेरालु रहेका छन् भने आरक्षमा सुरक्षाका लागि खटेको सेनाको टोलीले पनि निगरानी गर्ने गरेको छ।

‘चितवनबाट ल्याएको एक–दुई दिन फलफूल दिएर इन्क्लोजरभित्र राख्ने काम गरे पनि यति बेला भने सहज हुन थालेको छ,’ पशु स्वास्थ्य प्राविधिक गाइमले भने, ‘चरिचरणका लागि आरक्षकै सप्तरी र उदयपुर क्षेत्रतर्फ लाने गरिएको छ।’ आरक्ष क्षेत्र सुनसरी, सप्तरी र उदयपुरमा गरी एक सय ७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। पुष्पा र अञ्जलीलाई दिनभर चरिचरणाका लागि लगेर साँझ ल्याएपछि इन्क्लोजरमा राख्दा पनि अहिलेलाई आरक्ष क्षेत्रमै पाइने घाँस दिने गरिएको छ।

गैँडालाई यति बेला रैथाने घाँस दिने गरेपनि अब भने आरक्षको केही निश्चित क्षेत्रलाई ग्रासल्याण्ड बनाउने योजना रहेको छ। ‘अब चाँडै नै गैँडाका लागि दुई–चार विघा जग्गामा ग्रासल्याण्ड क्षेत्र बनाएर उन्नत जातको घाँस लगाउने तयारी भइरहेको छ,’ पशु प्राविधिक गाइमले भने, ‘घाँस लगाउँदा जुनबाट पौष्टिक तत्त्व पाइन्छ, त्यही लगाउने योजना रहेको छ।’

माउबाट छुटेर अलपत्र अवस्थामा भेटिएका टुहुरा गैंडा पुष्पा र अञ्जली चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीको माया–ममतामा हुर्किएका थिए। नेपालमा हाल सात सय ५२ वटा एकसिंहे गैंडा रहेका छन्। 

कोशी टप्पु वन्यजन्तु आरक्ष नेपालको पूर्वी तराईको जैविक विविधता प्रतिनिधित्व गर्ने कोशी नदी तटीय क्षेत्रमा अवस्थित एक मात्र संरक्षित क्षेत्र हो। क्षेत्रफलको आधारमा यो नै नेपालको सबैभन्दा सानो आरक्ष हो। क्षेत्रफलमा सानो भएता पनि जैविक विविधताको हिसाबले यो आरक्ष अत्यन्तै महत्त्वपूर्ण छ।

यस आरक्षमा पर्याप्त संख्यामा सिमसार रहेकाले ‘चराको स्वर्ग’ भूमिनामले चिनिँदै आएको छ। साथै, कोशी टप्पु अर्नाको मुख्य वासस्थान हो। यहाँ अग्ला घाँसे मैदान, नदी तटीय वन र सिमसार क्षेत्रमा गरी ५१४ प्रजातिका वनस्पतिहरू सूचीकृत भएका छन्। 

प्रकाशित: १९ कार्तिक २०८० १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App