१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बजेटमा ओलीको असन्तुष्टिः हामीसँग परामर्श भएन तर पारित गर्छौं

तस्बिर: बालकोट

सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाएका छन्।

आज संघीय संसद् भवनको ल्होत्से सभाहलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो,’ ओलीले भने, ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ।’

रकमको बाँडफाँट पनि अर्थमन्त्री वर्षमान पुन र नेकपा माओवादी केन्द्रतिरै ढल्किएको देखिएको ओलीले बताए। उनले भने, ‘यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भीर त्रुटि भएका छन्।’
 

आफ्ना सांसदहरूलाई बजेटमा रहेका कमजोरी औँल्याउन पनि उनले संकेत गरे। ‘बजेटमा रहेको कुनैपनि कमजोरी औँल्याउनै हुँदैन भन्ने होइन। बजेटमा रहेको कमी माननियज्यूहरूले आफ्नो क्षेत्र र जिल्लामा प्रदेशमा हिजोको र आजको के कमीकमजोरी छ ? के हुनुपथ्र्यो ? के अझै घट्यो ? यस्ता कुराहरुमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ,’ ओलीले निर्देशन दिए।

यस्तै ओलीले आफ्नो क्षेत्रको आयोजनामा बजेट कटौती भएको छ भने बजेटको आकार नघटेको स्थितिमा आयोजनाको लागि छुट्टाइएको रकम घट्यो भने त्यसको औचित्य के हो ? त्यो पनि प्रश्न गर्नुपर्ने  बताए।

‘एउटालाई अनुकूल अर्कालाई प्रतिकुल छ भने त्यो कमीकमजोरी भयो भन्ने निष्कर्ष निकाल्नुपर्छ,’ उनले भने। यद्यपि बजेटमाथि छलफल गरेर पारित गर्नुपर्ने अवस्था भने रहेको ओलीले बताए।

प्रकाशित: १९ जेष्ठ २०८१ १४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App