१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिले कहिले छानबिन थाल्ने ?

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनेको पाँच दिन पूरा भइसक्दा प्रारम्भिक बैठकसम्म बसेको छैन। समितिका संयोजक तोकिएका नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले अहिलेसम्म पनि औपचारिक रुपमा बैठकको आह्वान गरेका छैनन्।

‘अस्ति न एकदिन हेल्लो भनौं भनेर फोन गर्नुभएको थियो। त्यसपछि केहीपनि खबर आएको छैन,’ नेपाली कांग्रेसबाट संसदीय छानबिन समितिकी सदस्य ईश्वरीदेवी न्यौपानेले भनिन्, ‘हामी आधिकारिक बैठकको पर्खाइमा छौं।’

सत्तापक्षबाट जानाजान ढिलासुस्ती भइरहेको कांग्रेसको आशंका छ। ‘कार्यादेशले धेरै काम दिएको छ। त्यसका लागि तीन महिनाको समय निकै टाइट हुन्छ, उहाँहरूले बुझ्नुपर्ने हो,’ सांसद न्यौपानेले भनिन्।

यद्यपि कांग्रेस अहिले सत्तापक्षको भूमिका हेर्ने उनले बताइन्। उता सत्तापक्षका सांसद्हरूले निर्धारित समयकै समितिले काम थाल्ने बताउँछन्। नेकपा माओवादी केन्द्रबाट समितिका सदस्य रहेका सांसद लेखनाथ दाहालले अब एकदुई दिनभित्रै समितिले काम थाल्ने बताए।

‘हामीलाई समिति गठन भएको दिनबाट एकहप्ताभित्रै काम थाल्न भनिएको छ। त्यो अवधिभित्रै औपचारिक रुपमा हामी काम थालिहाल्छौं,’ उनले भने। समिति गठन हुँदादेखि नै अनौपचारिक रुपमा काम थालिसकेको सांसद् दाहालले दाबी गरे।

उनले भने, ‘यसबीचमा सभामुख (देवराज घिमिरे) ज्युसँग भेटेर सिंहदरबारभित्रै कार्यालयको माग गरिएको छ। यस्तै विषयविज्ञको खोजी, संरचनात्मक तयारीको काम भएको छ।’

समितिका संयोजक थापा र आफू परस्पर नियमित छलफलमा रही काम गरिरहेको उनले दाबी गरे। प्रमुख प्रतिपक्षी कांग्रेससहितका विपक्षी दलले लामो समयसम्म संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गरेपछि जेठ १५ गते सत्तापक्ष समिति गठन गर्न राजी भएको थियो।

सोहीअनुसार प्रतिनिधिसभाको सोही दिनको बैठकले एमाले सांसद थापाको संयोजकत्वमा रहनेगरी सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको थियो।

जसमा एमालेका तर्फबाट थापा र अर्की सांसद सरिता भुसाल, कांग्रेसका तर्फबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, माओवादी केन्द्रका तर्फबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुबबहादुर प्रधानलाई सदस्य राखिएको थियो।

समितिलाई विभिन्न चारबुँदे कार्यादेश दिइएको छ। जसमा गृहमन्त्री रवि लामिछाने संलग्न गोरखा मिडिया नेटवर्क प्राली र २९ वटा सहकारीमाथि पनि छानबिन गर्न भनेको छ, भने समितिलाई छानबिनका लागि तीन महिनाको समय अवधि तोकिएको छ।

प्रकाशित: १९ जेष्ठ २०८१ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App