१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

राहतमा एकद्वार प्रणाली

जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पपीडितका लागि सरकारी र निजी क्षेत्रले शनिबार राहत तथा सहयोगको घोषणा गरेका छन्।

भूकम्पबाट जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई राहत प्रदान र पुनस्थापनामा सघाउन सबैलाई अनुरोध गरेका छन्। उनले सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैमा अनुरोध गरेका हुन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितको खोज/उद्धार र राहतका लागि ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको छ। बैठकले खोज, उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णय पनि गरेको छ। सरकारले सोही संयन्त्रमार्फत सहयोग गर्न सबैलाई अनुरोध गरेको छ।

लुम्बिनी प्रदेश सरकारले भूकम्पपीडितको उद्धार र राहतका लागि डेढ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कोसी प्रदेश सरकारले पनि एक करोड रूपैयाँ सहयोग गर्र्ने घोषणा गरेको छ। निजी क्षेत्रको बुद्ध एयरले पनि भूकम्पपीडितलाई सघाउने भएको छ। बुद्ध एयरका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोगस्वरूप एक करोड रूपैयाँ जम्मा गर्ने घोषणा गरेको हो। कम्पनीले उद्धार तथा राहत सामग्री ढुवानीमा सहयोग गर्ने जनाएको छ।

त्यस्तै निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि भूकम्प प्रभावित जनताको उद्धार, उपचार र राहतका लागि कर्णाली प्रदेश सरकारलाई तत्काल ५० लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

एनसेलले आफू यस दुखद अवस्थामा भूकम्प प्रभावित जिल्लाका जनतासँगै रहने पनि जनाएको छ। आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वका ग्राहकलाई ४० लाख रूपैयाँबराबरको सेवा निःशुल्क उपलब्ध गराएको पनि एनसेलले जनाएको छ।

नेपाली कांग्रेसले पनि भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० लाख रूपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद भट्टराईले प्रेस विज्ञप्तिमार्फत यो जनाकारी गराएका हुन्।

नेपाल टेलिकमले पनि भूकम्प प्रभावित क्षेत्रका आफ्ना ग्राहकलाई पाँच दिनसम्म निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको छ। टेलिकमले सुर्खेतबाट यो सुविधा उपलब्ध गराउने जनाएको हो। टेलिकमले उद्धारका लागि निःशुल्क नमस्ते वाइफाई सुविधा पनि उपलब्ध गराउने भएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पनि भूकम्पपीडितको उद्धार र उपचारका लागि २५ लाख रूपैयाँ सघाउने भएको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

गैरआवासीय नेपाली संघले २१ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष आरके शर्मा र महासचिव बुद्धिसागर सुवेदीले विज्ञप्तिमार्फत राहत कोषमा एनआरएन अभियन्ताबाट संकलन गरेर २१ लाख रूपैयाँ जम्मा गर्ने जनाएका हुन्।

 त्यस्तै बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ कार्यसमितिले पनि भूकम्पपीडितको सहयोगका लागि राहत कोषमा १० लाख रूपैयाँ जम्मा गर्ने जनाएको छ।

निगमले हवाई उद्धारमा इन्धन खर्च बेहोर्ने

नेपाल आयल निगमले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा परिचालन गरिएका नेपाल एयरलाइन्स, नेपाली सेनाका विमान र हेलिकोप्टरको इन्धन खर्चबापतको रकम बेहोर्ने भएको छ। निगमले आव २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट यो खर्च बेहोर्ने निर्णय भएको जनाएको छ।

उद्योग वाणिज्य महासंघको अपिल

नेपाल उद्योग वाणिज्य महासंघले भूकम्प प्रभावितलाई सघाउन सबैलाई अपिल गरेको छ। महासंघले प्रेस विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो। उसले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। महासंघले सबै सदस्य उद्योग वाणिज्य संघ, उद्यमी व्यवसायी र व्यावसायिक संघसंस्थालाई उद्धार र राहतमा सघाउन अपिल गरेको हो।

यसैगरी निर्माण व्यवसायी महासंघले पनि विज्ञप्ति जारी गर्दै भूकम्पपीडितको सहयोगमा जुट्न सबैलाई आग्रह गरेको छ। महासंघले भूकम्प प्रभावित र आसपासमा रहेका निर्माण कम्पनीहरूलाई यन्त्र र उपकरणसहित तत्काल उद्धार र पुनस्र्थापना जुट्न भनेको छ।

यसैबीच नेपाल विद्युत् प्राधिकरणले भूकम्पले घर भत्केका ठाउँबाहेक अन्य स्थानमा विद्युत् सेवा नियमित गरेको छ।  

प्रकाशित: १९ कार्तिक २०८० ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App