२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लुम्बिनीबाट सगरमाथा आधार शिविर पठाइयो शान्ति दीप

जलवायु परिवर्तनका कारण हिमालयमा परेको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्नका लागि लुम्बिनीको शान्ति दीप सगरमाथाको आधार शिविर लगिएको छ।आज नेपाल पर्वतारोहण संघले विश्व शान्तिको कामना सहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न शान्ति दीप कालापत्थरमा लगेको हो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले  शान्ति दीपमा दीप प्रज्वलन गरी उक्त दीप सगरमाथाको आधार शिविरतर्फ पठाएका हुन।उपाध्यक्ष  लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण संघका केन्द्रीय कार्य समिति सदस्य दिवस पोखरेल र सगरमाथा आरोही संघका महासचिव शिव बहादुर सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन।

उपाध्यक्ष लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनी शान्ति दीपबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर लैजाँदा सकरात्मक सन्देश प्रवाह हुने बताए।विश्व मानव जगतमा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा पर्यटन मन्त्रालय अन्तर्गत शान्ति भूमि लुम्बिनीबाट विश्वको अग्लो शिखरमा दीप लैजाने कार्य गर्वको विषय भएको बताए। शान्ति दीपमा दीप प्रज्वलन गराएपछि उक्त दीपलाई लामा गुरुहरूबाट स्वस्तीशान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो।

सो दीप कार्तिक १९ गते आइतबार साँझ सम्ममा काठमाडौं पुर्‍याइने र सगरमाथा आधार शिविर कालापत्थर पु¥याइने नेपाल पर्वतारोहण संघले जनाएको छ। कार्तिक २५ शनिवारका दिन एक समारोहका बिच कालापत्थरमा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान पुनः एक पटक नेपाल तर्फ केन्द्रित हुने संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखरेलले बताए।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असर बारे राष्ट्र संघको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलदायी हुने पोखरेलले बताए।

वि.स. २०६६ सालमा आयोजना गरिएको कोप–१५ मा सगरमाथा आरोहणले डेनमार्क पुगेर मार्च पास गरेका थिए।अन्तर्राष्ट्रिय अल्पाइन सङ्गठनहरू यूटिएए र भिएएको साधारण सभामा संघले ध्यानाकर्षण गर्दै आए तापनि प्रभावकारी प्रतिफल उपलब्ध हुन सकेको छैन।

प्रकाशित: १७ कार्तिक २०८० १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App