१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सेना बढुवामा सधैं लफडा

रथीमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डे।

नेपाली सेनाका उच्च अधिकृतहरूको बढुवाका बेला सधै शैक्षिक योग्यता, नागरिकता लगायतका विषयमा विवाद हुने गरेको छ। सैनिक अधिकारीहरूको बढुवाका बेला नागरिकता, जन्म मिति र शैक्षिक योग्यताको प्रमाणपत्रमाथि कैफियत देखाएर लफडा सिर्जना गर्ने परम्परा जस्तै बनेको छ।

नेपाली सेनाले उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा सिफारिस गरेपछि उनको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा फरकफरक जन्म मिति भएको विषय बाहिर आएको छ। सेनाले युद्धकार्य विभागका महानिर्देशक उपरथी पाण्डेलाई रथीमा बढुवा सिफारिस गरी भावी प्रधानसेनापतिका रूपमा अघि सारेपछि यो विवाद सतहमा ल्याइएको हो।

प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी रहेका बेला उनीपछिको रोलक्रममा रहनेगरी जंगी अड्डाले पाण्डेलाई रथीमा बढुवा सिफारिस गरेको थियो। पाण्डेसँगै अर्का उपरथी अशोक सिग्देल पनि भावी प्रधानसेनापतिको दौडमा थिए। तर रथीमा उनको बढुवा पुस ३ गतेपछि मात्रै हुनेछ। उनी उपरथीमा बढुवा हुने बेलामा पनि शैक्षिक योग्यताको प्रमाणपत्र र दुईवटा नागरिकता रहेको भन्दै विवाद सिर्जना गरिएको थियो।

सिग्देलको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रलाई लिएर विवाद भएपछि हालका पाण्डेसहितका केही सैनिक अधिकृतको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताका विषयमा छानबिन भएको थियो।

तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा छानबिन गरी पाण्डे र सिग्देल दुवैको शैक्षिक योग्यता र नागरिकतामा देखिएको विवाद निरूपण गरिएको थियो। त्यसै आधारमा सैनिक मुख्यालयले युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई रथीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

प्रधानसेनापति शर्मा चीन भ्रमणमा गएका कारण यससम्बन्धी थप प्रक्रिया अघि बढाइएको छैन। प्रधानसेनापति शर्मा बिहीबार स्वदेश फर्केका छन्।स्रोतका अनुसार अहिलेसम्म रथीमा पाण्डेको बढुवा सिफारिस प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छैन। पाण्डेविरुद्ध कुनै उजुरीसमेत परेको छैन। उजुरी नपरेको र प्रधानसेनापति शर्मा पनि चीनबाट आइसकेकाले आगामी मन्त्रिपरिषद्बाट पाण्डेको बढुवा हुने सम्भावना छ।

केहीले नक्कली नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सेनामा जागीर खाएको गुनासो आएपछि रक्षा मन्त्रालयका तत्कालीन सचिव ईश्वरी पौडेलले छानबिन गर्न लगाएका थिए। त्यसमा तत्कालीन प्रधान सेनापति थापाले साथ दिएका थिए।

त्यतिबेला नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र विवादमा मुछिएका अधिकारीहरूको प्रमाणपत्र र विवरण सम्परीक्षण एवं निक्र्योल गर्ने जिम्मेवारी तत्कालीन रथी प्रभुराम शर्मा (हालका प्रधानसेनापति) लाई दिइएको थियो।

‘तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको समयमा सबै अधिकृतहरूको शैक्षिक योग्यता र नागरिकताको विषयमा भेरिफाइ गरिएको थियो, त्यसबारेमा सम्बन्धित निकायमा पत्रचार गरिएको थियो, नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र बोर्डबाट क्रस भेरिफाइ गरेपछि मात्रै बढुवा प्रक्रिया अघि बढ्छ, बढुवा सिफारिस हुन्छ’, सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने।

उनका अनुसार अहिले सतहमा ल्याइएका सबै विवाद त्यतिबेला नै निरूपण भैसकेका हुन्। अहिले पनि बढुवा सिफारिस प्रमाणपत्र भेरिफाई गरेर मात्रै भएको हो।

प्रमाणपत्र छानबिन हुँदा सैनिक सचिव विभागको प्रमुख तत्कालीन सहायक रथी (हाल उपरथी) निर्मल थापा थिए। उपरथीद्वय पाण्डे र सिग्देलको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र विवाद बढ्दै गए वा कैफियत देखिएमा त्यसको फाइदा थापालाई हुने स्रोतको दाबी छ। ‘पाण्डे र सिग्देललाई हटाएर थापालाई अघि सार्ने खेलअन्तर्गत अहिले विवाद उठाइएको हो तर थापाको शैक्षिक योग्यताको प्रमाणपत्र पनि शंकास्पद देखिन्छ’, स्रोतले भन्यो।  

तत्कालीन प्रधानसेनापति थापाका पालामा सिग्देल र गोकुल भण्डारी उपरथीमा बढुवा सिफारिस भएपछि त्यसविरुद्ध उजुरी परेको थियो। उजुरीपछि हेटौंडामा पृतनापति रहेका पाण्डेलाई सैनिक मुख्यालयमा बोलाएर छानबिन गरिएको थियो।

अहिले भने रथीमा बढुवा सिफारिस भएका पाण्डेको विषयमा उजुरी नपरेको सैनिक मुख्यालयले जनाएको छ। ‘उहाँ (पाण्डे) को विषयमा उजुरी परेको छ जस्तो मलाई लागेको छैन। आज (बिहीबार) प्रधानसेनापति आएपछि थप प्रक्रिया सुरु हुन्छ होला, सैनिक ऐन, सैनिक सेवा नियमावलीअनुसार बढुवा सिफारिस भएको हा’, प्रवक्ता भण्डारीले भने।

पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक परेको भन्दै बढुवा सिफारिसप्रति प्रश्न उठाइएको हो। पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्म मिति २३ मंसिर २०२३ उल्लेख छ। तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति १२ माघ २०२१ उल्लेख भएको विषय बाहिर आएपछि विवाद सुरु भएको हो।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्म मिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको आरोप लगाइएको छ।

प्रकाशित: १७ कार्तिक २०८० ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App