चेतन मानन्धरको हत्याकाे अभियाेग लागेका योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर भएको छ। राष्ट्रपतिको निर्णयसँगै उनी कैद मुक्त भएका थिए।
चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले बिहिबार फैसला गरेको तर के फैसला भयाे भन्नेबारे आधिकारिक जानकारी आईनसकेको सर्वोच्च अदालतका सुचना अधिकारी गोविन्द घिमिरेरे बताए। सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न परमादेश पनि जारी गरेकाे बुझिएको छ।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो।
श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका रिगललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी भारती मानन्धरले रिले अनसन शुरु गरेकी थिइन्। सर्वोच्चकाे परमादेशसँगै उनले याे मुद्दा जितेकी छिन्।
रिगल २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए।
घटना यस्तो थियो...
रिगल ढकालसहित १५ जनाको समूहले २०७२ साल असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक बस्ने २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेका थिए। हत्याको एक महिनापछि २०७२ भदौ ७ गते ढकालले अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसबेला ढकाल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिसमेत थिए।
मानन्धरको हत्यामा संलग्नहरूलाई कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। बाँके जिल्ला अदालतले हत्यामा संलग्न १३ जनामध्ये ढकाल, प्रेमध्वज खत्री (प्रशान्त गौतम भनिने), छविलाल बस्नेत (विशाल), मोहनलाल खड्का (नवराज खत्री भनिने) लाई सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो।
२०७५ वैशाखमा जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले हत्यामा संलग्न भनिएका ९ जनालाई भने ३ देखि १० वर्षसम्मको कैद सजाय सुनाएको थियो।
सर्वस्वसहित जन्मकैदमा कानुनअनुसार २० वर्षसम्म कैद बस्नुपर्छ। मुलुकी ऐन अर्थात् नयाँ फौजदारी संहिता नआउँदै जन्मकैदको अवधि २० वर्ष तोकिएको थियो।
मन्त्रिपरिषद्को भदौ २९ गते बसेको बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली २०२० को साबिकको नियम १ र १ (क), सर्वोच्च अदालतको फैसला, ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ मा टेकेर ढकालको कैद कट्टा गरी सजाय माफी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका तर समय नपुगेका ढकालसहित ६७० जना कैदीबन्दीलाई कैदमा माफी मिनाहा दिएका थिए।
मुलुकी संहितामा ५० प्रतिशत कैद भुक्तान गरेकाको मात्र कैद कट्टा हुन सक्ने व्यवस्था छ। तर ढकालले कैद कट्टा पाउने समयसम्म कैद बस्नु परेन। उनले ५० प्रतिशत कैद भुक्तान गर्न १० वर्ष जेल बस्नुपर्ने थियो। कैद कट्टाका लागि ढकाल कम्तीमा २०८२ भदौ ७ सम्म जेल बस्नुपथ्र्याे। तर उनी ८ वर्ष केही महिना कैद सजाय भोगेपछि माफी पाएर छुटेका छन्।
प्रकाशित: १६ कार्तिक २०८० ०९:५५ बिहीबार





