२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा पाइन छाडे कृषि मजदुर, बाहिरी जिल्लाकै भर

रौतहटका दिनेश पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउँछन्। उनी यसरी नियमित आउन थालेको चार वर्ष भयो। धान काट्न मात्र होइन, धान रोप्न र गोड्न समेत उनी चितवन आउने गरेका छन्।

‘घरमा आमाबुवा छोरा छोरी र श्रीमती छन्। आफ्नो पनि पेट पाल्न पर्‍यो,’उनले भने ‘छठ पर्वको खर्च जुटाउनको लागि प्रत्येक बर्ष चितवन आउँछौँ।’ उनी यो बर्षमात्र तीन पटक चितवन आएका छन्। भरतपुर महानगरपालिका– ६ गितानागरमा धान छाटिरहेको अवस्थामा भेटिएका उनले चितवनमा सहज रुपमा काम पाउने गरेको बताए।

उनी १३ जनाको ग्रुपमा चितवन आएका हुन्। उनीहरुले ठेक्कामा काम लिने र आएको पैसा बराबर बाँडफाँट गर्ने गर्दछन्। तर काम अनुसारको ज्याला भने नरहेको उनीसंर्गै आएका परमान्द गुप्ताले बताए। ‘विगाहाको १२ हजार दिन्छन् । त्यो काम १३ जनाले एकैदिनमा गर्न कठिन हुन्छ,’उनले भने ‘त्यही पैसामा धान काट्ने, चुट्नेदेखि घर भित्र्याउनुपर्दछ।’

बारा, पर्सा रौतहटबाट छठ पर्वको लागि पैसा जोहो गर्न चितवनमा काम गर्न आउने गर्दछन्।  हेटौँडा, नवलपरासी, काठमाण्डौँसम्म ज्याला मजदुरीको काम गर्न जाने गरेको उनले बताए। धान रोप्ने, काट्ने बेला अन्यन्त्रभन्दा चितवनमा सहज रुपमा काम पाइने गरेको उनको अनुभव छ।

बाराबाट १५ जनाको टोली सहित आएका झापट चौधरी चितवनमा धान काट्न थालेको एक दश बढी भयो। परिवार पाल्नको लागि खेतमा आली लगाउनेदेखि काट्नसम्म आउने गरेको उनले बताए। ‘यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ,’ मंगलपुरमा धान काट्दै गएका चौधरीले भने, ‘चितवन जिल्लाका मंगलपुर, गितानगर, पदमपुर, रत्ननगर, खैरहनी, राप्ती सबै क्षेत्रमा धान काट्ने गर्दछौँ।’

चितवनका किसान बाली धन्काउनका लागि बाहिर जिल्लाका कामदारको भर पर्ने गरेका छन्। जिल्लामा कामदार पाइन छाडेपछि धान रोप्नेदेखि काट्नेसम्म मधेश प्रदेशका कामदारको भर पर्ने गरेका हुन्। मधेश प्रदेशबाट समूहमा आएका श्रमिकले यहाँ ठेक्कामा धान रोप्ने, काट्ने र झाँट्ने काम गर्दै आएका छन्।

जिल्लामा काम गर्ने युवाको जनशक्ति विदेश पलायन र कामदार महङ्गा भएका कारण बाहिरी जिल्लाबाट कामदार ल्याउनुपरेको किसानहरु बताउँछन्। रौतहटका दिनेश पटेलले भाडामा जग्गा लिएर भरतपुर महानगरपालिका वडा नम्बर छ स्थित गितानगरमा पाँच विगाहा क्षेत्रफलमा धान खेती गरेका छन्। धान भित्र्याउनका यहाँका कामदार खोजे पाएन। यहाँ कामदार नपाएपछि रौतहत र बारा जिल्लाबाट ल्याएर धान भित्र्याएका छन्। ‘चितवनमा कामदार नै नपाउने। पाएपनि दिनको एक हजार रुपैयाँ लिन्छन्,’ उनले भने ‘महङ्गा कामदार हालेर खेती गर्नभन्दा मधेशबाट नै ल्याएर काम गराइराखेका छौँ।’ उनले धान रोप्ने, काट्ने र छाट्ने काम मधेश प्रदेशबाट ल्याएर नै गराएका हुन्। चितवनका कामदार लगाएर खेती गर्दा लागत पनि नउठ्ने उनी बताउँछन्।

चितवनको अधिकांश जनशक्ति विदेश छ। एक दशक अघिसम्म अर्मपर्व चल्दथ्यो। अहिले हराउँदै गएको छ। जसका कारण बाहिरी जिल्लाबाट कामदार ल्याएर काम गराउनु परेको भरतपुर १५ शरणपुरका शिव उप्रेती बताउँछन्। ‘यहाँ भएकाले काम गर्दैनन् । धान लगाएर फाइदा पनि छैन,’ उनले भने ‘बाँझो किन राख्ने भनेर खेती गरेका हौँ।’ गाउँमा अधिकांश चालिस कटेका मानिसहरु मात्र रहेको उनले बताए।

कृषि ज्ञान केन्द्र चितवनकी सूचना अधिकृत सुरुची त्रिपाठी जिल्लामा धान काट्नेदेखि थन्काउनेसम्म तराई मुलका श्रमिकमा भर पर्नुपर्ने अवस्था रहेको उनले बताइन्। ‘युवाहरु रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दो छ। स्थानीय स्तरमा श्रमिक पाइदैन,’ उनले भनिन् ‘सबै कुरामा हामी परनिर्भर हुँदै गएका छौँ।’ धान लगाएर किसानहरुलाई फाइदा समेत नभएको उनले बताइन्।

चितवनमा विस्तारै कृषिमा यान्त्रीकरण तर्फ लैजाने प्रयास गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत केही किसानलाई धान रोप्ने, गोड्ने, काट्ने र थ्रेसर लगाउने मेसिन उपलब्ध भएपनि प्रयाप्त नभएको उनले बताइन्। चितवनमा गत आर्थिक बर्ष २२ हजार आठ सय ७० हेक्टरमा धान खेती गरिएको थियो। अहिले समयमा पानी नपरेका कारण १० प्रतिशतमा मकै, कोदो, तरकारी लगायतका बाली लगाइएको उनले बताइन्।

प्रकाशित: १६ कार्तिक २०८० ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App