७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सर्राफका परिवार भन्छन्: 'युवतीसँगको प्रेम सम्बन्ध हत्याको कारण होइन'

बाराको कलैयामा गत सोमबार गोली हानी हत्या गरिएका रुपेश सर्राफका परिवारले प्रहरीले युवतीसँग नाम जोडेर मृतक रुपेश र आफूहरूको चरित्र हत्या गरेको गुनासो गरेका छन्।

बुधबार बारा प्रहरीले कलैयामा हत्यामा संलग्नमध्येका पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेलगत्तै मृतक रुपेशका दुई दाजुले पत्रकार सम्मेलन गरी प्रहरीको अनुसन्धानमाथि सन्देहपूर्ण प्रश्न उठाएका हुन्।

बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले पाँच अभियुक्तलाई सार्वजनिक गर्दै युवतीसँगको प्रेम सम्बन्धका कारण रुपेशको हत्या भएको सार्वजनिक गरेपछि मृतक रुपेशका दाजु सुबोध सर्राफले प्रेस विज्ञप्ति जारी गरी युवतीसँगको प्रेम सम्बन्धका कारण भाइ रुपेशको हत्या भएको भन्ने प्रहरीको दाबी झुठो रहेको जिकिर गरेका छन्।

प्रहरीले हत्यामा संलग्न भनेर सार्वजनिक गरेको राधा गुप्तासँग आफ्नो भाइ रुपेशको कुनै प्रेम सम्बन्ध नरहेको समेत सुबोधले दाबी गरेका छन्। प्रहरीले भनेजस्तो रुपेशको चरित्र नभएको उनले बताए। सुबोधले भने, 'प्रहरीको अनुसन्धानप्रति हामीलाई चित्त नै बुझेको छैन। मेरो भाइको चरित्रबारे औंला उठाउने कुनै ठाँउ नै छैन। प्रहरीले अनुसन्धानमा झारा टार्न मृतक रुपेश र आफ्नो परिवारको चरित्र हत्या गरे।'

रुपेशलाई गोली हान्ने अपराधी चार जनामध्ये अहिलेसम्म एक जनालाई पनि पक्राउ गर्न नसकेको प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयास गरिरहेको सुबोधले बताए।

बाल एकता सेकेडरी स्कुलका प्रवन्ध निर्देशकसमेत रहेका सुबोधले प्रहरीले पक्राउ गरेकामध्ये दुई जना युवक निर्दोष रहेको र प्रहरीले झुठो आरोपमा फसाएको बताए। उनले भने, 'मेरो स्कुलका दुई जना स्टाफ निर्दोष छन्। उनीहरूलाई यातना दिएर लिएको बयान गलत छ।'

हत्याको मुख्य योजनाकार भनेर प्रहरीले सार्वजनिक गरेको कलैया ६ की २२ वर्षीया राधा गुप्ता आफ्नो स्कुलमा ७ महिना पहिले लेखापालमा कार्यरत रहँदा उनको गलत गतितविधि देखिएपछि स्कुलबाट निकालिदिएको सुबोधले बताए। त्यसयता रुपेशसँगको उनको कुनै सम्बन्ध नै नरहेको दाबी उनको छ। मृतक परिवारको असन्तुष्टिले यस हत्याकाण्डको अनुसन्धानमा सन्देह पैदा गरिदिएको छ। 

प्रकाशित: १६ कार्तिक २०८० ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App