२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीको मुद्दा ‘हेर्दाहेर्दै’मा

फौजदारी मुद्दामा जन्मकैदको कैद माफी घटाउने सरकारको निर्णयविरुद्ध निवेदन दिएकी भारती शेर्पाको मुद्दा सर्वोच्च अदालतमा मंगलबार हेर्दाहेर्दैमा परेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा सुनवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भोग्दाभोग्दै गरेका रिगल ढकाललाई कैद माफी मिनाहा दिने निर्णयविरुद्ध परेको मुद्दामा कानुनी जटिलता देखाउँदै यस अघि नै पूर्ण इजलासमा पठाउने आदेश भएको थियो।

एक महिनाअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दा सुनुवाईपछि इजलासले कुनै निर्णय दिन नमिल्ने भन्दै अन्य आदेश गरेको थियो। ‘हामी रहितको इजलासमा पेस गर्नू’ आदेशमा भनिएको थियो।

मुलुकी संहिता लागू हुनु अघि साविकको कारागार नियमावली बमोजिम कुनै पनि जेलमा रहेको व्यक्तिको असल चालचलनको आधारमा ४० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई कैद मिनाहा गरिदिनु भन्ने सर्वोेच्चले यसअघि फैसला गरेको थियो। यसअघिका यिनै फैसलालाई आधार मान्दै रिगललाई कैद कट्टा गरेको सरकारको जिकिर छ।

नेपालगञ्जमा रिगल ढकालको समुहले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले असोज १४ मा माफी मिनाहा बदरको माग गर्दे रिट निवेदन दर्ता गरेकी हुन्। उनले न्याय माग्दै सरकारको निर्णयविरुद्ध दोस्रो पटक माइतीघर मण्डलमा रिले अनसनसमेत बसिरहेकी छिन्। दसैंअगाडिदेखि नै भारतीले रिले अनसन थालेकी थिइन्।

बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैैसलाको सजाय भोगिरहेका ढकाललाई गणतन्त्र दिवसको अवसर पारी असोज ३ मा राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफी मिनाहा गरेका थिए। ढकालले सर्वोच्च अदालतमा सजाय कम गर्न माग गर्दै पुनरावेदन निवेदनसमेत दिएका थिए। उनले आफ्नो हकको मुद्दाको निवेदनसमेत गणतन्त्र दिवसकै समयमा फिर्ता लिएका थिए।

२०७२ साल असार २८ मा नेपालगन्ज ८ मा पर्ने सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक बस्ने २९ वर्षीय चेतन मानन्धरलाई ढकालसहित १५ जनाको समुहले खुँडा प्रहार गरी हत्या गरेका थिए। मानन्धरलाई हत्या गरेको एक महिनापछि २०७२ भदौ ७ मा ढकालले अदालतमा आत्मसमर्पण गरेका थिए।

हत्या गर्दाको समयमा ढकाल नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति समेत रहेका थिए। चेतनको हत्यामा संलग्नहरूलाई कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। बाँके जिल्ला अदालतले हत्यामा संलग्न १३ मध्ये रिगल, प्रेमध्वज खत्री (प्रशान्त गौतम भनिने), छविलाल बस्नेत (विशाल), मोहनलाल खड्का (नवराज खत्री भनिने)लाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

२०७५ साल वैशाखमा जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले हत्यामा संलग्न भनिएका नौजनालाई भने ३ देखि १० वर्षसम्मको कैद सजाय सुनाएको थियो। जिल्ला अदालतको फैसला अनुसार सर्वस्वसहित जन्मकैदको कानुन अनुसार २० वर्षसम्म कैद बस्नुपर्ने थियो। मुलुकी ऐन अर्थात नयाँ फौजदारी संहिता नआउँदै जन्मकैदको समय २० वर्ष तोकिएको थियो।

प्रकाशित: १५ कार्तिक २०८० ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App