२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

हिमाली भूमिको मोहनी र महायात्रा

म आधुनिक हिमाली पर्वतारोहणसँगै हुर्केबढेको मान्छे हुँ । नेपालको पर्वतारोहण र पदयात्रालाई आरम्भकालदेखि नै देखे–भोगेको र डोर्याएको छु । तर, म आफूलाई ‘बुढो भएको’ भन्न रुचाउन्नँ ।

म सन् १९३६ अन्त्यतिर भारत आएर पुरानो ब्रिटिस–इन्डियन सेनामा भर्ती भएँ । यसको एउटा कारण म बौद्धिक रोजगारीका लागि अयोग्य ठहरिनु थियो । मुख्य कारण चाहिँ म हिमाल आरोहण गर्न चाहन्थें । एउटा–दुइटा आरोहण मात्र होइन, पूरै जिन्दगी हिमाल आरोहण र अन्वेषणमा बिताउने । यस क्रममा सर्वोच्च शिखरहरूमा पुग्न नसके पनि मलाई कुनै पछुतो छैन । भाग्यले मलाई सुन्दर अवसरहरू दिएकै हो । त्यस्ता अवसरको सदुपयोग गर्न नसक्नु मेरै कमजोरी थियो ।  

त्यस बेला हिमालय–काराकोरम शृंखला एउटा विशाल एवं रोचक पुस्तक झैं खुला थियो । त्यहाँ पुग्न सामान्यतः अनुमति लिनु पर्दैनथ्यो, पथ्र्यो भने पनि सजिलै उपलब्ध हुन्थ्यो । त्यति बेलासम्म सबैभन्दा उच्च आरोहणको कीर्तिमान भनेको भारतमा पर्ने २५,६०० फिटको नन्दादेवीमा बनेको थियो । २६,००० फिटमाथिका कुनै पर्वत चढिएको थिएन ।

त्यो बेला तिब्बत प्रवेश गर्न पनि सामान्य औपचारिकता पूरा गरे हुन्थ्यो, वैज्ञानिक कार्य या अध्ययन–अनुसन्धानका लागि जान मुश्किल थिएन । भुटानको स्थिति पनि त्यस्तै थियो । हिमाल आरोहीका लागि तिब्बत या भुटान दुवै उत्तिकै आकर्षक र सम्भावना भएका गन्तव्य थिए । हिमाली किताबको ‘नेपाल’ अध्याय लेखिन र त्यसका पृष्ठहरू भरिन चाहिँ बाँकी थियो ।

प्रतिबन्धित बाटो

सन् १९४८ सम्म राणाशासक या बेलायती दूतावासको आमन्त्रणमा मात्र काठमाडौं भ्रमण गर्न पाइन्थ्यो । देशका अन्य ठाउँ विदेशीका लागि पूरै बन्द थिए । अपवाद थियो कञ्चनजङ्घाको पश्चिम–दक्षिण मोहडाको हिमनदी क्षेत्र, जहाँ विशेष परिस्थितिमा उत्तर सिक्किमको उच्च भञ्ज्याङ हुँदै प्रवेश गर्न अनुमति पाइन्थ्यो । सम्झँदा पनि अनौठो लाग्छ, त्यति बेला धेरैलाई ल्हासाभन्दा पोखराको आकर्षणले तानेको थियो । र, निश्चय नै पोखरा कम परिचित पनि थियो । मैले १४ वर्षको लामो प्रतीक्षापछि नेपालमा पाइला टेक्न पाएको थिएँ । पर्खाइका यी वर्षमा आफ्नो मानसपटलमा कोरिएका मनोरम दृश्यलाई मैले नेपाल प्रवेश गर्न पाएको अपत्यारिलो अनुमति एवं विशेष सुविधाको साक्षीका रूपमा अहिलेसम्म पनि बिर्सेको छैन ।  

सन् १९३९ को अन्त्यतिर दोस्रो विश्वयुद्ध शुरू हुने वेलासम्म हरेक वर्ष सम्भवतः चारमध्ये तीन आरोहण दल यूरोप वा अमेरिकाबाट आउँथे । अन्य आगन्तुकहरू सयौंको संख्यामा भारत (अहिलेका ‘पाकिस्तान’ र ‘बाङ्लादेश’ भनिने देश समेत) का प्रायः बेलायती सैनिक अधिकृत र निजामती कर्मचारी तथा व्यापारी–व्यवसायी हुन्थे । तीमध्ये धेरैजसो नजिकैका डाँडाकाँडामा गर्मी बिदा मनाउन जान्थे ।

भारतीय सेनामा हामी हरेक वर्ष दुईदेखि तीन महीना स्थानीय बिदा र हरेक तीन वर्षमा एक पटक नौ महीना बिदा पाउँथ्यौं । वार्षिक बिदा हक नभई सुविधा थियो र सम्बन्धित कमान्डिङ अधिकृतले कुनै पनि बेला रद्द या कटौती गरिदिन सक्थे । यस्तो निर्णय बिदामा कसले के गर्न लागेको हो भन्नेमा निर्भर गर्थ्यो ।

सामाजिक जीवनमा रमाउने वा महिलाहरूसँग घुलमिल हुन रुचाउनेहरू बिदाको प्राथमिकतामा त्यति पर्दैनथे । राइफल लिएर अबोध जंगली भेडा–बाख्राको सिकार गर्न मध्य एसियाका उच्च भन्ज्याङतिर जाने र हिमाल चढ्न चाहनेहरूले चाहिँ सहजै अनुमति पाउँथे । तर, त्यो समय साँच्चै हिमाल आरोहणको आकाङ्क्षा राख्ने थोरै र ट्रेकिङ एवं सामान्य घुमफिर गर्न चाहने धेरै हुन्थे ।

यही बेला यो महत्त्वाकाङ्क्षी युवा हिमाल आरोही आफ्नो उद्देश्यमा चाँडै लामो फड्को मार्न पुग्यो । उसको हिमाल चढ्ने योजना भारतीय सेनाको घेरा बाहिर समेत फैलिसकेको थियो । ऊ आफूलाई पीर पन्जल हिमशृङ्खलाको धर्मशाला (हालको हिमाञ्चल प्रदेश राज्य)मा तैनाथ गोर्खा रेजिमेन्टको ६,००० फिट उचाइमा अवस्थित प्रधान कार्यालयमा स्थापित गराउन सफल भएको थियो ।

यसरी म सन् १९३७ मा करीब तीन साता धौलाधरका चट्टानी शिखरहरूको आरोहण गर्न सक्षम भएँ । सन् १९३८ मा काराकोरम हिमशृंखलाको मासेरब्रुम हिमालको आरोहण दलमा संलग्न भएँ । टोलीमा चार शेर्पा अनि हामी थप पाँच जना थियौं । हामीलाई आफ्ना मालसामान बोक्न ६० जना भरिया चाहिएको थियो । सोही वर्ष अर्को बेलायती आरोहण दलले उत्तरी मोहडाबाट सगरमाथाको, पल बाउएरले नेतृत्व गरेको जर्मन आरोहण दलले नङ्गा पर्वतको र एउटा अमेरिकी आरोहण दलले केटु आरोहण गर्न लागेका थिए । 

अमेरिकी दलसँग केही ठाउँमा हाम्रो मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । हामीले कतै कतै एउटै रुट प्रयोग गरेका थियौं, तर हाम्रो भेट कहिल्यै भएन । ह्युस्टन र बेटस्सहितको सिंगो टोलीलाई एक पटक सिन्धु नदीको पानीमा ठेला उठेका खुट्टा शीतल पार्दै पङ्क्तिबद्ध भएर हिँडेको देखिएको भन्ने एउटा रिपोर्ट प्राप्त गरेर सन्तोष मानियो ।

म जस्ता २० वर्षे लक्का जवानका लागि पनि मासेरब्रुम बिर्सनलायक अनुभव थियो । मलाई त्यो उचाइमा अभ्यस्त हुन एकदमै समय लाग्यो । हिउँले हात–गोडा खायो, सुत्न पनि सकिनँ (ओहो ! ती कहिल्यै नटुंगिने डरलाग्दो सपनासहितका भयानक रातहरू) र हिउँ थामिएला जस्तो पनि थिएन । अन्ततः एउटा शिखर चढ्ने प्रयासमा हाम्रा दुई साथीका हात–गोडा हिउँले खाएर क्षतविक्षत भए । डाक्टरलाई ड्रेसिङ गर्न मद्दत गर्दा मैले उनीहरूका खुट्टाका औंला सुकेका, काला भएका र झ्रेका देखेको थिएँ ।

श्रीनगर पुगुन्जेल म केही फुर्तिलो भइसकेको थिएँ । त्यसैबीच मैले अखबारमा ब्रिटिस आरोहण टोली सगरमाथाको शिखरमा पुग्न असफल भएको तर आउने शरद् याममा टोलीले पुनः प्रयास गर्न सक्ने समाचार पढें । मैले टोली नेता बिल टिलमनलाई पत्र लेखेर दोस्रो प्रयासमा सामेल हुन आफू पनि तयार रहेको खबर पठाएँ । तर, केही समयपछि दार्जिलिङको प्लान्टर्स क्लबबाट लेखिएको छोटो र रुखो जवाफ पाएँ । त्यसमा शरद् याममा आरोहण प्रयास नहुने, भए पनि मेरो आवश्यकता नहुने लेखिएको थियो ।

मैले सन् १९३९ मा दुई महीना गोर्खा रेजिमेन्टका तीन राइफलम्यानसँग कुलु र स्पिती (भारतको हिमाञ्चल प्रदेशमा पर्ने) आरोहण गरेर बिताएँ । त्यसैबीच क्षितिजमा प्रकाशका नयाँ किरण देखापरे ।

मासेरब्रुमपछि १९४० को शरद् याममा तिब्बततर्फबाट सगरमाथा चढ्न नयाँ आरोहण दल बनाइँदै थियो । त्यसमा मलाई पनि सहभागी हुन आग्रह गरियो । मूलतः यो नयाँ समूह थियो, पछिल्ला ६ वर्ष दार्जीलिङ र रोङबुक हिमनदी ओहोरदोहोर गरेर समय बिताइरहेकाहरूलाई प्रतिस्थापन गर्न ल्याइएको ।

क्याप्टेन जोन हन्ट टोलीका एक सदस्य थिए । मिल्दो उमेर, घर बिदा अनि तीन महीना ‘आल्प्स’ हिमालमा अभ्यस्त गराउने अवसरले गर्दा यो एउटा लोभलाग्दो सम्भावना थियो ।

मलाई युद्ध भएकोमा पछुतो थिएन, यद्यपि केही वर्षलाई आरोहण स्थगन गरेको भए हुन्थ्यो भन्ने चाहिं लागेको थियो । हिमाल आरोहणमा असफलता भोगेर निराश भएका बेला युद्धले मलाई पारासुट उडान र दक्षिणपूर्वी एसियामा पहिलो युद्ध कारबाहीको नेतृत्व गर्ने अनुभव प्रदान गर्यो । अहिले पनि म १९४२ मा उत्तर बर्मातिरको सानो र खासै जोखिम नभएको ‘पारासुट’ कारबाहीको मधुरो सम्झनामा फर्किने गर्छु ।

युद्धले दिएको निराशा, घाउ र पीडालाई केही क्षणका लागि उच्च हिमाली आरोहणको वास्तविक परीक्षाको घडीसँग तुलना गर्नु पनि कहिलेकाहीं सार्थक नै हुने रहेछ । हिमाल आरोही युवाहरूले राजा वा राष्ट्रको आह्वानबिना आफ्नै इच्छाले अग्ला र ठाडा भीरमा युद्धकै जस्तो दुःख खेपिरहेको देख्दा ठुलै सराहना गर्न मन लाग्छ । सायद उनीहरूको काम युद्ध जति खतरनाक नहोला र टेलिभिजनले पनि उनीहरूलाई महत्त्व नदेला । जे भए पनि म उनीहरूको भरपूर प्रशंसा गर्छु ।

सन् १९४९ को आगमनसँगै हाम्रा हिमालहरूको किताबमा ‘नेपाल’ अध्यायका प्रारम्भिक पाना भरिन पनि सुरू भयो । यसमा कञ्चनजङ्घा आरोहणको साहसिक प्रयास पनि पर्दछ । त्यस वेला यो महान् शिखरको माथिल्लो ८,००० फिट मात्र चढ्न बाँकी राखेर २०,००० फिटसम्म पुगियो ।

अन्ततः नेपाल

त्यस वर्ष रोयल जियोग्राफिकल सोसाइटी तथा अल्पाइन क्लबको हिमालयन कमिटीले सगरमाथा आरोहण अनुमतिका लागि नेपाल सरकार समक्ष आवेदन गर्यो । त्यो आवेदन स्वीकृत त भएन, तर टिलमन र पिटर लोइडलाई काठमाडौंदेखि उत्तरपट्टिको लाङटाङ उपत्यका भ्रमण गर्ने अनुमति दिइयो । मैले फेरि टिलमनलाई पत्र लेखें । जवाफ पहिलेकै जस्तो आयो । तर, १९५० मा कमिटीले अन्नपूर्ण हिमाल आरोहणका लागि एउटा टोली पठाउन अनुमति पायो र त्यही बेला फ्रान्सेलीहरूले पनि धौलागिरि आरोहण गर्ने अनुमति पाए । अब मलाई पत्र लेख्ने पालो टिलमनको थियो ।

हामीभन्दा २० वर्ष जेठा तर निकै बलिया र तन्दुरुस्त टोली नेताका अतिरिक्त आरोहण दलमा हामी चार जना थियौं । त्यो एउटा अव्यवस्थित र अक्षम नेतृत्वको आरोहण दल थियो । मनसुन सुरू भएको दिन मनाङ उपत्यकामाथि आधार शिविर खडा गरेको टोलीले अन्नपूर्ण शृंखलाको सबैभन्दा होचो चुचुरो अन्नपूर्ण ४ पनि चढ्न सकेन । हिउँले खुट्टा अलि अलि खान थालेपछि आरोहणमा पूर्णविराम लागेकाले मैले चाहिँ व्यक्तिगत रूपमा राहत नै पाएँ । बाँकी वर्षा याम मनाङ, भोटलगायत स्थानमा खोजयात्रा अनि ब्रिटिस सङ्ग्रहालयका लागि चरा संकलन गरेर बिताएँ ।  

अभियानको अन्त्यतिरै भए पनि मलाई एउटा विशेष पुरस्कार मिल्यो । एक जना शेर्पासँगै पोखरा छिचोल्ने क्रममा मैले ‘भूस्वर्ग’ फेला पारें । बिचरो पोखराले बितेका ४३ वर्षमा धेरै प्रहार खपेको भए पनि त्यो ठाउँबारे मेरो त्यति बेला बनेको धारणा यथावत् छ । पोखराको हरियालीले भरिएको समथर भूभागमाथि आकाशमा झुन्डिएजस्तै लाग्ने माछापुच्छ«े र अन्नपूर्णको जस्तो सुन्दर हिमाली दृश्य संसारमा अन्त कतै देख्न पाइँदैन ।

उता धौलागिरि चढ्न असफल हर्जाेग र फ्रान्सेलीहरूले ‘हाम्रो’ अन्नपूर्ण चाहिं चढे । आठ हजार मिटरमाथिको हिमाली शिखरको यो पहिलो सफल आरोहण थियो । त्यसपछिको विजयोत्सव र प्रचारप्रसारको लहरले १९५३ मा अझ ठूलो उपलब्धि र विजयका लागि ढोका खोल्यो ।

त्यस वर्ष अक्सिजन आपूर्तिकर्ताको सानो हैसियतमा म आफैं सगरमाथा गएको थिएँ । हैसियत जस्तो भए पनि खुसी थिएँ । टोली छनोटको स्वच्छतामाथि कहिल्यै प्रश्न उठाइनँ । आरोहण सफल हुने सुनिश्चित थिएन र असफल भएको खण्डमा वर्षायामपछि अर्को प्रयास हुने विश्वास मलाई थियो । आरोहण दलका कतिपय सदस्य मर्न सक्छन्, कतिका हातखुट्टा हिउँले खान सक्छ भने केही अत्यन्त थकित हुनेछन् र तिनका ठाउँमा शरद् यामका लागि अरू पर्वतारोहीको आवश्यकता पर्न सक्छ भन्ने अपेक्षा गर्नु अनुचित थिएन ।

त्यसैले आधार शिविरमा अक्सिजनको भारी छोडेर म आफूलाई प्रमाणित गर्नतिर लागें । लुमदिङ, इनुकु र होङ्गु उपत्यकाहरूको खोजयात्रा गरें, पहिलो पटक ‘मेरा पिक’ चढें र बास्केटबल बुटका भरमा आम्फु लाप्चा भन्ज्याङलाई दक्षिणबाट उत्तरतिर पार गरें । अन्ततः यसबाट पनि केही लाभ भएन । मलायास्थित आफ्नै रेजिमेन्ट फर्किने क्रममा जुन महिनाको एक रात जयनगरमा नेपालको सिमानामा झोला जाँच गरिरहेका भारतीय प्रहरीबाट सगरमाथा आरोहणको समाचार सुनें । र, मैले पनि बाँकी विश्वसँगै खुसियाली मनाएँ ।

नागरिक स्मृति/जिमी रबट्र्स  

सन् १९५८ मा काठमाडौंस्थित बेलायती दूतावासमा सैनिक सहचारीका रूपमा नेपाल आएका जेम्स ओवेन मेरिओन रबट्र्स (जिमी) त्यसपछि कतै गएनन्, यतै बसे । नेपालको पर्वत र हिमालको प्रेममा उनी यति मोहित भए कि स्वयं आरोही नै बने । सन् १९५३ को सफल सगरमाथा आरोहण दलका सदस्यमा आफूलाई पनि सम्मिलित गराउन गरेको आग्रह अस्वीकृत भए पनि जिमी उक्त ऐतिहासिक क्षणको साक्षी भने बने, आरोहण टोलीलाई आधार शिविरसम्म अक्सिजनलगायतका सामग्री आपूर्ति गर्ने टोलीको नेतृत्व गर्दै ।  

अघिपछि पनि उनी थुप्रै आरोहणमा सहभागी भए, कतै आरोही त कतै व्यवस्थापकका हैसियतमा । सन् १९५७ मा माछापुछ्रे हिमाल आरोहण गर्न गएको बेलायती टोली शिखरको ५० मिटर तलैबाट फर्कन बाध्य भएपछि माछापुछ्रे आरोहण सधैंका लागि निषेध गर्न सरकारलाई आग्रह गरेको आरोप पनि जिमीमाथि लाग्ने गरेको छ । तर, उक्त आरोहण दलका टोलीनेताका रूपमा उनले कहिल्यै यसलाई स्वीकारेनन् ।  

यिनै जिमी हुन्, जसले सन् १९६५ मा विश्वकै पहिलो मानिएको पदयात्रा कम्पनी माउन्टेन ट्राभल्स खोले । उनकै कारण आज नेपाल पदयात्रा व्यवसायमा विश्वमाझ अद्वितीय रहिआएको छ ।

जीवनको उत्तरार्धमा जिमीले पोखरा रोजे, जसलाई उनी ‘भूस्वर्ग’ भन्थे । उनको मृत्यु पनि ८१ वर्षमा पोखरामै सन् १९९७ आजकै मिति नोभेम्बर १ मा भयो ।  

पछि थाहा भयो, उनले सन् १९८७ मै आफ्नो नेपाल यात्रा बारेको संस्मरण ‘द हिमालयन ओडिसी’ लेख्न आरम्भ गरेका रहेछन् । र, मृत्यु हुनुभन्दा चार महिनाअघि मात्र अगस्ट ४ मा पुनश्चः उपशीर्षकमा केही हरफ थपेका रहेछन् । प्रस्तुत आलेख जिमीको त्यही संस्मरणको भावानुवाद हो ।  

गुणग्राहीलाई बिर्सनु खासगरी आजको सरकार र तिनका संयन्त्रहरूको संस्कार नै बनिसकेको छ । तर, हामी जनताले यी ‘पदयात्राका पिता’को योगदानको कदर नगर्नु अतीतसँगको अन्याय हुनेछ ।  

– रविन गिरी

नेपालको पर्वतारोहण

एसियामा अग्ला हिमाल वारपार गर्ने हावाको तीव्र वेगसँगै तल उपत्यकाका घरमा छानाका ‘टाइल’ बज्न थाल्छन् । बन्द ढोका ह्वाङ खुल्छन् अनि खुलेका ढ्याम्म बन्द हुन्छन् । त्यस्तै हुन् अप्ठ्यारा पहाडी सीमान्त प्रदेश पनि, जहाँ सीमा वारपार राजनीतिको हावा चल्छ । त्यसले पनि ढोकाहरू कहिले उघार्छ, कहिले बन्द गर्छ !

जति बेला नेपालले विदेशीका लागि हिमालको ढोका उघार्न थाल्यो, अन्यत्रका हिमाल भने बन्द हुन थाले । सबैभन्दा पहिले त तिब्बत प्रवेश नै रोकियो । यसमा भारत–चीनको सम्बन्धमा बढ्दै गएको तनाव मुख्य कारण थियो । सन् १९६२ मा त दुई देशबीच युद्धै भयो ।  

यता कश्मीरमा भारत–पाकिस्तानको लडाइँ भयो । सन् १९७० दशकको प्रारम्भसम्म पाकिस्तानले नंगा पर्वत आरोहणका लागि केही टोलीलाई अनुमति दिएको थियो । तर, नेपाल छाडेर भुटानदेखि कश्मीरसम्मका बाँकी हिमाल पूर्ण रूपमै बन्द थिए । हिमालय वारपार चर्केको तनावलाई ध्यानमा राखेर नेपालले पनि सन् १९६६ देखि १९६८ सम्म तीन वर्ष आफ्ना हिमाल बन्द राख्नुपरेको थियो ।

नेपालमा सन् १९५० देखि १९६५ सम्मको अवधि पर्वतारोहण एवं खोजयात्राका लागि स्वर्णिम युग थियो । अनुमति त लिनुपथ्र्याे, तर सन् १९६९ पछिको जस्तो चढ्न पाइने र नपाइने शिखर भनी बार लगाइएको थिएन । प्रायः अग्ला हिमाल यही अवधिमा आरोहण गरिएका थिए । यद्यपि, एउटा हिमालमा एकै पटक धेरै आरोहण दलको लाम हुँदैनथ्यो ।  

आरोहण दल खासै ठुला हुँदैनथे । तडकभडक पनि कमै हुन्थ्यो । सन् १९६९ पछि हिमालका ढोका पुनः खुले । यद्यपि, जापानी आरोहण दलले केही समय नेपालको पर्वतारोहणलाई ‘फुटबल लिग’ को स्तरमा राखेर कम आँकेको थियो । सन् १९७६ मा आर्थिक कारणले भारत र पाकिस्तानका ढोका पनि खोलिए ।  सन् १९५३ पछि म नोकरी दाउमा लगाएर मलायास्थित सैन्य सेवाबाट हरेक वर्षजसो नेपाल आउन थालें । सन् १९५४ मा एक जना शेर्पासँग पुथा हिउँचुली (२३,८०० फिट) चढें । मेरो सर्वाधिक अग्लो व्यक्तिगत कीर्तिमान यही भयो ।  

त्यसपछि सन् १९५७ मा माछापुछ्रेको आरोहणमा गएँ । यद्यपि, यसको सफल आरोहण चाहिँ एक वर्षपछि नोयस र कक्सले उत्तरी शिखरबाट ५० मिटर तलको उचाइसम्म पुगेर गरेका थिए । माछापुछ्रे शिखरमा देउताको वास हुने स्थानीयको विश्वासलाई मानेर उनीहरू ५० मिटर तलैबाट फर्केका थिए । मेरो असफलताको अन्तिम कडी चाहिँ सन् १९६० मा गरिएको २६,००० फिटको अन्नपूर्ण–२ को आरोहण थियो । त्यस बेला शिखरमा पुग्ने तीन आरोही ग्रान्ट, बोनिङ्टन र आङ निमा थिए । सन् १९६२ र १९६५ मा म धौलागिरि ६ को अगलबगलमा भौतारिइरहें, धौलागिरि ४ (डी–४) ठानेर ।

माछापुछ्रे जस्तै ‘डी–४’ पनि मेरो पुरानै लक्ष्य थियो, तर यसको आरोहण माछापुछ्रेको भन्दा कठिन रहेछ । यसअघि सन् १९५८ मा भाग्यले मलाई एउटा अर्को मौका दिएको थियो । त्यसले मलाई पर्वतारोहणबाट पदयात्रातर्फ डोर्याउँदै माउन्टेन ट्राभलको संस्थापक बनाएको थियो ।

सन् १९५८ को अन्त्यतिर मलाई काठमाडौंस्थित बेलायती दूतावासको नवसिर्जित मिलिटरी अट्याचे पदमा नियुक्त गरियो । अब म हिमालय क्षेत्रको केन्द्रमै आइपुगेको थिएँ । त्यही क्रममा सन् १९६० मा अन्नपूर्ण २ को आरोहण भयो । मेरो नियुक्ति तीन वर्षका लागि थियो । बडो मुस्किलले थप दुई वर्ष तन्काउन सकें । त्यतिन्जेल मैले सेनाबाट अवकाश लिने र पूरै समय हिमालका लागि समर्पित गर्ने निर्णय लिइसकेको थिएँ ।  

अब म केवल दुई वर्षका लागि सेनाको सुरक्षित नोकरी र आकर्षक आम्दानी चाहन्थें । तर, भाग्यले मलाई एउटा विदूषक भिडाइदियो, आर्मी बिग्रेडियरका रूपमा । उनी छुट्टीमा काठमाडौं आएका थिए । मलाई उनको अनुहारै मन परेन । एक दिन अबेर राति होटल याक एन्ड यतीको बारमा उनलाई यो कुरा सुनाएँ । उनले पछि मैले ‘अपमान’ गरें भनेर रिपोर्ट गरेछन् । मलाई कोर्टमार्सल वा बर्खास्त त गरिएन, तर दूतावासको दुईवर्षे थप कार्यावधि खारेज गरियो । मैले संकेत बुझेर स्वैच्छिक अवकाश लिएँ ।

यही समयमा अरू दुइटा काम पनि गरें । पहिलो, नोर्मन डाइरेनफर्थलाई पत्र लेखें र सन् १९६३ का लागि योजना गरिएको अमेरिकी सगरमाथा आरोहण (अमेरिकन माउन्ट एभरेस्ट एक्सपिडिसन)मा स्वयंसेवक बन्न तयार भएँ । अनि म मेरा मित्र पर्यटन निर्देशकलाई भेट्न गएँ । उनीसँग विचारविमर्श गरें ।

मलाई उक्त आरोहणमा सामेल गरेकोमा नोर्मनप्रति सदा आभारी रहनेछु । यसले मलाई दुई चिज दियो, एउटा, तत्कालका लागि काम र अर्को, सगरमाथामा पहिलो आरोहणपछिको सम्भवतः सबैभन्दा साहसिक अभियानमा सहभागी हुने अवसर । यो कुरा मैले पश्चिम मोहडा हुँदै अनसोएल्ड र हर्नबाइनले गरेको आरोहणका सन्दर्भमा भनेको हुँ । यद्यपि, पछि एक जना मात्र शेर्पा सहयोगीको साथमा सन् १९७५ मा शिखरमा पुग्ने सानो कदकी जापानी गृहिणी जुन्को ताबेईप्रति समेत मेरो उत्तिकै सम्मान छ ।  

सन् १९७१ र १९७२ मा म फेरि १९६३ को ‘परिवहन अधिकृत’ भन्दा उच्च हैसियतमा सगरमाथा फर्किएँ । तर, मलाई एक किसिमको अशक्तताले आधार शिविरभन्दा माथि जान दिएन । त्यो अवस्थामा टोली नेता वा उसको सहायक बनिरहनु उचित थिएन ।  

सन् १९७१ को अन्तर्राष्ट्रिय आरोहण मुख्यतः कथित चार ‘ल्याटिन’ आरोहीको बहिष्कारलाई लिएर चर्चित छ । मैले त्यो आरोहण दक्षिण–पश्चिमी मोहडाको चढाइमा केन्द्रित गर्ने कुरामा असहमति जनाएको थिएँ । वास्तवमा असफलताको बिउ पहिले नै रोपिइसकेको थियो, जति बेला सबैका प्रिय आरोहण दल सदस्य एक भारतीयको असामयिक निधन भयो । त्यसपछि केही समय मौसम पनि अत्यन्तै प्रतिकूल भइदियो ।

‘विद्रोही’ हरूको बहिर्गमनपछि आरोहण दल केही सुदृढ भए पनि तीन सदस्य चाहिं धेरै उचाइमा काम गर्नुपर्ने हिसाबले अलि बूढै भइसकेका थिए । सङ्क्रामक ज्वरोको प्रकोप पनि आरोहण छिन्नभिन्न हुनुको एउटा कारक बन्यो ।

यी घटनाक्रमसँगै निश्चित क्षमता र मानप्रतिष्ठा भएका हिमाल आरोहीहरू पक्कै भलादमी हुन्छन् भन्ने पुरानो मान्यतामा आधारित मेरो शिशुवत् विश्वास गुम्न पुगेको थियो । आरोहण असफल भएपछि ल्याटिनहरू मात्र होइन, अरू केही सदस्यहरूबीच पनि दुई वर्षसम्म चलेको गालीगलौज र आरोप–प्रत्यारोप उदेकलाग्दो थियो । हिमाल आरोहणका केही गण्यमान्य पण्डितहरूले समेत आरोहणको अवसानलाई लिएर समाचारहरूमा आफ्ना निजी तुष्टि पोख्न छाडेनन् । भैगो ! अब अलि रमाइलो र महत्त्वपूर्ण विषयतिर जाऊँ ।

नेपालमा पदयात्राको थालनी

सन् १९६३ को अमेरिकी सगरमाथा आरोहण अभियानपछि मैले नेपालमै बस्ने र यहीं रोजगारी खोज्ने निधो गरें । यही हिमाली भूमिले मलाई मोहनी लगायो । यो क्षेत्रसँग म राम्ररी परिचित थिएँ– यहाँका जनता र उनीहरूको भाषाको लामो समयदेखि जानकार थिएँ । पछिल्लो समय राजधानीतिरै पनि बसउठ हुन थालेको थियो ।

मैले कश्मीरका प्रारम्भिक दिन सम्झिएँ । त्यस बेला नाउर शिकार गर्दाताका साथीहरूलाई क्याम्पिङका सामान, स्टाफ, भरिया र खानेकुरा उपलब्ध गराउने एजेन्ट–व्यापारीहरू सम्पर्कमा थिए । उनीहरूका प्रविधि र उपकरण भने गह्रौं खालका र पुराना थिए– सैनिक टेन्ट, तन्ना र कम्बल, क्याम्प खाट र क्याम्प फर्निचर अनि चिनियाँ कप र प्लेटहरू । अर्को कुरा, उनीहरू प्रायः अनुभवी, स्थानीय भाषा बोल्न जान्ने र आफ्नो समूहको पूरा नियन्त्रणमा बस्ने यात्रीहरू लिन रुचाउँथे ।

यति बेला मैले ‘ट्रेक’ र ‘ट्रेकिङ’ जस्ता शब्दको पनि चर्चा गर्नुपर्छ । अहिले सामान्य ठानिने यी शब्द सन् १९६४ ताका केही मानिसका लागि नौला थिए । यी शब्दको व्युत्पत्ति दक्षिण अफ्रिकी क्षेत्रको पुरानो बोएर समुदायमा प्रचलित शब्दबाट भएको हो (बोएर समुदाय र तिनको भाषालाई हिजोआज ‘अफ्रिकानास’ भनिन्छ) । तर, हिमाली साहित्यमा क्याम्पिङ, पदयात्रा लगायत गतिविधिलाई सम्बोधन गर्ने गरी यी शब्दावलीको प्रशस्तै प्रयोग हुन्थ्यो । त्यसैले मेरो दिमागमा उब्जेको योजनालाई ‘ट्रेकिङ एजेन्सी’ भनिनेछ भन्ने विषयमा मलाई कहिल्यै कुनै द्विविधा भएन ।

मैले गर्न खोजेको काम कश्मीरमा देखेकै जस्तो भए पनि पर्वतारोहण खोजयात्राका क्रममा महसुस गरेको अभावका आधारमा त्यसलाई परिमार्जन गरेर लैजान चाहेको थिएँ । मेरा सेवाप्रदायक र सेवाग्राहीहरू नेपालको अवस्थामा अनुभवी नहुने भएकाले हामीले पूर्णतः आफ्नै रेखदेखमा काम गर्नुपर्ने हुन्थ्यो । यसका लागि उपयुक्त तालिमसहित उच्च स्तरका ट्रेकिङ स्टाफ र कामदारको आवश्यकता पथ्र्यो ।

शुरूआत सामान्य नै थियो । मैले त्यति वेला एक पटकमा कम्तीमा आठ पदयात्रीलाई सेवा दिने योजना बुनिरहेको सम्झ्न्छिु । त्यसका लागि आवश्यक सामग्रीहरूको आठवटै सेट चाहिन्थ्यो । मैले आफ्नो आवश्यकताको सूचीमा आठवटा पाल लेखें, फेरि त्यसलाई काटेर चार बनाएँ । लाग्यो– यी कुरा किन बाँडेर प्रयोग गर्न नलगाउने ? होलिडे म्यागाजिनमा एउटा सानो तर महँगो विज्ञापन दिएँ । त्यो हेरेर पाँच जनाले सोधीखोजी गरे । दुई जना चाहिँ जिज्ञासु केटाकेटी थिए ।

एउटी महिलाले लेखिन्, ‘माउन्ट एभरेस्ट... ल त एन्टेरो–भायोफर्म (विदेशी यात्रीलाई नयाँ ठाउँमा लाग्न सक्ने झडापखालाको औषधि) तयार राख्नू... मलाई तुरुन्त सबै विवरण पठाउनू ।’ डलर आउने आसमा मैले हतारमा तत्काल पठाइदिइहालें । तर दुःखको कुरा, उताबाट केही जवाफ आएन । सम्भवतः उनले मेरो लेखाइ पढ्न सकिनन् । ती दिनमा ‘माउन्टेन ट्राभल’ सँग आफ्नै ‘टाइपराइटर’ सम्म थिए । अन्ततः सन् १९६४ को आखिरीतिर नेपालको पहिलो ट्रेकिङ एजेन्सीको रूपमा ‘माउन्टेन ट्राभल’ सरकारी निकायमा दर्ता भयो ।

सन् १९६५ को वसन्त यामको प्रारम्भतिर मेरो पहिलो टोली सगरमाथा पदयात्रा गर्न आयो । सोही टोलीलाई लक्षित गरेर एक–दुई वर्षपछि ‘ती तीन अमेरिकी हजुरआमा’ भन्ने एउटा भनाइ नै प्रचलित भएको थियो । त्यसयता मैले त्यति उत्साही र गुणग्राही महिला पदयात्री टोलीको नेतृत्व गर्ने मौका पाएको छैन ।

सन् १९६६ देखि नै मलाई आठ सेट ट्रेकिङ उपकरण अपुग हुन थालिसकेको थियो । पहाडी यात्राको विशेष गुणस्तर कायम राखिरहन पनि मानिसहरूलाई उपकरणकै अभावमा फर्काउनु उचित हुँदैनथ्यो । सेवाग्राहीको संख्या भने निरन्तर बढिरहेकै थियो । अनि अरू एजेन्सी पनि आउन थाले ।

पदयात्रीको संख्या घट्नेवाला थिएन । त्यसैले आफ्नो क्षमता बढाउन र कमसेकम नेपालले पदयात्रामा बनाएको छवि नबिग्रियोस् भन्ने सुनिश्चित गर्न आवश्यक देखियो । व्यक्तिगत सम्पर्क गुम्ला भन्ने डर पनि थियो । यस्तोमा उपयुक्त मानिसहरू छानी तालिम दिएर, जिम्मेवारी बाँडफाँड गरेर संस्थाको क्षमता बढाउन सकिन्थ्यो । मलाई विश्वास छ– ‘माउन्टेन ट्राभल’ मा हामीले यही गर्न सकेका थियौं ।

पदयात्रा व्यवसायबाट तय गरेको लक्ष्य कसरी प्राप्त हुन्छ भन्ने प्रश्न पनि टड्कारो थियो हाम्रा सामु । सामान्य रूपमा भन्दा आगन्तुकहरूलाई सकेजति राम्रोसँग नेपालका हिमाल, उपत्यका, गाउँघर र मानिसहरू देखाउन चाहेका थियौं हामीले ।  

बेलाबखत देश र जनताबाट अलग, आफ्नै टोलीमा सीमित र उदासीन भएर पदयात्रा गर्ने केही समूहले हाम्रो आलोचना गरेको सुनिन्थ्यो । हाम्रो तौरतरीका उनीहरूले जसरी पदयात्रा सञ्चालन गर्ने पटक्कै थिएन । बरु, हामी हरेक किसिमले रमाइलो अनुभव गराउने प्रयास गर्छौं । शेर्पाहरूले विना कुनै हस्तक्षेप तपाईंहरूको हेरचाह गर्छन् । अन्ततः पदयात्रामा कस्तो अनुभव सँगाल्ने र कसरी रमाइलो गर्ने भन्ने तपाईंहरूमै निर्भर गर्छ ।

मैले केही अप्ठ्यारै मानेर भए पनि ‘माउन्टेन ट्राभल’ नाममा निहित दर्शनबारे पदयात्रीलाई केही बताउनै पर्ने ठानेको छु । हाम्रा शेर्पा र उनीहरूसँगको विशेष सम्बन्धबारे पनि केही भन्नैपर्ने हुन्छ । हामी सबैले सुनेका छौं, शेर्पाहरू अत्यन्त राम्रा साथी हुन् । फेरि हामीले उनीहरू ‘बिग्रेका’ छन् भन्ने पनि सुनेका छौं । आरोहण, पदयात्रा, पर्यटन वा शिक्षा–दीक्षा केले बिगारेको हो, आफैं निक्र्योल गर्नुस् ।  

सायद सत्य कतै बीचमा छ । कुनै पनि समुदायमा ‘खराब’ मानिस हुन सक्छन् । समुदायमा ‘असल’ मानिस पनि धेरै छन् । वास्तवमा उनीहरू उत्कृष्ट छन् । जाँगर र निष्ठापूर्वक काम गरेर कमाइभन्दा कैयौं गुणा बढी फर्काउँछन् । आरोहणमा होस् या पदयात्रामा, चाकरी–चाप्लुसीको छनकसम्म पर्न नदिई उनीहरू सेवा गर्छन् । पर्वतारोहण एवं पदयात्रामा हाल प्रचलित पारिश्रमिक र अन्य लाभहरू नेपालको औसत स्तरभन्दा माथि नै छ ।

शेर्पाले नेपालका ट्रेकिङ एजेन्टलाई अरू हिमाली भेगका सहकर्मीको तुलनामा अनुचित फाइदा पनि धेरै दिलाउँछन् । म सत्य लुकाउन सक्दिनँ । तर, उनीहरूलाई माया गर्छु । कुनै कुनै बेला उनीहरू मलाई बहुलाहा रिस पनि उठाउँछन् ।

सन् १९६६ ताका ‘माउन्टेन ट्राभल’ ले शेर्पाहरूलाई राम्रै स्तरको रोजगारी दिंदै गर्दा पर्वतारोहण क्रियाकलाप बन्द भए । तिब्बतसँग एकताका राम्रै फाइदामा चलेको व्यापार लगभग शून्यमा झ्¥यो । त्यसपछि खस्किँदै गएको खुम्बुको अर्थतन्त्रलाई नयाँ स्रोतको यही रोजगारीले क्रमशः स्थिर र सबल बनायो । शेर्पाहरूका लागि यो पेसा ईश्वरीय वरदान नै हुन पुग्यो ।  

अहिले यी सबै कुरालाई सामान्य रूपमा लिइन्छ । बाह्य स्रोतबाट शेर्पा समुदायमा अस्पताल, विद्यालय, बाटोघाटो र पुलपुलेसाका लागि सहयोग आउने अवस्था बन्नुको आधारलाई कम आँक्ने गरिन्छ । तर, कसै न कसैले कुनै बेला शुरूआत गरेकैले अहिले त्यो आधार तयार भएको हो । पदयात्राले सुरुका वर्षमा के दियो भन्ने कुरा सगरमाथा फेदीका गाउँहरूले बिर्सेका छैनन् ।

भविष्य के होला ? विगत वर्षहरूमा नेपालमा वनजंगल र प्रकृतिको यात्रा गर्नेहरू निकै बढेका छन् । पदयात्राबाट आर्जित विदेशी मुद्रा उल्लेखनीय छ । यो रकम रूपैयाँमा बदलिएर काठमाडौंका केही मानिसको खल्तीमा मात्र नभई शेर्पाहरूको कमाइ, खाद्य सामग्री लगायत वस्तु खरिदको माध्यमबाट ग्रामीण हिमाली भेगसम्म पनि पुगेको छ ।

भारत र पाकिस्तानले पनि हिमाली सम्पदाको उपयोगबाट आर्थिक लाभ गर्न सकिने तथ्य नबुझ्ेका छैनन् । सुरक्षा स्थितिमा खासै परिवर्तन नआए पनि उनीहरूले निषिद्ध केही क्षेत्र विदेशीका लागि खुला गरिसकेका छन् । अर्कातर्फ, नेपालमा चाहिं क्याम्पसाइटहरू फोहोर भएको, पदयात्री र हिमाल आरोहीले यत्रतत्र फोहोरमैला मिल्काएको अनि पदयात्रीको भीडले हिमाली क्षेत्रको वातावरण बिथोलिएको सुनिन्छ । कमसेकम अहिले समस्या रहेको स्विकार्न थालिएकाले आंशिक रूपमै भए पनि समाधानको खोजी त हुने नै छ ।  

अहिलेसम्म मेरो साह्रै लामो र छेउ न टुप्पाको गन्थन पढिरहनुभएकोमा धन्यवाद । मेरो समय, वास्तवमा मेरो जिन्दगी पनि हिमाली क्षेत्रका सबै किसिमको यात्रामा समर्पित छ । तपाईं पनि नेपाल वा अन्त कतै, जहाँबाट सक्नुहुन्छ त्यहींबाट यसलाई पछ्याउनुहोस्, पक्कै निरास हुनुहुनेछैन ।

(बद्री पौड्याल र सम्मान हुमागाईँको सहयोगमा)

प्रकाशित: १५ कार्तिक २०८० ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App