१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लाको पातारासी: जति विकट, उति स्वच्छ

तस्बिर: गोल्डेन बुढा/नागरिक।

भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि जुम्लाको पातारासी गाउँपालिकाले पर्यटकीय, व्यावसायिक, वातावरणीय लगायतका विभिन्न बहु-आयामिक पक्षहरुबाट महत्त्वपूर्ण पहिचान दिएको छ।

पर्वतारोहण अवलोकन भ्रमण र जडीबुटी संकलन दृष्टिकोणबाट महत्त्वपूर्ण सम्भावना बोकेको पातारासी हिमालको नामबाट पातारासी गाउँपालिका नामाकरण गरिएको थियो। जुम्लाका ८ वटा स्थानीय तह मध्येको जलस्रोत यस क्षेत्रको पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ।

पातारासी जति विकट छ उत्ति नै स्वच्छ पनि छ। यहाँको हावापानी र कृषि, पशुपालन, फलफूल, जडीबुटी, र अन्य जैविक विविधताले भरिपूर्ण छ।

विश्वकै सर्वोच्च उचाइमा उत्पादन हुने जुम्ली मार्सी पातारासी- ३ छुमचौरमा पर्दछ। यसले सिंगो जुम्लाको पहिचान अन्तर्राष्ट्रिय स्तरमा कायम राखेको छ। यहाँ स्थानीय रैथाने बाली सिमी, मकै, कोदो, जौ, धान, गहुँ, कागुनो, चिनो, फापर आलु, पनि प्रशस्त उत्पादन हुन्छ।

पर्यटकको नयाँ गन्तव्य बन्दै रातामाटा छहरा

वरिपरि जङ्गलले घेरिएको हरियाली वातावरण। त्यही हरियाली वातावरणको बिच छङछङ गरिरहने पातारासी गाउँपालिका–२ पेरेगाउँमा पर्ने रातामाटा छहरा। जसलाई शंकर झरनाको नामले पनि चिनिन्छ।

पहाडको फेदीबाट लडिबुडी गर्दै ओल्लो छाल पल्लो छाल गर्दै फेदीमा झरिरहने दृश्यले जोहीको ध्यान सहजै तान्छ। त्यही पहाडको फेदी र गौमुलबाट झरेको स्वच्छ, निर्मल पानीको छहराको काखमा एकै छिन बस्दा पनि स्वर्गनै पुगेजस्तो भान हुन्छ। पानीका फोहोराले भिजाए छुट्टै आनन्दित तुल्याउछ। व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने आन्तरिक पर्यटकले तनाव बिर्सन्छन् र मन भुलाउँछन्।

झरनामा १२ महिना नै पानी झर्ने हुँदा यो झरनाको महत्त्व बढेको छ। यहाँका आसपासका दृश्य पनि सुन्दर छन्। यस ठाउँमा पछिल्लो समय आन्तरिक पर्यटन बढ्न थालेका छन्।

स्थानीयले शंकर झरना भनेर प्रचारप्रसार गरिरहे पनि अहिलेसम्म यो झरना सूचीकृत भने भएको छैन। झरनाको उचाइ करिब १ सय मिटर अग्लो हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यसको मापन भने भएको छैन।

जुम्लाको सदरमुकाममा खलंगादेखि १ घण्टा ३० मिनेटमा मोटरबाटो पार गरेपछि पेरेगाउँको भित्र जवा नदीको किनारमा पुगिन्छ । त्यसपछि करिब ४५ मिनेट पैदल यात्रामा रातामाटा छहरा पुगिन्छ।

 

पातारासीको उत्तरी भेगमा रहेको यो झरना पातारासी गाउँपालिकाको लासि बजार,लाम्री, लुम, तल्फि पेरे, धोपाघाट हुँदै पुग्न सकिन्छ। माथि पातारासी हिमाल, त्यहाँबाट बगेको जवा नदी, त्यही नदीको किनारैकिनार हिँड्दै जाँदा हरियाली फाँट र घाँसे मैदान भेटिन्छ। यो झरना अवलोकन गर्न साउन र भदौ महिना अति उपयुक्त हुन्छ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य रहेको झरनाबारेमा गाउँपालिका, प्रदेश र संघीय सरकारले पनि चासो नदिएको यहाँका स्थानीयहरुको गुनासो छ। पर्यटकका लागि स्थानीय र प्रदेश सरकारले बस्न प्रतीक्षालय, सडक, झरनासम्म पुग्ने पक्की बाटो बनाउनुपर्नेमा पेरेगाउँका स्थानीय समाजसेवी गौरीशंकर बुढाले जाेड दिए।

स्थानीय सरकारले बजेट छुट्टयाएर झरनाको संरक्षण तथा प्रवर्द्धन गर्ने गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताएका छन्। 

‘झरना आफैंमा सौन्दर्यताले भरिपूर्ण छ। झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकारले पनि सहयोग गर्छ।’ उनले भने।

प्रकाशित: ११ कार्तिक २०८० १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App