२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

राप्तीमा छाडिए १३३ गोही

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ। तीमध्ये दुई भाले र अन्य पोथी छन्। गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएको छ। त्यसमध्ये सबैभन्दा बढी राप्तीमा १३३५ छाडिएको उनले बताए। नारायणीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० गोही छाडिएको हो।

अघिल्लो आर्थिक वर्ष १०५ गाेही छाडिएको थियो। त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० गोही पठाइएको थियो। बाँकी यहँको राप्तीमा छाडिएको हो। गत वर्ष छाडिएका गोही सन् २०२० का बच्चा हुन्। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन। गत वर्षको पुसमा राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३५२ मात्र भेटिएको थियो।

हाल प्रजनन केन्द्रमा ७८२ गोही छन्। तीमध्ये यस वर्ष कोरलिएका बच्चा १८५ हुन्। अघिल्लो वर्षका १५३ हुन् भने बाँकी त्यस अघिका वर्षका हुन्। प्रजनन केन्द्रमा एउटा पुरानो भाले गोही छ। अन्यको भाले छुट्टिएकाे छैन।

घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्र पाइन्छन्। सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ। सन् १९७० मा त्यसको २ प्रतिशत मात्र संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो। त्यतिखेर देशभरमा एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषण, मान्छेले माछा मारेर खाने लगायतका कारण गोहीहरू प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए। नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या छ। हरेक वर्ष नदीहरूमा गोही छाड्ने गरेको भए पनि साेचे जस्ताे रूपमा संख्या भने बढेको छैन।

प्रकाशित: १५ श्रावण २०८२ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App