२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मौलाकालिका मन्दिरमा भक्तजनको भीड

गैंडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ। दसैंको नवदुर्गा सुरु भएदेखि भक्तजन आउने क्रम बढ्दै गएको हो। गत वर्षभन्दा यस वर्ष भक्तजनको संख्या उल्लेख्य रूपमा बढेको छ।

गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्त समेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन्।

दिउँसोको समयमा उकालो चढ्न कठिन हुने भएकाले बिहानमा मन्दिरमा भीड हुने गरेकामा अहिले साँझसम्म नै भक्तजन जाने गरेका हुन्।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार नवदुर्गा सुरु भएसँगै भक्तजनको संख्या बढेको छ। शनिबार फूलपातीका दिन आठ हजार भक्तजनले दर्शन गरेको अनुमान छ। आज पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको संख्या बढ्ने गर्दछ। केबलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो। मौलाकालिका केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार गत वैशाख महिनामा २५ हजारले केबलकार चढेका थिए।

यो संख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उनले बताए।

झन्डै पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ। करिब २० वर्ष यता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो। मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ।

प्रकाशित: ५ कार्तिक २०८० ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App