१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

झिझिया: संस्कृति कि अन्धविश्वास?

गएको असोजमा रिलिज भएको नेपाली चलचित्र ‘एक भागवद र एक गीता’को गीत ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया बनेलियै हो’ निकै लोकप्रिय बनेको छ।

झिझियाको यो मौलिक गीतमा प्रभास मल्लिकले आधुनिक संगीत भरेका छन् भने नेहा प्रियदर्शीनी र प्रभासले आवाज दिएका छन्।

नेपाली फिल्ममा झिझियाको गीत र नृत्यले ठाउँ पाउनुले पनि यसको लोकप्रियता प्रस्ट्याउँछ। मैथिली भाषामा सुरिलो आधुनिक र मौलिक भाकाको मिश्रणमा गाइएको यो गीत र त्यसको तालले लोकप्रिय बजार पाएको छ।

दसैंदेखि मधेसको मिथिला तथा भोजपुरा क्षेत्रमा आयोजन हुने झिझियामा यस गीतको धुनमा महिलाहरू झुमिरहेका छन्। मधेसबाट लोप हुँदै गएको झिझियाको मौलिकता जोगाउन यसपालि गाउँदेखि सहरसम्मै झिझिया उत्सव आयोजन गरिएको पाइएको छ। मधेसको मौलिक परम्पराको प्रवद्र्धनका लागि झिझिया महोत्सव आयोजना गरिएको आयोजकहरूले बताएका छन्।

नृत्यको सुरुवात

घैंटोमाथि बल्दै गरेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन हो। यस्तो प्रदर्शन झिझिया नृत्यमा हुन्छ। झिझिया नाच्नुअघि नयाँ घैंटोलाई सफा गरी घैंटोभरि प्वाल बनाइन्छ।

घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा मट्टीतेल हालेर बालिन्छ। त्यसपछि टाउकोमा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ। तर टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ।

कुनैकुनै बेला ताली बजाउँदै टाउको तल ल्याउँछन्, फेरि ताली बजाउँदै यथास्थानमा राख्छन्। घैंटामा बलिरहेको दियोको मधुरो प्रकाश, मुहानमा दन्किरहेको आगो, तालमा नाचिरहेकी कुनै महिला र झुन्डमा गीतको लहरीले अद्भूत वातावरणको निर्माण हुन्छ र महिलाहरू लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन हुन थाल्छन्।

नेपालीहरूको महान चाड बडादसैंको घटस्थापनासँगै मधेसमा सुरुवात हुने मैथिली, भोजपुरी भाषाको सुरिलो झिझिया गीतमा महिलाहरू नाचेको र झुम्ने कार्यलाई भिझिया भनिन्छ।

नृत्यसँगै गाइरहने गीतमा बोक्सीलाई गाली गर्ने गरिन्छ। बोक्सीलाई गाली गर्नाले उनीहरूको मारक क्षमतामा कमी आउने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहिआएको छ। समाज रूपान्तरणसँगै लोकनृत्यहरू लोप हुँदै जान थालेका छन्।

अहिले स्थानीय सरकारहरू यसलाई जीवन्त राख्न झिझिया नृत्यको आयोजना गरिरहेका छन्। विगतका दशकमा मधेस क्षेत्रमा बोक्सी प्रकरण व्यापक हुने गरे पनि पछिल्लो समय तुलनात्मक कम भए पनि निमिट्यान्न भने हुन सकेको छैन। यस झिझिया नाचको उद्देश्य देवी दुर्गाको उपासना पनि हो। झिझिया नाच्दै गाइने गीतमा बोक्सीलाई गाली गरी भगवती दुर्गाको स्तुति गाइएको हुन्छ।

समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइनी बोक्सी महिला जादु मन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका नवजात बालबालिकालाई कुनै करणीद्वारा मारेर मसानमा त्यहीं मरेको बच्चालाई जिउँदो पारी नांगै नृत्य गर्छ।

विजयादशमीको अवसरमा यस्ता घटनामा वृद्धि हुन थालेपछि महिलाहरूले नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्न बोक्सीहरूको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको लोक भनाइ छ।

झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु रहेको छ। यसको बनावट र स्वरूपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ।

झिझिया नृत्य अन्धविश्वास भन्नेहरू पनि प्रशस्त छन्। मधेसका सामाजिक अभियन्ता अर्जुन थपलिया भन्छन्, झिझियाको गीत र नृत्यले समाजमा बोक्सी र धामी रहेको मान्यता स्थापित गर्छ। समाजमा बोक्सी र धामी छ भन्ने भाष्य निर्माण गर्नु विडम्बनापूर्ण रहेको उनी बताउँछन्।

संस्कृति भनेको सामूहिक जीवनपद्धति हो। यो सामूहिक जीवनपद्धति मानवअधिकार र अन्यायपूर्ण छ भने यसलाई संशोधन वा खारेज गर्नुपर्ने उनको विचार छ। एक शताब्दीअघिसम्म सती प्रथा संस्कृतिकै रूपमा थियो। तर यो साह्रै अमानवीय थियो। जुन बदर भयो। झिझिया गीत र नाचको सीधा सन्देश हो, समाजमा बोक्सी हुन्छ।

‘अहिले लोकनृत्यका नाममा झिझिया नाच नचाइँदैछ। यो निकै घातक छ। बोक्सीका नाममा धेरै महिलालाई मलमूत्र घोलेर खुवाइएको छ। यस्तो परिस्थितिमा समाजलाई झन् वैज्ञानिकीकरण गर्नुपर्ने, सकारात्क सन्देश दिनुपर्ने ठाउँमा अन्धविश्वासको शिक्षा फैलाइँदैछ, थपलिया भन्छन्, ‘झिझिया नाचलाई लोकनृत्यका नाममा संरक्षण गर्नु अत्यन्त दुःखद छ।’

अझ दुःखद त के भने नेपाल सरकारको पैसा खर्च गरेर समाजमा अन्धविश्वास फैलाइँदैछ थपलिया भन्छन्, ‘बोक्सी हुन्छ, धामी हुन्छ भन्ने मान्यतालाई चेतनाकरण गरिँदैछ। गरिनु के पथ्र्यो भने लोकनृत्यको नाममा झिझिया नाच नचाउँदा समाजमा धामी हुँदैन, बोक्सी हुँदैन, यी सब अन्धविश्वास हुन भन्ने चेतना फैलाइनुपथ्र्यो, उनले भने।

झिझियाका संरक्षकहरू भने यो अन्धविश्वास नभई यस भित्र गहिरो दर्शन लुकेको बताउँछन्।

झिझिया नृत्यमा प्रयोग हुने घैंटोले पञ्चभौतिकरूपी शरीर, त्यसमा प्रयोग हुने दियो चेतनाको प्रतीक रहेको उनीहरू बताउँछन्। झिझिया नृत्य गर्ने टोलीले दियोमा घरघर मागेर तेल हाल्ने परम्परा छ। यसले परिवार र समाजको सहयोगबिना चेतनारूपी दियोको विकास हुन सक्दैन भन्ने सन्देश दिँदै आएको झिझिया संरक्षकहरूको तर्क छ। यो नृत्यमा लोक तथा तान्त्रिक परम्पराको मिश्रणले महान सन्देश दिँदै आइरहेको उनीहरूको भनाइ छ।

झिझियामा प्रयोग हुने घैंटोमा गरिएका असंख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्न महिलाद्वारा टाउकाको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसको निहीत विशेष अर्थलाई संकेत गर्छ महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल कुनै बोक्सीले गन्न सक्दैन र उसको तान्त्र विद्या सकिने जनविश्वास रहेको छ।

झिझिया नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिएको हुन्छ, बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने जनविश्वास पनि रहेको छ। झिझिया नृत्यमा बोक्सीलाई गाली मात्र गरिँदैन उसलाई यसरी धम्क्याउने काम पनि गरिन्छ।

आफ्ना साखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घ जीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ।

सभ्य गुरुक बन्दे पाउँ। बजर केवाडी। बजर बान्हो दसो दुआरी। मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो।

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो दन्किरहेको घैंटो राखेर बिनाहातको सहारा लिई नाच्दै ब्रह्मस्थानतिर पुग्छन्। त्यहाँ अराधना गर्छन् र त्यहींबाट औपचारिक रूपमा नृत्य सुरु गरी गाउँका भद्रभलादमीको घरमा पुगि नृत्य देखाउँछन् र पूर्णआहूतिका लागि अन्न रूपैयाँ चन्दा माग्ने झिझियाको मौलिक परम्परा पछिल्लो समय स्टेज नाचमा सीमित हुन पुगेको छ। 

प्रकाशित: ४ कार्तिक २०८० ००:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App