२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

होस् गर्नुहोस् है, दसैंमै फन्दामा परिएला नि!

जिल्ला प्रहरी परिसर भक्तपुरले दसैं र तिहारलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। योजनाअनुसार दसैं र तिहारमा सम्भावित आपराधिक गतिविधि हुन नदिन आकस्मिक रात्रिकालीन सुरक्षा चेकिङलगायत सुरक्षा योजना सार्वजनिक भएका छन्।

राति १२ बजेपछिबाट पनि आकस्मिक रात्रिकालीन चेकिङ दसै र तिहारबीच हुन्छ, परिसर प्रमुख एसपी वेद विष्टले भने, ‘आवश्यकता अनुसार यो आकस्मिक रूपमा हुन्छ।’

अरू बेला दिउँसो र साँझ चेकिङ हुने गरे पनि चाँडपर्वको समयमा आपराधिक घटना वृद्धि हुने भएकाले रात्रिकालीन चेकिङको योजना बनाएको उनले बताए।

चोरी, लुटपाट लगायत आपराधिक घटना विशेष गरेर रातको १२ बजेपछिबाट बिहान ३ बजेबीच हुने गरेको हुन्छ,’ उनले भने, ‘यही कुरालाई विशेष ध्यान दिई रात्रिकालीन आकस्मिक सुरक्षा जाँच गर्ने योजना हो।

चाडपर्वमा हुन सक्ने अपराध रोकथामका लागि यो वर्षको दसैं र तिहारबीच सादा पोसाकमा प्रहरी परिचालन गरी सूचना संकलन गरिने, आम नागरिकसँग समन्वय तथा सहकार्य गर्ने, जनचेतनामूलक कार्यक्रम, जिंगल बजाउने, माइकिङ तथा जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गरिनेलगायत योजना उनले सार्वजनिक गरे।

साथै जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायसँग समन्वय गरी बजार अनुगमन गरिने, ट्राफिकसहितको यात्रु सहायता कक्षको स्थापनाका लागि यातायात कार्यालयसँग समन्वय गरिने, अभियुस ड्युटी, मापसे चेकिङ तथा पिकेट, मोबाइल गस्ती जस्ता अन्य डिउटी परिचालन, लागुऔषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरीको सहकार्यमा संयुक्त लागु औषध चेकिङको व्यवस्था पनि रहेको उनले सुनाए।

साथसाथै यातायात कार्यालय भक्तपुरका कार्यालय प्रमुखको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला ट्राफिक प्रहरीका प्रतिनिधि सदस्य रहने गरी अनुगमन समिति गठन गर्ने निर्णय भएको पनि उनले सुनाए। यो क्रममा सिसिटिभीद्वारा निगरानीको व्यवस्था र लामो दूरीमा चल्ने सवारीसाधनलाई चेकजाँचको व्यवस्था पनि रहेको उनले सुनाए।

यसबाहेक पनि चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, ठगी, स्न्याचिङ तथा जुवा तासलगायत आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्नु, बडादसैँ, दीपावली तथा छठ पर्वलगायत चाडपर्व सौहार्दपूर्ण वातावरणमा मनाउने व्यवस्था मिलाउनु, जिल्लाको शान्ति सुरक्षालाई सन्तुलन बनाएर राख्‍नुलगायत उद्देश्यका विभिन्न गतिविधि हुने उनले बताए।

यो अवस्थाका बाबजुद पनि मादक पदार्थ सेवन गरी झैझगडा एवं होहल्ला गरी उच्छृंखल क्रियाकलाप हुने, विभिन्न बैंकहरूको एटिएम फुटाई चोरी, डकैती, लुटपाट, स्न्याचिङ, बगलीमारा, डलर ठगी तथा जुवातास लगायत अपराध बढ्नसक्ने, सार्वजनिक यातायातमा बढी भाडा असुली, अनावश्यक हैरानी तथा क्षमताभन्दा बढी यात्रु बोक्नसक्ने, आतिसबाजी, पटका लगायत विविध विस्फोटक पदार्थको ओसारपसार तथा बिक्रीवितरण हुनसक्ने, दैनिक आपूर्तिका सामानहरूको कालोबजारी बढ्न सक्ने सुरक्षा चुनौती रहेको उनको भनाइ थियो।

यस्ता चुनौतीको सामना गर्न परिसरले सुरक्षा योजना निर्माण गरी कार्यान्वयन भइरहेको, ६ सय ७५ जना प्रहरी परिचालित (जसमध्ये ५० जना तालुक कार्यालयबाट माग) गरिएको, तीनवटा नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन, रात्रिकालीन एम्बुसिङ डिउटी परिचालन, जिल्ला प्रशासन, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकासँग संयुक्त बजार अनुगमन गरिएको, ट्राफिकसँग संयुक्त चेकिङ र लागु पदार्थ सेवन चेकिङ, जिंगल बजाउने, माइकिङ, घरदैलो कार्यक्रम, जनचेतनामूलक पर्चा पम्पलेट तथा दुईवटा यात्रु सहायता कक्ष स्थापना गरिएको उनले सुनाए।

कार्यक्रममा परिसरका सूचना अधिकृत बसन्त पाठकले सामान्य अवस्था बाहेकका थप ड्युटी यात्रु सहायता कक्ष, बजार अनुगमन, लामो दुरीमा चल्ने सवारी साधनको चेकिङ, एम्बुस डिउटी रहेको जनाए। यीबाहेक पनि सामान्य अवस्थामा परिचालन प्रहरी जनशक्ति भन्दा चाडपर्वमा परिचालित प्रहरी जनशक्ति बढिरहेको र तालुक कार्यायलबाटसमेत थप प्रहरी जनशक्ति माग गरिएको उनले सुनाए ।

प्रकाशित: ३ कार्तिक २०८० ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App