१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एनआरएनए उपाध्यक्ष पौडेललाई शून्य मत, धाँधली हो की प्राविधिक गडबडी ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको विश्वसनियतामाथि प्रश्न उठेको छ। ११ औं विश्व सम्मेलनमा भएको विद्युतीय निर्वाचनमा काठमाडौंमा उपस्थित भएर करिब ८ सय २६ मतदाताले विद्युतीय मेसिनबाट मतदान गरेकोमा उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेललाई शून्य मत आएको छ।

महेश श्रेष्ठको प्यानलबाट उपाध्यक्ष लडेका पौडेलले निर्वाचनमा अध्यक्षमा विजयी डा. बद्रि के.सी.ले धाँधली गरेको आरोप लगाए। ‘म आँफैले हालेको भोट कहाँ गयो,’ पौडेलले भने, ‘विद्युतीय भोटिङ प्रणालीलाई कब्जामा लिएर धाँधली गरिएको हो।’  

उपाध्यक्षका उम्मेदवार पौडेललाई एक भोट पनि नदेखिए पछि निर्वाचनमा प्रयोग भएको विद्युतीय र अनलाइन भोटिङमा शंका उब्जिएको छ। ‘काठमाडौंमा उपस्थित भएर मतदान गर्ने ८ सय २८मा ८० प्रतिशतले मलाई मतदान गरेको मेरो अनुमान थियो, ’ पौडेलले भने, ‘तर धाँधली गरेर मेरो मत शून्य देखाइयो।’  

निवर्तमान समितिका महासचिव रहेका पौडेलले आाँफूलाई लज्जाबोध भएको बताए। ‘एनआरएनए माफियातन्त्रले चलाएको प्रमाणित भयो,’ पौडेलले अध्यक्ष डा.बद्रि के.सी.प्रति  लक्षित गर्दै भने, ‘यो रिजल्ट स्वीकार गर्दैनौं।’ पौडेलले छानविन गर्न पनि माग गरेका छन् । ‘अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुपर्छ,’ पौडेलले भने।  

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिले प्रत्यक्ष रुपमा उपस्थित भएर विद्युतीय माध्यमबाट मतदान गरेका थिए भने विश्वभर रहेका मतदाताले अनलाईनबाट मतदान गरेका थिए।

शून्य मत आएपछि प्राविधिक गडबढी हो की सिस्टम ह्याक गरेर आफ्नो पक्षमा मत परिणाम ल्याएको हो भन्ने विषयमा विवाद भएको छ। निर्वाचित अध्यक्ष डा. बद्रि के.सी. पक्षले उपाध्यक्षको हकमा मात्र प्राविधिक गडबढी भएको हुन सक्ने बताएको छ भने अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँधली गरेको आरोप लगाएका छन्।  

उपाध्यक्षका उम्मेदवार पौडेलको काठमाडौंमा उपस्थित भएर भोट हालेकोमा शून्य मत देखाएपछि प्राविधिक गडबढी भएको भने पुष्टी भएको छ। यो भोटिङ प्रणाली अस्ट्रेलियन कम्पनीले बनाएको हो। दुई अध्यक्षका प्रत्यासी श्रेष्ठले अध्यक्ष के.सी.ले सिस्टम आफ्नो कब्जामा लिएको आरोप लगाएका छन्। अध्यक्षमा विजयी के.सी. कार्यकारी अध्यक्ष भएर निर्वाचन गराएका हुन्।

प्रकाशित: ३ कार्तिक २०८० ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App