१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

चाडपर्व लक्षित सुरक्षार्थ बागमतीमा साढे ५ हजार प्रहरी

दसैँ, तिहार, छठ लगायतका पर्वमा हुनसक्ने अपराधका घटना रोक्दै सर्वसाधारणलाई सुरक्षा दिलाउन बागमती प्रदेशमा ५ हजार ४९९ प्रहरी खटिएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयले चाडपर्व सम्बन्धी सुरक्षा योजना बनाउँदै नागरिकमा सुरक्षाको अनुभूति गराउँदै आर्थिक, सामाजिक एवम् सङ्गठित अपराधका घटना नियन्त्रण र निरुत्साहित गर्न ५ हजार ४९९ प्रहरी खटाएको हो। 

चाडपर्वको समयमा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने कार्य हुने भएकोले ‘सप्राइज चेकिङ’ हुनेछ। चाडपर्वको समयमा खटिएका प्रहरीले राजमार्ग तथा सहायक मार्गहरूमा हुनसक्ने लुटपाट, डकैती नियन्त्रण गर्नुका साथै कालो बजारी तथा कृत्रिम अभाव सृजना हुन रोक्ने, पटका, आतिसबाजी, प्रज्वलनशील तथा विस्फोटक पदार्थ नियन्त्रण गर्नेछ। बागमती प्रदेशमा चाडपर्व लक्षित एक हजार ६३७ वटा ड्युटी हुने जानकारी दिइएको छ। प्रहरीले प्रदेशमा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरी १९४ जना प्रहरी परिचालन गरेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) किरण राणाले जानकारी दिइन्।

सरप्राईज चेकिङ, सीमा नाका चेकिङ, चेक प्वाइन्ट र मादक पदार्थ चेक प्वाइन्टमा ४१७ जना जनशक्ति परिचालन हुनेछ। प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्ग, मोबाइल, पैदल, मोटरसाइकल र पिकेट गस्तीमा एक हजार ५७१ जना प्रहरी परिचालन भएका छन्। विभिन्न स्थानको सुरक्षाका लागि छुट्टाछुट्टै प्रहरी परिचालित हुनेछन्। चाडपर्वका हुनसक्ने अपराध नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी खटिनेछन्।

‘आम सर्वसाधारणलाई निर्धक्कसँग चाडपर्व मनाउने अवस्था सृजना गर्न हामी तयार छौँ। प्रदेश प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना नै निर्माण गरेका छौँ’, डिआइजी राणाले भनिन्, ‘तपाईँको टोल समाजमा कुनै घटना भएमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनु हुनका लागि अनुरोध गर्दछौँ। आफ्नो क्षमता अनुसार पर्व मनाउन समेत सबैमा अनुरोध छ।’ आवश्यक परेको खण्डमा बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालय नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण तथा बागमती प्रदेश प्रहरी स्कुल शान्तिपुर ७३५ जना प्रहरी कर्मचारी तैनाथ रहेको जानकारी दिइएको छ। 

प्रकाशित: २ कार्तिक २०८० १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App