२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट

हावाहुरीले ढालेको केरा खेती। तस्बिर: योगेश रावल

हावाहुरीले कैलालीमा करोडौँको केराबारी नष्ट गरेको छ। हावाहुरीले झण्डै एक हजार भन्दा बढी विगाहमा लगाएको केरा बालीमा क्षति पुगेको छ।

टीकापुर नगरपालिका वडा नं. ४ अस्नेहरीका किसान टेकेन्द्र धामीले अधिकांश किसानका केरा हावाहुरीले ढालेको जानकारी दिए। उनका अनुसार टीकापुर नगरपालिकामा मात्रै सात सय विगाहमा क्षति पुगेको छ।

हावाहुरीले वर्षेनी केरा बालीमा क्षति पुर्‍याउने गरेको छ। ‘यो हरेक वर्षको नियति जस्तै बनेको छ’ किसान धामीले भने, ‘हावाहुरी किसानका लागि महाविपत्ति जस्तै हो।’

हावाहुरीले फल्दै गरेको केरा बारीमै ढलेपछि किसान चिन्तित बनेका छन्। टीकापुर नगरपालिका वडा नं. ५ नुक्लिपुरका किसान ज्ञानबहादुर शाहीले एक विगाह केरा खेती नोक्सान भएको बताए।

उनले पहिलो पटक केरा खेती गरेका हुन्। पहिलो पटक उत्पादन गरेको केरा बेच्न नपाउँदै हावाहुरीले बारीमै सोत्तर पारेपछि चार लाख बराबरको क्षति भएको उनले बताए।  ‘पहिलो पटक केरा खेती गरे त्यो पनि हावाहुरीले बचाउन सकिएन’ उनले भने, ‘मलाई त पहिलो गासमा ढुङ्गा जस्तै भएको छ।’

यति बेला केरा पाक्ने अवस्थामा थियो। बारीमा लटरम्म फलेको केरा देखेर किसान दङ्ग थिए। दसैँ तिहारमा केरा बेच्न पाइने भयो भन्ने कुराले उनीहरु खुसी भएका थिए। तर हावाहुरीले किसानको खुसीलाई मारिदिएको छ।

टीकापुर नगरपालिका वडा नं. ५ नुक्लिपुरकै नरबहादुर शाहले आफ्नो नब्बे प्रतिशत केरा नोक्सान भएको बताए। उनले एक विगाहमा केरा खेती गरेका छन्। ‘दसैँ तिहारमा बेच्ने तयारीमा थियौँ’ उनले भने, ‘एकै दिन आएको हावाहुरीले सबै स्वाहा पारिदियो।’

वर्षेनी किसानले लाखौँको नोक्सानी व्यहोर्दै आएको भएपनि अहिलेसम्म कतैबाट क्षतिपूर्ति नपाएको दुःखेसो पोखे। उनीहरुले अहिलेसम्म कसैले पनि क्षति भएको केराबारीको अवलोकन नगरेको बताए। ‘न कतैबाट क्षतिपूर्ति पाइएको छ’ कैलाली केरा उत्पादक संघका उपाध्यक्ष समेत रहेका किसान धामीले भने, ‘राज्य किसानका पीडा प्रति संवेदनशील छैन।’

कैलालीको पूर्वी क्षेत्र केरा खेतीका लागि परिचित छ। यहाँका किसानले राज्यसँग टीकापुरलाई केरा पकेट क्षेत्र घोषणा गर्न माग गर्दै आएका छन्। राज्यले किसानको मागलाई अहिलेसम्म सम्बोधन गर्न सकेको छैन। जसका कारण किसानले केरा खेतीका नाममा सहुलियत ऋण, अनुदान, क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपरेको छ।

प्रकाशित: ३० आश्विन २०८० १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App