१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

झापाको यान्त्रिक कार्यालय रुखकाे फेदमा

काँकडभिट्टा – झापाको बिर्तामोडमा दुई साताअघि सडक विभागको यान्त्रिक कार्यालयमा आन्दोलनकारीले आगजनी गरेपछि कार्यालयको दैनिक काम सञ्चालनमा कठिनाइ भएको छ। 

कार्यालयका सिनियर मेकानिक अरुणकुमार देवले कार्यालयका भवनलगायत सबै सामान आगजनीमा ध्वस्त भएपछि दैनिक काम सञ्चालनका लागि कोठा नहुँदा कर्मचारीले रुखको फेदमा टेबलकुर्सी राखेर कार्यालयको काम गर्न बाध्य भएको बताए। 

यही कात्तिक १० गते आन्दोलनकारीले कार्यालय भवन र त्यहाँभित्र रहेका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारेका तथा कार्यालय परिसरमा पार्किङ गरिएका करोडौँ मूल्यका सवारी तथा यान्त्रिक उपकरणलगायत भौतिक सम्पत्तिमा क्षति पुर्‍याएका थिए । 

अर्जुनधारा– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्युको घटनामा प्रहरीले अनुसन्धानमा लापर्वाही गरेको भन्दै मृतकका आफन्त र स्थानीयवासीले आन्दोलन गर्दा उक्त आगजनी भएको हो । सिनियर मेकानिक देवले आगजनीमा रु दुई करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको जानकारी दिए । 

के के जले ?
कार्यालय भवनका चार कोठामा आगजनी हुँदा त्यहाँ रहेका तीन थान कम्प्युटर, एक थान प्रिन्टर, दुई थान दराज र १२ थान कुर्सीसहित सम्पूर्ण अभिलेख जलेर खरानी भएको छ । कार्यालय भवनमा रु १० लाखको सामान पूर्णरुपमा क्षति भएको मुचुल्का गरिएको कार्यालयले जनाएको छ । भवन नजिकै रहेको भण्डार कोठामा समेत आगजनी भएको थियो । त्यहाँ रहेका ग्यासका दुई सिलिण्डर आगजनीमा विष्फोट भएका थिए। 

भण्डार कोठामा रु चार लाखको क्षति भएको छ । कार्यालय परिसरमा पार्किङ गरेर राखिएका को १ ग नं को बिटुमिन डोजर, आरडी ०७०÷३२ नं को नयाँ जेसिभी डोजर, बा १ झ ९००७ नं को निसान पिकअप भ्यान, मे १ झ ६२ नं को मित्सुविसी पिकअप भ्यान, को १ ग ६८ नं को पानी ट्यांकर र मे १ द १२ नं को ट्यांकर आन्दोलनकारीले जलाएका छन्। 

आन्दोलनकारीले यान्त्रिक कार्यालयभित्र पस्नका लागि ६५ मि लामो पक्की पर्खाल ठेलेर भत्काएका थिए । आगजनी हुन थालेपछि कार्यालयका चौकीदार ज्यान जोगाउन भागेका थिए । बिटुमिन डोजर जलेर काम नलाग्ने भई रु २५ लाखको क्षति भएको बताइएको छ। 

यान्त्रिक कार्यालयले भर्खर दुई महिनाअघि मात्र खरिद गरेको जेसिभी डोजर पनि जलाइएको छ । यसबाट रु ३५ लाखको क्षति भएको छ । निसान पिकअप जल्दा रु ५० लाख र मित्सुबिसी भ्यान जल्दा रु ४० लाख बराबरको क्षति भएको छ । पानी टयांकरको पछाडिको यन्त्र मात्र जलाइएको हुँदा रु दुई लाख २५ हजार र ट्यांकरको रु सात लाख क्षति भएको बताइएको छ। 

ध्वस्त भयो बिटुमिन डोजर 

आन्दोलनकारीले जलाएको बिटुमिन डोजर पूर्वमै एक मात्र भएको यान्त्रिक कार्यालयले जनाएको छ । “मुलुकभरि तीन÷चारवटा मात्र होलान्”, देव भन्छन्, “पूर्वाञ्चलमा एउटा मात्र यही एउटा बिटुमिन डोजर थियो ।” 

नयाँ डोजर किन्न अहिलेको बजारभाउमा रु दुई करोड लाग्छ । जलेको डोजरको आगजनी बिमा पनि थिएन । निर्माण व्यवसायी गुणराज अधिकारीले मेचीनगरको दुहागढी खण्डमा निर्माणाधीन सडकमा कालोपत्रे गर्ने प्रयोजनका लागि सडक विभागको सो डोजर भाडामा ल्याएका थिए । डोजरमा आगो लगाइएपछि सो सडकको निर्माण रोकिएको छ । डोजरको अभावमा झापाका मात्र नभएर पूर्वाञ्चलका धेरै सडकको निर्माण अवरुद्ध भएको छ। चन्द्रकला भण्डारी / रासस

प्रकाशित: २६ कार्तिक २०७४ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App