१० श्रावण २०८१ बिहीबार
image/svg+xml
समाज

हिँडें कुवेत, पुगें नर्क’

ओमानमा बेचिएर ३५ दिन चरम यातना भोगेकी महिलाको कथा

धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्। धन कमाउनु त परको कुरा, तन र मनमा चौटैचोट लागेपछि २७ वर्षीया ती महिलाको अवस्था चिन्ताजनक बनेको छ। विदेशमा भोग्नुपरेको यातनाका कारण उनी हातै नचल्ने अवस्थामा छिन् ।

पारिवारिक जिम्मेवारी निभाउनुपर्ने भएपछि उनी बिदेसिएकी थिइन्। कुवेत हिँडे पनि एजेन्टको जालझेललेउनी ओमान पुगिन्। कक्षा ८ सम्म पढेकी उनी एक छोराकी आमा हुन्। पतिको साथ नपाएपछि कमाइका लागि बिदेसिनुपर्ने बाध्यता उनीमाथि आइलाग्यो। काठमाडौंमा भेटिएका तर पहिला चिनजान नभएका एजेन्टले उनलाई भिजिट भिसामा ओमान पु¥याएका थिए। ओमान पुगेपछि नारकीय जीवन सुरु भएको उनले बताइन्।  

‘बेचिएको भन्ने जानकारी एक श्रीलंकाली एजेन्टले दिएपछि होसहवास उड्यो,’ उनले भनिन्, ‘म लगिएको ठाउँमा २५÷३० नेपाली महिला थिए। एउटै कोठामा कोचिएका उनीहरू पनि बेचिएका रहेछन्। सबैको मोबाइल खोसिएको थाहा पाएँ।’

बन्धकमा परेका ती सबै महिला रोइरहेको देखेर ‘आउनुपहिल्यै किन मरिएन’ भन्ने लागेको उनले बताइन्। चिच्याइरहेकी रोइरहेकी एक महिलाको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘दिदी! अब तपाईंलाई पनि यिनीहरूले जिउँदै मार्ने भए। हामी त मरेसरह भएका छौं।’ चिच्याइरहेकी ती महिलाले आफैंलाई कोपारिरहेको दाङकी ती महिलाले सुनाइन्। ‘उनीहरूको अवस्था अकल्पनीय थियो। सबै त्रसित थिए। त्यो कहालीलाग्दो अवस्थाको साक्षी म पनि बनेकी थिएँ,’ उनले भनिन्।  

दाङकी ती महिलाले सुरुमा १८ दिन श्रीलंकालीद्वारा बन्धक हुँदाको समय १८ वर्षजत्तिकै लामो लागेको बताइन्। त्यहाँबाट फुत्किन धेरै प्रयास गरेको उनले सुनाइन्। ‘झ्यालका ससाना प्वालबाट कागजका टुक्रामा बचाइदिनू भन्ने सन्देश लेखेर फ्याँक्ने गरेका थियौं तर नेपालीमा लेखिएका त्यस्ता कागजका टुक्रा कता जान्थे जान्थे,’ नारकीय दिनहरू सम्झँदै ती महिलाले भनिन्। उनीहरूलाई राखिएको कोठामा महिलाहरू आउनेजाने क्रम चलिरहेको उनले बनाइन्। आफूहरूलाई स्वदेश फर्काइदिनू भन्दै श्रीलंकाली एजेन्टसँग लाख बिन्ती गर्दा पनि तिनीबाट नेपाली एजेन्टले बेचेर गएको जवाफ मिल्ने गरेको उनले बताइन्। ‘२ लाख ५० हजार रूपैयामा नेपाली एजेन्टसँग हामीले तिमीलाई किनेका हौं,’ श्रीलंकाली एजेन्टको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘कहाँ नेपाल जाने कुरा गछ्र्यौ ? चुप लागेर बस।’

जिद्दी गर्दा श्रीलंकालीका कुटाइसमेत खाएको उनले बताइन्। बन्धकमा परेको १९औं दिनमा एक ओमानीले आफूलाई एक घरमा काम गर्ने प्रस्ताव राखेकोे थाहा पाएपछि उक्त अन्धकार कोठाबाट मुक्त हुने आशाले निकै खुसी लागेको उनले सुनाइन्। त्यसकारण ओमानी घरमा काम गर्न जान उनी राजी भइन्। तर उनको जीवन झनै नारकीय बन्न पुग्यो। ओमानी घरमा उनले दिनरात काम त गर्नुपथ्र्यो नै, पटकपटक कुटाइ पनि खानुपथ्र्यो।

‘बिहानदेखि आधा रातसम्म काम गर्नुपथ्र्यो। त्यसमाथि गालीसँगै कुटाइ कति धेरै खानुपथ्र्याे,’ उनले भनिन्, ‘न आराम मिल्थ्यो न समयमा खाना। पानी पनि शौचालयको खानू भन्थे, कतिपटक त्यसै गरियो।’ आँखाभरि आँसु पार्दै उनले थपिन्, ‘हप्ता दिनको बासी खान दिन्थे, त्यो पनि स्याउँस्याउँ किरा परेको। त्यो खाना खान नसक्दा फ्याक्थें। डस्टबिन खाना फ्याँकेको देखे गोरू चुटेझैँ चुट्थे।’ आफूलाई मर्न मन लागे पनि छोरा सम्झेर त्यसो गर्न नसकिएको उनले बताइन्।

एक दिन काम गर्दागर्दै थाकेकाले फ्रिजमा राखेको पानी एक घुट्को खाँदा बोतल खोसेर पानी टाउकोबाट खन्याई जगल्ट्याउँदै भ¥याङबाट गुडुल्क्याइदिएको दिन आफूलाई नबाँचिएला भन्ने लागेको उनले बताइन्। ‘कुट्ने महिला नै थिइन्। कुट्दाकुट्दा म मर्न लागिसकेकी थिएँ तर तिनी थाकिनन्,’ दाङकी ती महिलाले भनिन्। त्यही रात जिउभरि नीलडाम बोकेर र भाँचिएको हात लिएर सबै सुतेको मौका पारी त्यस घरबाट उनी भाग्न सफल भइन्।

भाग्दै गर्दा भारतीय पुरुषसँग भेट भएपछि सबै बेलिविस्तार लगाएर ओमानस्थित नेपाली दूतावासमा पु र्‍याइदिन आग्रह गरेको उनले बताइन्। त्यो रात समुद्रको किनारामा बिताएको र भोलिपल्ट ती भारतीय पुरुषले दूतावासमा पु¥याइदिएको उनले सुनाइन्। ‘दूतावासमा नेपालको झन्डा देख्दा म भावुक भएकी थिएँ,’ उनले भनिन्। दूतावासको शरणमा पुगेको १६÷१७ दिनमा उनी स्वदेश फर्किएकी हुन्। उनीसँग राहदानी थिएन। माइती नेपालले ५८ हजार रूपैयाँ तिरेर एकतर्फी ट्राभल टिकट काटिदिएपछि उनी नेपाल आइपुगेकी हुन्। विदेशमा दुःख पाएपछि स्वदेशको मूल्य थाहा पाएको उनले बताइन्। अब विदेश जाने सोचबाट आफू बाहिर आइसकेको उनले बताइन्। ‘विदेशमा आफ्ना कोही हुँदैनन्। विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ,’ उनले भनिन्।

माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काका अनुसार देशमा रोजगारको अवसर नहुँदा वैदेशिक रोजगारीमा नेपाली युवायुवती दिनप्रतिदिन बिदेसिँदै छन्। कृषिप्रधान देश भनेर नेपाल चिनिए पनि काम गर्ने कोही छैनन्। कृषिकर्ममै लागे पनि उचित मूल्य नपाउने स्थिति रहँदा विदेश जानेको लर्को नै लाग्ने गरेको उनको भनाइ छ। सबै अवस्था राम्ररी नबुझी विदेश जाने प्रवृत्ति रहेकाले नेपालीहरूले दुःख पाइरहेको खड्काको भनाइ छ। ‘कामका खोजीमा विदेश गएका छन्। कुन देशमा जाने हो, के काम गनुपर्छ, त्यो देशको चालचलन कस्तो छ, त्यहाँ कुन भाषा बोलिन्छ, नियाकानुन कस्तो छ भन्ने नबुझी जाने कारणले गर्दा वैदेशिक रोजगारीमा धेरै समस्या आएको छ,’ उनले भने, ‘यसलाई सहज बनाउन स्थानीय सरकारले बिदेसिने युवालाई सजग बनाउनुपर्छ। रेमिट्यान्सले नेपाल धाने पनि वैदेशिक रोजगारले नेपालमा निम्त्याएको छ।

माइती नेपालको तथ्यांकअनुसार विभिन्न स्वदेशको सिमाना, खाडी मुलुक, भारत, अफ्रिकी देश र अन्य देशबाट ५० हजारभन्दा बढी नेपाललीलाई उद्धार गरिएको छ। माइती नेपालले ओमानबाट चालु आर्थिक वर्षमा मात्रै हवाई टिकट कटाएर सात महिलाको उद्धार गरेको कार्यकारी निर्देशक खड्काले बताए।

प्रकाशित: ३० आश्विन २०८० ००:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App