१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बागलुङको विकासमा सहकार्य गर्ने एनआरएनएको प्रतिबद्धता

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले बागलुङको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। बागलुङमा जन्मिएर विश्वका विभिन्न मुलुकमा पेसा, व्यवसाय गर्दै आएका एनआरएनएले जन्मभूमिप्रतिको दायित्वबोध गर्दै लगानी सहित सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका हुन्।

अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन्। बागलुङबाट विश्वका विभिन्न मुलुकमा पेसा, व्यवसाय गर्दै आएका छन्। १२ देशका गैर आवासीय नेपाली संघका अध्यक्ष बागलुङे रहेका छन्। एनआरएनएको आसन्न निर्वाचनमा अध्यक्ष पदका दुई उम्मेदवार महेश कुमार श्रेष्ठ र आरके शर्मा बागलुङका हुन्।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशमा कमाएको सीप र  पुँजीलाई जिल्लाको विकासमा लगाउन आफूले पनि सहकार्य गर्ने बताए। ढकालको गृह जिल्ला पनि बागलुङ हो। एनआरएनएसँग सहकार्य गर्न आफू तयार रहेको बताए। ‘जन्मभूमिको विकासमा काम गर्नु सबैका दायित्व हो,’ ढकालले भने, ‘निजी क्षेत्रको तर्फबाट सहकार्य गर्न तयार छु।’

कार्यक्रममा अध्यक्ष प्रत्याशी महेश कुमार श्रेष्ठले जिल्लाका विकासमा साझेदार गर्नु आफ्नो दायित्व भएको बताए। अर्का प्रत्याशी शर्माले जिल्लामा सामाजिक उत्तरदायित्वका काम गर्दै आएको बताए।

कार्यक्रममा बागलुङ सांसद डिल्लिराम सुवेदीले कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न एनआरएनएले लगानी गर्न सक्ने धारणा राखे। बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले पर्यटन क्षेत्रमा लगानी गर्न अवसर रहेको बताए।

विदेशमा रहेका नेपालीलाई बागलुङको विकासमा साझेदार बढाउनका लागि कार्यक्रम आयोजना गरिएको अन्तर्राष्ट्रिय बागलुङ समाजका कार्यक्रम संयोजक दीपक गौतमले बताए। अन्तर्राष्ट्रिय बागलुङ समाजका निवर्तमान अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व शिक्षा मन्त्री दिननाथ शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण पौडेल लगायतले धारणा राखेका थिए।

प्रकाशित: २९ आश्विन २०८० १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App