८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

निसन्तान हुँदा महिला माथि हिंसा

खैरहनी नगरपालिका–५ पर्सा स्थित सरस्वती ढकाल पेसाले प्राध्यापक हुन्।२० वर्षमा विवाह गरेकी ढकालको १६ वर्षसम्म सन्तान भएन।यो अवधिमा उनले साह्रै नै मानसिक पिडा सहन पर्‍यो।

‘घरमा जो मान्छे आए पनि बच्चा कति छन् भनेर आमाबुवालाई सोध्ने, अनि म मलाई उसको नि भनेपछि मेरो छैन भन्न नपरे हुन्थ्यो।नसोध्ने मान्छे आउँदा राम्रो रैछ भन्ने फिल हुन्थ्यो,’ ३७ वर्षीय ढकालले निसन्तान हुँदाका विगतका दिन सम्झँदै भनिन्, ‘माइत जाँदै गर्दा अन्य घरहरू नभएको बाटो जान पाए भन्ने हुन्थ्यो ।’ छोरा छोरी नभएपछि आफुलाई नकरात्मक सोचाई समेत आउने गरेको उनले बताइन्।‘बाटोमा हिँड्दै गर्दा पनि बच्चा बच्ची छैन।किन जागिर खान गएको होला भन्छन् भन्ने आफूमा नकरात्मक सोचाई आउँथ्यो,’उनले भनिन् ‘देवघाटमा गएर बस्ने मनस्थिति समेत बनाएको थिएँ।’ आफू भन्दा सानो उमेरका छोराछोरी हुँदा नरमाइलो लाग्ने उनले बताइन्।

अहिले उनी पाँच महिनाकी छोरीकी आमा हुन्।सन्तान प्राप्तिका लागि धेरै सङ्घर्ष गर्नुपरेको उनले बताईन्।‘सन्तानको लागि धेरै क्लिनक गएँ, सन्तान हुन्छ भनेपछि जे औषधी पनि खाए,’ उनले भनिन् ‘भरतपुरमा रहेको शिशु फर्टिलिक्टी क्लिकमा आएर चिकित्सकको सुझाव अनुसार प्लानिङ गरेपछि प्राकृतिक रुपमा नै बच्चा भयो।’

बच्चा नहुँदा पर्वतकी बैजन्ती सारु मगरले धेरै पिडा खेप्नु प¥यो।घर परिवार तथा समाजबाट नै हिंसा खेप्नुपरेको उनले बताईन्।‘१० वर्षसम्म मैले के के सुन्न परेको थियो।मान्छेले अगाडि केही भन्न सक्दैनन्, उनले भनिन् ‘बाहिर मानिसहरूले धेरै कुराहरू सुनाउँछन् ।’ अहिले उनका २ वटा छोरी छन्।

शिशु फर्टिलिटी क्लिनका सञ्चालक चिरञ्जीवि ढकाललाई पनि सन्तान नहुँदा मानसिक समस्या धेरै भयो।१३ वर्षसम्म बच्चा नहुँदा धेरै तिरबाट तनाव भोग्न परेको उनले सुनाए।‘बच्चा नहुँदा हामीलाई दशैं नआए हुन्थ्यो भन्ने लाग्थ्यो।श्रीमती माइत जान नमान्ने,’उनले भने ‘हाम्रा समस्या यहाँ भनेर सकिँदैन ।’ अहिले आईभिएफ प्रविधि मार्फत बच्चा जन्माएका छन्।आफ्नो पिडा देखेर भरतपुरमा उनले शिशु फर्टिलिटी क्लिनिक सञ्चालनमा ल्याएका हुन्।त्यहाँ डेढ वर्षको अवधिमा एक सय जना भन्दा धेरैले सेवा लिएको उनले बताए।यहाँ आइयूवाई प्रविधि मार्फत उपचार हुन्छ।

निसन्तान कारण महिलाहरु बढी हिंसामा पर्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।‘तराई क्षेत्रमा महिलाहरु बढी हिंसामा परेका छन्।चितवनमा पनि एक महिना अघि नानीको पाठेघरको दोष देखाएर केटा पक्षले सम्बन्ध विच्छेद गर्न खोजेको थियो।यो मुद्दा अदालतमा जारी नै होला,’ उनले भने ‘अहिले केटीले जबरजस्ती करणीमा मुद्दा हालेकी छन्।मुद्दा चलेर अहिले केटा धरौटीमा रिहा भएको काकीले बताए।

आदर्श नारी गृहकी अध्यक्ष तथा महिला अधिकारकर्मी मिना खरेल निसन्तान कै कारण हिंसामा परेर आफू कहाँ आउने महिलाहरु थुप्रै रहेका बताउँछिन्।निसन्तान हुँदा परिवारमा अशान्ति छ।मानसिक तनाव उत्तिकै छ, उनले भनिन्, यस्ता समस्या सुनाउने महिलाहरु थुप्रै हुनुहुन्छ ।’ उनले समाजमा हिंसा न्यूनीकरण गर्न शिशु फर्टिलिटी जस्ता क्लिनको आवश्यक रहेको उनले बताइन्।

निसन्तान महिला र पुरुष दुवैको कारणले भए पनि महिलाले बढी हिंसा खेप्दै आएका छन्।नेपालमा अहिले यस्को समस्या बढ्दै गएको डाक्टर शुनिलमुना कर्मीले बताइन्।ढिलो विवाह र युवाहरू वैदेशिक रोजगारी जाने प्रचलनका कारण निःसन्तानको समस्या जटिल बन्दै गएको उनले दाबी गरिन्।

आफ्नो करियर बनाउने क्रममा उमेर बढ्दै जान्छ।ढिलो विवाह गर्ने भएपछि प्रजनन क्षमता कम हुन्छ।अर्को तर्फ पुरुष दाजुभाइ विदेश जानुहुन्छ।उहाँहरू आउँदा प्राकृतिक रुपमा शुक्रकीट कम हुन्छन्,’ उनले भनिन् ‘प्रजनन क्षमताको उर्भर उमेर पार हुँदा सन्तान हुने सम्भावना कम हुन्छ ।’ उनका अनुसार, महिलाको प्रजनन क्षमताको उर्भर समय १९ वर्षदेखि २६ र पुरुषको ३० बर्षभन्दा अगाडि हो। 

प्रकाशित: २८ आश्विन २०८० १४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App