१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चीनबाट दैनिक ४ करोड मूल्यका फलफूल आयात

चीनबाट नेपाल आयात हुने फलफूलमा धेरैलाई स्याउको नाम मात्र थाहा छ।तर तपाईँ, हामीले अहिले बजारबाट किनेर खाइरहेको अम्बा, नासपाती, किबी, लिची, हलुवाबेद, आँपलगायत फलफूल नेपाली माटोमा उत्पादन भएका नभई चीनमै फलेको हो भन्नेमा ढुक्क हुनुहोस् ।  

उत्तरको प्रमुख नाका तातोपानी भएर पछिल्लो दुई सातायता हामै्र खेतबारी र भिरपाखामा फलेको जस्तो लाग्ने सामान्य भन्दा सामान्य चिनियाँ फलफूल आयात भइरहेका छन् । ‘यो पटक त अचम्मै भयो ! कहिल्यै नआउने सामान्यभन्दा सामान्य फलफूल पनि चीनबाट आयात भइरहेको छ,’ तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख दयानन्द केसीले नागरिकसँग भने ।

उनका अनुसार असोज १५ गतेदेखि दसैँ, तिहार, छडलगायत चाडबाड लक्षित फलफूलको आयात बढेको हो । चाडबाड मुखैमा आइपुगेकाले यसको आयात दिनहूँ बढ्दो छ। ‘अहिले ४ करोड रुपैयाँ बराबरको त चिनियाँ फलफूल मात्रै दैनिक यो नाकाबाट आयात भइरहेको छ,’ केसीले भने। स्याउ, अंगुर, ड्रागन फ्रुट्स, अनार, नासपाती, सुन्तला, किबी, अम्बा, ओखर, हलुवाबेद, लिचीलगायत एक दर्जनभन्दा बढी किसिमका चिनियाँ फलफूल आयात भइरहेको भन्सारको तथ्यांक छ।

धेरै मात्रामा स्याउ र केही परीणाममा अनार र अंगुर बिगतदेखि नै आयात भइरहे पनि अरु चिनियाँ फलफूल भने यसपटकदेखि भित्रिन थालेको भन्सार प्रमुख केसी बताउँछन् । ‘हेर्नुस न अब त अम्बा, लिची, हलुवाबेद, सुन्तला पनि उतै (चीन) बाट आउन थाल्यो,’ अचम्म मान्दै उनले भने।भन्सार तथ्यांकमा दैनिक आयात भइरहेका फलफूलमध्ये ६० प्रतिशत हिस्सा चिनियाँ स्याउले ओगटेको छ । आयातित स्याउमा फुजी र स्थानीय जातका छन्।  

भूकम्पपछि लामो समय नाका ठप्प प्रायः रह्यो । चीनले अटेरी गर्दै क्रमशः आयात, निर्यातसँगै तेस्रो चरणमा खुकुलो नीतिसाथ गत भदौ १५ गतेदेखि मानवीय आवागमन खुलाएपछि तातोपानीमा व्यापारिक गतिविधि बढ्दो छ । त्यसयता आयात व्यापारमा पनि बृद्धि आइरहेको छ।  

भन्सार तथ्यांकअनुसार अहिले दैनिक २० चिनियाँ कन्टेनर (४० फिटे) सामाग्री नाकामा आइरहेका छन् । ‘त्यसमा फलफूलको आयात १५–१६ कन्नेटर हुने गरेको छ,’ प्रमुख केसीले जानकारी दिए । चिनियाँ एक कन्टेनर सामाग्री बराबर दुई नेपाली कन्टेनर हुन्छ।बिगतमा तातोपानी धेरै चिनियाँ तयारी पोशाक र लत्ताकपडा आयात हुने नाकाको रुपमा चिनिन्थ्यो। भूकम्पको केही वर्ष अघिदेखि चिनियाँ लसुन, प्याज जस्ता सीमित प्रकारका कृषिजन्य उत्पादन आयात हुन थालेका थिए।

तथ्यांकले क्रमशः चिनियाँ कृषि उत्पादनले नेपाली बजार बढाउँदै लगेको देखाउँछ । यो नाका भएर हाल आयात भइरहेका तरकारी र फलफूल बिगतमा नेपाल भएर चीन निर्यात हुन्थ्यो। चिनियाँ कृषि उत्पादनले नेपाली बजारमा पहूँच बढाउँदै लैजानुलाई नेपाली व्यवसायी बढ्दो विदेश पलायन र परनिर्भरताको पराकाष्ठाको रुपमा बुझ्नु पर्ने बताउँछन्। 

प्रकाशित: २८ आश्विन २०८० १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App