१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सशस्त्र प्रहरी बल नेपालमा युनिट सरुवाको सुरुवात

सशस्त्र प्रहरी बल नेपालले युनिट सरुवाको सुरुवात गरेको छ। पहिलो पटक सशस्त्र प्रहरी वल नेपाल नं. १५ गण काभ्रेको ‘क’ गुल्म र नं.७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नंं. ३ गढीमाई वाहिनी मुख्यालय मकवानपुर अन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नं. १५ गणको ‘क’ गुल्म आश्रीत गुल्मको रुपमा सिन्धुली जिल्लामा तैनाथ  थियो भने नंं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी अन्तर्गत सिरहा जिल्लाको नं. ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा मातहत ३ वटा बिओपी सहित तैनाथ  थियो।  

सशस्त्र प्रहरी बल नेपालको संगठनभित्र बाहिनी, गण, गुल्म र प्लाटुन लगायतका संरचना रहेका छन्। हाल काभ्रे र सिरहाका गण मातहत गुल्म तहको परस्पर सरुवा गरेता पनि भविष्यमा गण तहका इकाईहरुको समेत सरुवा गरिने योजना रहेको  सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

इकाईगत अवधारणालाई प्रभावकारी बनाउन अर्धसैनिक फौज सशस्त्र प्रहरी बल नेपालका प्रत्येक इकाईहरुको आ–आफ्नै आदर्श वाक्य समेत तय गरिएको छ। जसले गर्दा इकाईमा कार्यरत कर्मचारीहरुको आफ्नो इकाईप्रति गौरवको भावना विकास हुने र सामुहिकताको भावना जागृत हुने समेत संगठनले विश्वास लिइएको सह  प्रबक्ता थापाले बताए।

इकाईगत रूपमा सरूवा गर्दा सो इकाईमा कार्यरत कर्मचारीहरुमा एकता, भातृत्व तथा भागिनत्व प्रगाढ हुने, एक अर्काको बारेमा सम्पूर्ण जानकारी अध्यावधिक हुने, आदेशको श्रृखंला अझ प्रभावकारी रुपमा विकास हुने तथा इकाईप्रतिको अपनत्व अभिबृद्धि भई सकारात्मक सोच र सहयोगात्मक भावनाको विकास हुने तथा इकाई सरुवा गर्दा फौजी अनुशासन र आचरणको समेत पालना हुने संगठनको विश्वास रहेको छ।  

यसरी इकाईगत सरुवा गर्दा व्यक्तिगत रूपमा काजमा बस्ने, अन्य इकाईमा सरुवा जान चाहने र कुनै व्यक्ति विभिन्न कारणले एकै स्थानमा लामो समयसम्म बस्ने प्रवृत्तिको अन्त्य हुनेछ। त्यसैगरी सीमा ईलाकामा लामो समयसम्म एउटै स्थानमा फौज कार्यरत रहेको कारणले आउने गुनासाहरू पनि बन्द हुने संगठले अपेक्षा गरेको छ।  

यसअघि सशस्त्र प्रहरी बल नेपालले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकुल कार्यालयमा काज कार्यरत रहने प्रबृत्तिलाई निरुत्साहित गर्ने गरी काज सम्बन्धी नयाँ मापदण्ड तयार पारी लागू गरिसकेको छ। मापदण्ड अनुसार वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरुले अधिकतम ६ महिना अवधिको लागि आफुलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिनसक्ने र उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ।  

काज स्वीकृत भएका कर्मचारीहरुले ६ महिनाभन्दा बढि काज बस्नको लागि कबुलियतनामाको फारम भरी दस्तखत गर्नुपर्ने तथा कबुलियतनामा उल्लेख भए अनुसारको सर्तनामा स्वीकृत भएको ६ महिना काज सुविधा उपयोग गरिसके पश्चात लागु हुने छ।

६ महिना काज सुविधा पश्चात कर्मचारी सम्बन्धित दरबन्दीमा अनिवार्य रुपमा हाजिर हुनुपर्ने छ। सशस्त्र प्रहरी बल नेपालको युनिट सरुवाको नीतिले समस्या दर्शाई काज बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समेत टेवा पुर्याउने छ।

प्रकाशित: २६ आश्विन २०८० ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App