२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। कपिलवस्तु प्रहरीले यात्रुको बढी आवतजावत हुने क्षेत्र सीमानाका बजारमा तीन र अन्य चार स्थानमा कक्ष स्थापना गरेको हो।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा क्षेत्रहरू कृष्णनगर, मर्यादपुर र चाकरचाडा तथा सदरमुकाम तौलिहवा, चन्द्रौटा, गोरुसिंग र पिपरामा कक्ष स्थापना गरिएको प्रजिअ शंकरहरि आचार्यले बताए।

‘यात्रुहरूको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले कक्ष स्थापना गरिएको हो,’ उनले भने। सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्‍याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको निगरानी गरिने प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। यससँगै संवेदनशील स्थानमा थप जनशक्ति परिचालन गरी विशेष चेकजाँचको व्यवस्था मिलाई यात्रुलाई पर्न सक्ने विभिन्न समस्या समाधान गरिने उनले बताए।

यात्रुको यात्रा सहज बनाउन र गुनासो सुन्न कक्ष सञ्चालनमा ल्याइएको उनले बताए। नजिकिँदै गरेको दसैं–तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी गत शनिबारदेखि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो। समस्यामा परेको चालक र यात्रुहरूलाई यही कक्षबाट सेवा दिइनेछ।

यात्रा गरिरहँदा चोरी भएमा सवारीसाधनले वृद्धवृद्धा, महिला, अपांगता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाइ गरेमा जस्ता समस्या समाधान गर्न यात्रुसहायता कक्षाले सहयोग पुर्‍याउने पौडेलले बताए।

‘हामी सबैको चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ भन्ने मूल नाराका साथ यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो। यात्रुलाई ठगिनबाट जोगाउन र सहज तथा सुरक्षित यात्राको साथ गन्तव्यमा पुग्न सहयोग पुर्‍याउने र यात्रुको चापलाई ध्यानमा राखी ओरभरलोड, बढी भाडा असुली र मध्यपान गरी सवारीसाधन नचलाउन तथा यात्रुलाई सार्वजनिक यात्रामा पर्ने समस्या न्यूनीकरण गर्नका लागि कक्ष सञ्चालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले दसैं–तिहार, छठ विशेष सुरक्षा योजना शनिबारदेखि सुरु गरेको छ। ‘दसैं–तिहारमा यात्रु सहायता कक्षलगायत अन्य विभिन्न क्षेत्रमा प्रहरीलाई परिचालन गरिने बताएको छ। त्यससँगै प्रहरीले सेफ्टी पिन कार्यक्रम पनि सञ्चालन गरेको छ। साथै नजिकिँदै गरेको दसैं–तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गरी कपिलवस्तु जिल्लामा एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट पनि जिल्लाको विभिन्न स्थान तथा राजमार्गका ठाउँमा सुरक्षा गस्ती बढाइएको प्रहरी नायक उपरीक्षक गंगाबहादुर थापाले बताए।

दसैंका बेला भारतबाट नेपाल फर्किने क्रममा भारतमा समेत हुने लुटका घटनालाई ध्यानमा राखी भारतीय सुरक्षाकर्मीसँग समन्वय गरिएको प्रजिअ आचार्यले बताए।

प्रकाशित: २६ आश्विन २०८० ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App