४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

गोदाममै थन्कियो बाढीपीडितको राहत

काठमाडौं– जापान सरकारले तराईका बाढी पीडितका लागि उपलब्ध गराएको राहत सामग्री गोदाममै थन्किएको छ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता कारण देखाउँदै राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा थन्क्याएको हो।

दुई करोड ३४ लाख रुपैयाँ बराबरको राहत सामग्री गत भदौमा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका थिए । जापान सरकारद्वारा उपलब्ध गराइएको सो सामग्रीमा तीन हजार थान ब्ल्याङकेट, एक सय रोल प्लास्टिक सिट, दुई हजार थान स्लिपिङ व्याग, एक सयवटा टेन्ट र तीन हजार दुई सय लिटरका १० थान पानीट्यांकी छन् । जाइका नेपालले उक्त सामग्री विमानस्थलमा आएलगत्तै गृह मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । तर सामग्री आएको तीन महिना बित्न लाग्दासमेत पीडितको हातमा पुग्न सकेको छैन।

राहत सामग्री वितरण नभएपछि नेपालस्थित जापान सहयोग नियोग (जाइका)ले गृहलाई पत्र लेखी सोबारे जानकारी लिएको थियो । सोको जवाफमा गृहले सामग्री आएलगत्तै स्थानीय तहको निर्वाचन आचारसंहिता लागू भएको, त्यसपछि चाडपर्व बिदाका कारण वितरणमा समस्या भएको तथा पुनः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भएको जानकारी दिएको जाइकाका एक अधिकारीले बताए।

गृहका उपसचिव कृष्णबहादुर राउतले पनि निर्वाचन आचारसंहिता र चाडवाडकै कारण राहत सामग्री वितरण गर्न नसकिएको बताए । निर्वाचन सकेलगत्तै सामग्री प्रभावितलाई वितरण गरिने उनको भनाइ छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले चुनावलाई प्रभावित पार्ने र मतदातालाई आकर्षित गर्ने गरी राहत सामग्री वितरण गर्न नमिल्ने भए पनि तत्काल अत्यावश्यक सामग्री हस्तान्तरणमा आचारसंहिता नलाग्ने बताए । तत्काल वितरण गर्नुपर्ने भएमा आयोगसँग सहमति लिई वितरण गर्न सकिने उनले बताए।

प्रकाशित: २० कार्तिक २०७४ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App