१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मन्त्रीसहितको टोली इजरायलका लागि प्रस्थान, आफ्ना नागरिकलाई लिएर भोलि फर्किने

परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली इजरायलका लागि प्रस्थान गरेको छ। नेपाल एयरलाइन्सको वाइडवडी विमानमा मन्त्री साउदसहितको टोली आज बिहान मात्रै इजरायलका लागि प्रस्थान गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता एवं उपनिर्देशक जगननाथ निरौलाले इजरायलमा फसेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्री साउदसहितको टोली आज बिहान ३ बजे दुबई हुँदै इजरायलका लागि प्रस्थान गरेको नागरिक न्युजलाई बताए।

उनले दुबई ट्रान्जिट भएका कारण ७/८ घन्टा इजरायल पुग्न लाग्ने र भोलि बेलुकासम्म मात्रै टोली नेपाल फर्किने बताए।  

हिमालयन एयरलाइन्सको विमान पनि पठाउने सरकारको तयारी भएपनि अहिले तत्काललाई नेपाल एयरलाइन्सको वाइडबडी विमान मात्रै पठाइएको पनि उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत विभिन्न निकायले सरकारलाई इजरायलमा फसेका नेपालीहरूको तत्काल उद्धार गरेर स्वदेश फर्काउन निर्देशन र आग्रह गरेपछि परराष्ट्र मन्त्रीसहितको टोली गयराति त्यसतर्फ गएको हो।

चार हजार पाँच सय नेपाली रहेको इजरायलबाट सुरुमा विद्यार्थीलाई प्राथमिकतामा राखेर सरकारले उद्धार गर्न लागेको हो। अहिलेसम्म २ सय ८८ जना नेपालीले स्वदेश फर्कन चाहेको जानकारी मन्त्रालयले दिएको छ।  

बुधवार पत्रकार सम्मेलन गरी इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै मृत्यु भएका १० जना नेपालीहरू शव नेपाल ल्याइने जानकारी गराएका कारण शव ल्याउन केही समय लाग्ने बताएको छ।  

‘सबै शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रूपमा राखिएको छ। शव यथाशीघ्र ल्याउनेगरी हामीले समन्वय र सहकार्य गरिरहेका छौं,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘इजरायल सरकारबाट शव हस्तान्तरण प्रक्रिया सकिनासाथ उच्च प्राथमिकताका साथ नेपाल ल्याइनेछ।’

इजरायलमा अहिले पनि युद्ध चलिरहेको जनाउँदै प्रवक्ता लम्सालले पोस्टमार्टमसहितका प्रक्रिया पूरा गरेपछि मात्र त्यहाँको सरकारले शव हस्तान्तरण गर्ने जानकारी दिइन्। ‘शव हस्तान्तरणका लागि त्यहाँको सरकारले विभिन्न प्रोटोकल पूरा गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘त्यसपछि हामी शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्नेछौं। त्यसका लागि परिवारजनलाई धैर्यधारणा गर्न अनुरोध गर्छु।’

प्रकाशित: २५ आश्विन २०८० ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App