१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

म मरे पनि न्याय नमरोस्: भारती

‘म मरे पनि न्याय नमरोस्’, पति चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आम माफी दिने सरकारको निर्णयविरुद्ध संघर्षरत भारती मानन्धरले मंगलबार माइतीघरमा भनिन्, ‘न्याय पाउने आशा अझै मरेको छैन ।’  

न्यायका लागि नेपालगन्जबाट काठमाडौं आएकी उनी अघिल्लो बुधबारदेखि माइतीघरमा रिले अनशनमा छिन् । न्यायको खोजीमा रहेकी उनले माइतीघरमा आउँदा केही आत्मबल बढेको बताइन् । ‘कति बेला के हुन्छ मलाई थाहा छैन,’ उनले भनिन्, ‘तर मलाई जतिसक्दो चाँडो न्याय चाहिएको छ ।’ अनशन सुरु गरेको पहिलो दिन बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी उनलाई बेहोश भएपछि वीर अस्पताल लगिएको थियो । तारिख लिएर फर्किने क्रममा उनी सर्वोच्च अदालतपरिसरमा ढलेकी थिइन् ।

उनका पति चेतनलाई रिगल ढकालसहित १५ जनाको समूहले २०७२ साल असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोक नजिक खुँडा हानेर हत्या गरेको थियो । हत्याको एक महिनापछि भदौ ७ गते ढकालले अदालतमा आत्मसमर्पण गरेका थिए । हत्यामा संलग्न भएको आरोपमा ढकालसहितलाई कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । बाँके जिल्ला अदालतले हत्यामा संलग्न १३ जनामध्ये ढकाल, प्रेमध्वज खत्री (प्रशान्त गौतम), छविलाल बस्नेत (विशाल), मोहनलाल खड्का (नवराज खत्री)लाई सर्वस्वसहित जन्मकैद सजायको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाअनुसार सजाय भोगिरहेका ढकाललाई संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफी मिनाहा दिएका थिए । ‘आफन्तले यो खबर सुनाउँदा छाँगाबाट खसेझंै भएँ,’ भारतीले भनिन्, ‘आठ वर्षपछि ममाथि फेरि बज्रपात भएको महसुस भयो ।’ कैद मिनाहको विरोधमा उनी न्याय माग्न काठमाडौं आएकी हुन् ।  

न्यायका लागि संघर्ष गर्दा केही सञ्चारमाध्यमले चरित्र हत्या गर्न खोजेको भन्दै उनले दुःख व्यक्त गरिन् । केही सञ्चारमाध्यमविरुद्ध त उनले मंगलबार प्रेस काउन्सिलमा पुगेर उजुरी दिएकी छिन् । ‘मलाई न्यान दिलाउन सहयोग नगर्नेले कम्तीमा असहयोग पनि नगरिदिनु होला,’ उनले भनिन्, ‘अनगिन्ती पीडाबाट गुज्रिरहेकी म सबैसँग कसरी लड्न सकुँला ।’  

न्यायका लागि उनी घरी अदालत त घरी माइतीघर पुग्छिन् । ‘यीबाहेक मैले जाने ठाउँ अरू छैन,’ उनी भन्छिन्, ‘म कमजोर भए पनि यिनले साथ दिने विश्वास छ ।’ माइतीघरमै बुधबार न्यायका लागि शान्तिपूर्ण ¥याली हुने उनले सुनाइन् ।  

उनले सरकारसँगभन्दा पनि माफी सिफारिस निर्णय सदर गर्ने राष्ट्रपतिको कदमबाट आफ्नो चित्त कुँडिएको बताइन् । राष्ट्रपति मुलुकको अभिभावक भए पनि कसैको घरको अभिभावक मार्नेलाई माफी दिने हक नभएको उनको जिकिर छ । । ‘यत्तिको परिपक्व मान्छेले माफी दिनुअघि एकपटक हाम्रो परिवारको बारेमा पनि सोच्नु पथ्र्यो,’ उनले भनिन्, ‘हत्याराले जेलबाट छुटेर अविरजात्रा निकालेपछि हामी झनै त्रसित भएका छौं ।’  

उनलाई न्यायालयबाट न्याय पाइने आशा छ । अदालतले समेत यस विषयमा चासो देखाएकाले आफू आशावादी भएको उनले सुनाइन् । सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्म कैदको सजाय भोगिरहेका ढकाललाई आम माफी मिनाह दिएको विषयमा कानुनी जटिलता देखाउँदै कारण मागेपछि उनी आशावादी भएकी हुन् । 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले के कारणले कैद माफी मिनाहा गरेको हो भन्ने विषयमा बिहीबार सरकारलाई कारण देखाऊ आदेश जारी गरिसकेको छ । उनले माफी मिनाहा बदर माग गर्दै यही असोज १४ गत रिट दर्ता गरेकी थिइन् । सोही रिटमा सुनुवाइपछि इजलासले ढकाललाई आम माफी दिनुको कारण सरकारसँग सोधेको हो । इजलासले कानुनी प्रश्नको जटिलता र महŒवलाई ध्यानमा राखेर यसलाई पूर्ण इजलासमा पेस गर्न पनि आदेश दिएको छ । 

अदालतले माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल विवरण असोज २४ गतेभित्र अदालतमा पेस गर्न पनि सरकारलाई आदेश दिएको छ । ढकालविरुद्ध नेपाल सरकार वादी मुद्दामा सर्वोच्च अदालतबाट भएको मुद्दा फिर्तासम्बन्धी आदेशसहितको मिसिलसमेत पेस गर्न आदेश भएको छ । ढकालले सर्वोच्च अदालतमा सजाय कम गर्न माग गर्दै पुनरावेदन निवेदन दिएका थिए । 

प्रकाशित: २४ आश्विन २०८० ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App