१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दशैंको टिकट बुकिङमा हानाथाप

यातायात व्यवसायीले सोमबारदेखि दशैंको लागि टिकट बुकिङ खुलाएका छन्। व्यवसायीले टिकट बुकिङ खुला गरेसँगै मंगलबार सबेरैदेखि गोंगबुस्थित लोत्से बहुउद्देश्यीय कम्पनीले सञ्चालन गर्दै आएको नयाँबसपार्कमा टिकट बुकिङ गर्न सर्वसाधारणको घुइँचो लाग्यो। सर्वसाधारणको अत्यधिक भीडले टिकट काट्ने स्थानमा हानाथाप भइरहेको दृश्य पनि देखिन्थ्यो।

सोमबार नयाँबसपार्कमा टिकट बुकिङ गर्न गएका अमर बडुवालले पनि निकै सास्ती खेप्नुपरेको गुनासो सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेका छन्। ‘म त्यो देशको नागरिक हुँ, जहाँ बसको टिकट लिन दुई दिनसम्म लाइन लाग्नुपर्छ। करिब १५ घण्टा भोकभोकै उभिएपछि टिकट पाइयो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै भनेका छन्, ‘अब फेरि दुई दिन (कम्तीमा २४ देखि २८ घण्टा) यात्रा गरेपछि आफ्नो देश (सुदूरपश्चिम) पुगिन्छ। सबैको जय होस।’ उनी मात्रै होइन्, बिहान सबेरै टिकट काट्न गएका धेरैजसो यात्रुले सहजै टिकट बुकिङ गर्न सकेका छैनन्।

लामो दूरीका सार्वजनिक सवारी साधनको टिकट काट्ने यात्रुको भीडभाड देखिन्थ्यो। आधिकारिक रूपमा नयाँबसपार्कमा टिकट काट्ने व्यवस्था भए पनि अन्य स्थानमासमेत सार्वजनिक बसको टिकट काट्ने क्रम चलिरहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले आइतबारदेखि लामो र मध्यम दूरीको गन्तब्यको बसको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको बताए।

‘बिहान सबेरैदेखि सर्वसाधारण अग्रिम टिकट बुकिङको लागि आइरहनुभएको छ,’ उनले भने, ‘हामीले पनि व्यवस्थित ढंगले अग्रिम टिकट बुकिङ गर्ने व्यवस्था गरिरहेका छौं।’ सर्वसाधारणले भने अग्रिम टिकट बुकिङ खुल्ला भएको दिन पनि भनेजस्तो टिकट नपाइरहेको गुनासो गरिरहेका छन्।  

महासंघका अध्यक्ष स्वाँरले सबै व्यक्तिले अगाडिको सिट मात्र खोज्ने प्रवृत्ति देखिएको बताए। ‘हामीले सबैलाई अगाडिको सिट मात्रै कहाँ उपलब्ध गराउन सक्छौ र?’ उनले भने, ‘एउटा बसको सबै टिकट बुकिङ सकिएसँगै अर्काे बसको टिकट बुकिङ खुल्ला गर्ने गर्छाैं। यातायात व्यवसायीका अनुसार यो वर्ष दशैं मनाउन १० देखि १६ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। अहिले दैनिक एक हजारको हाराहारीमा सार्वजनिक बस चल्दै आइरहेका छन् तर दशैंमा भने २÷३ हजार सार्वजनिक बस सञ्चालनमा आउने बताइएको छ।

असोज १९ गते बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि सार्वजनिक यातायातको टिकङ बुकिङ खुला गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सोमबारदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुला गरिएको हो। केही यातायात व्यवसायीहरूले टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङको सेवा पनि सञ्चालनमा ल्याएका छन्। धेरैजसो यात्रु भने नयाँबसपार्क पुगेरै टिकट बुकिङ गर्ने काम गरिरहेका छन्।

टिकट बुकिङका क्रममा अनियमितता हुन नदिन उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारी साधनहरूको संघसंस्था, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि, उपभोक्ता सम्बद्ध संस्थाका पतिनिधिसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने÷गराउने व्यवस्था पनि गरिएको छ। यातायात व्यवसायीले पनि अनधिकृत काउन्टर, परिचय पत्र, पेशाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया नियन्त्रण गर्ने÷गराउने गरी काम गर्दै आइरहेका छन्। सडक विभागले पनि राजमार्गका मुख्य सडकलाई मर्मत÷संभार गरी यातायात सञ्चालनलाई सहजीकरण गर्ने भएको छ। यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरू असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि भएको छ।

यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गर्ने निर्णय भइसकेको छ। कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीहरूलाई भने सो बन्देज कायमै रहने जनाइएको छ।

प्रकाशित: २३ आश्विन २०८० ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App