स्कुसको भारत निर्यात खुला भएको तीन महिनाभन्दा बढी भयो। तर, उत्पादनको मुख्य सिजनमा माग र बजारभाउ उच्च भएका कारण छिमेकी भारतीय बजारमा स्कुस पुर्याउन समस्या भइरहेको छ। जसका कराण आन्तरिक बजारमा बेच्दा लगानी उठाउनै मुस्किल हुन थालेको छ।
अन्य बालीसमेत मासेर बारीभरि स्कुस लगाएका किसानलाई बेच्ने बेला निर्यातमा समस्या भएको हो। सीमाक्षेत्रका केही किसानले अहिले आक्कलझुक्कल राम्रै मूल्य पाइरहेका छन् तर धेरैजसो किसानले स्कुसको मूल्य लिन सकेका छैनन्। सीमाक्षेत्रका धेरैजसो किसान आफैंले भारतीय बजारमा स्कुस लैजान नसक्दा व्यापारीलाई उनीहरूले तोकेकै मूल्यमा मात्र बेच्न बाध्य छन्। किसानले उत्पादन गरेको ठूलो परिमाणको स्कुस झापाका बजारमा बिक्री हुन्छ तर किसानको हातमा पर्ने मूल्य भने ज्यादै कम छ।
सूर्याेदय नगरपालिकाका दर्जनौं गाउँमा ठूलो मात्रामा तरकारी उत्पादन बिक्री हुन्छ। भारतसँग जोडिएको सूर्याेदयका गाउँबाट तरकारीमध्ये पनि स्कुस सबैभन्दा बढी बिक्री हुनेगरेको तथ्याङ्क छ। यहाँ उत्पादित तरकारी पशुपतिनगर नाका हुँदै भारत निर्यात हुन्छ भने यहाँको तरकारीका लागि नेपालतिरको सबैभन्दा ठूलो बजार झापा बिर्तामोड हो। भारतको पर्यटकीय सहर दार्जिलिङ पशुपतिनगरबाट करिब ३५ किलोमिटरमै रहेकाले पनि नेपाली तरकारीको माग र मूल्य भारतीय बजारपट्टि नै धेरै छ।
सीमावर्ती गाउँ पशुपतिनगरको अर्थेटारका किसान सोमप्रसाद घिमिरे एक पटकमा एक सय ३० कट्टा (प्रतिकट्टा करिब ५० किलो) सम्म स्कुस बेचिरहेका छन्। व्यापारीले घरमै आएर स्कुस किनेर लैजाने गरेका छन्। ‘जेठ अन्तिम सातादेखि अहिलेसम्म १२ पटक बेचिसकें,’ उनले भने, ‘हामी आफैंले भारतीय बजार पुर्याएर बेच्न पाउने हो भने निकै राम्रो आम्दानी हुन्छ तर बिक्री सहज नभएकाले भारतीय व्यापारीलाई बेच्नुपर्छ।’ उनले गतवर्ष प्रतिकिलो १८ देखि २० रुपैयाँले बेचेको स्कुस यो साल सातदेखि १४ रुपैयाँले मात्र बेच्नुपरेको बताए। ‘पोहोर भारतीय बजारमा बेच्न सजिलै थियो, यो पटक निकै गाह्रो भयो, केही दिनदेखि अलि सहज चाहिँ भएको छ,’ उनले भने, ‘भारत निर्यात सहज हुँदा यसबाट आम्दानी राम्रो हुन्छ।’
घिमिरेले पोहोर करिब तीन लाख ६० हजार रुपैयाँको स्कुस बेचेका थिए। उनले पोहोरकै आम्दानी सम्झेर यो वर्ष स्कुस रोपेको क्षेत्र बढाए। फल पनि राम्रो भयो तर मूल्य थोरै। ‘मूल्य थोरै भएपनि यो वर्ष आम्दानी चाहिँ पाँच लाख पुग्ने अनुमान छ,’ उनले भने, ‘उत्पादन यो वर्ष राम्रो छ।’ घिमिरेले वर्षमा कम्तीमा एक लाख रुपैयाँको जरा र ३० हजार रुपैयाँ हाराहारीको टुप्पा (मुन्टा) बेच्नेगरेको बताए। स्कुसको डाँठ र पातसमेत पशुलाई घाँस हुन्छ भने यसको पात माछाको आहारसमेत मानिन्छ। ‘मैले १३ वर्षयता स्कुसको व्यावसायिक खेती गरेको छु, पोहोरसम्म विक्री राम्रै थियो, यहाँका धेरै किसानले उत्पादन पनि बढाए,’ उनले भने, ‘तर, भारत निर्यात सजिलो नभएकै कारण यो पटक भाउ धेरै घट्यो।’
यहीँका अर्का किसान विष्णु तामाङले भारत निर्यात असहज हुँदा नेपाली बजारमा स्कुसको मूल्य एक तिहाईभन्दा कम हुने बताए। ‘भारतीय बजारमा बेच्ने व्यापारीले स्कुसको मूल्य प्रतिकिलो १४ भारतीय रुपैयाँ दिँदा नेपालपट्टिका बजारमा बेच्ने व्यापारीले तीन रुपैयाँ दिन्छन्,’ उनले भने, ‘यो वर्ष पशुपतिनगरबाट स्कुस निर्यात निकै सकस भएका कारण मूल्य कम भएको छ।’
सूर्याेदय ११ का किसान डिल्लीराम खतिवडाले केही वर्षअघिसम्म स्कुस बेचेरै वर्षमा साढे तीन लाख रुपैयाँसम्म कमाए। त्यतिबेला सातामै दुई सय ८४ कट्टासम्म स्कुस बेच्ने किसान हुन् थिए उनी। ‘केही वर्षअघिसम्म स्कुसको मूल्य पनि प्रतिकट्टा तीन सय रुपैयाँसम्म हुन्थ्यो,’ उनले भने, ‘यो वर्ष चाहिँ कट्टाको डेढ–दुई सयले पनि बिक्न गाह्रो परिरहेको छ।’
खतिवडाले यो वर्ष करिब ४५ मन (प्रतिमन ४० किलो) स्कुस बेचिसकेका छन्। ‘यो वर्ष भाउ नभएकाले लगानी उठाउन धौधौ होलाजस्तो छ,’ उनले भने, ‘अहिलेको लगानीअनुसार स्कुस प्रतिकट्टा तीन सयदेखि पाँच सय रुपैयाँले बेच्दामात्र लगानी उठ्छ। आम्दानी घटेपछि खेती पनि घटाएको छु।’ उनले भारतीय बजार असहज भएका कारण नेपाली बजारको भर पर्नुपर्दा भाउ पाउन नसकेको गुनासो गरे। स्कुसको जरा चाहिँ प्रतिकिलो ५० देखि डेढ सय रुपैयाँसम्मले बिक्री हुन्छ। यसको मुन्टा बेचेर उनले वर्षमा १० हजार रुपैयाँसम्म आम्दानी भएको सुनाए।
भारतीय बजारमा स्कुस बेच्न निकै समस्या पर्नेगरेको व्यापारी बताउँछन्। नौ जनाभन्दा बढी व्यापारीले यहाँको स्कुस भारतीय बजार पु¥याउने गरेका छन्। पशुपतिनगर नाकाबाट दिनहुँ १५ वटासम्म पिकअपले यहाँको इस्कुस भारतीय बजार लैजाने गरेको व्यापारी मणि तामाङले बताए। ‘एक पिकअपमा ५० कट्टासम्म स्कुस लैजान सकिन्छ,’ उनले भने, ‘तर, यहाँबाट निकासी गर्न एकदमै जटिल छ। ठूलो जोखिम मोलेरमात्र निर्यात गर्न सकिएको छ।’
दार्जिलिङलगायत भारतीय बजारमा स्कुसको माग धेरै छ। ‘भारतीय बजारको तुलनामा नेपाली बजारमा स्कुसको माग र मूल्य एक तिहाई पनि छैन,’ व्यापारी तामाङले भने, ‘केही दिनअघि व्यापारी, स्थानीय अगुवा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीचको छलफलपछि मात्र निर्यात केही सहज भएको हो।’ एसएसबीले अनेक बहानामा नेपाली स्कुस भारत लैजान अवरोध गर्नेगरेको व्यापारीको गुनासो छ।
सूर्याेदय नगरपालिका–२ का वडाध्यक्ष डिकबहादुुर बम्जन तरकारी र अन्य कृषिउपज बेच्न किसानलाई ठूलो समस्या परिरहेको बताउँछन्। ‘किसानले अधिक मेहनत र लगानी गरेर तरकारी, पशुपन्छी व्यावसायिक रूपमा उत्पादन गर्छन् तर निर्यातमा समस्या छ,’ उनले भने, ‘पशुपतिनगर नाकाबाट निर्यात सहज नभएसम्म किसान र व्यापारीको पनि लगानी नउठ्ने देखिन्छ।’ पशुपतिनगर नाकामा भन्सार कार्यालय छ। तर, भारतपट्टि कस्टम अफिस नहुँदा किसानलाई आफ्ना उत्पादन बेच्न समस्या हुनेगरेको हो।
वर्षाैंदेखि सूर्याेदय नगरपालिकालगायत इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित तरकारी पशुपतिनगर नाकाबाट अवैध ढंगले निर्यात भइरहेको थियो। सूर्याेदय नगरपालिकाको लामो प्रयासपछि गत असारमा संघीय सरकारले प्लान्ट क्वारेन्टाइन रेगुलेसन एन्ड मनिटरिङ सेक्सन र प्लान्ट क्वारेन्टाइन एन्ड पेस्टिसाइड मेनेजमेन्ट सेन्टरसँग स्कुसलाई निर्यातजन्य वस्तुको प्लान्ट क्वारेन्टाइन सूचीमा राखेको छ। त्यसपछि स्कुसको निर्यात खुला भएको छ ।
तर, व्यावहारिक हिसाबले निर्यात सहज नहुँदा किसानले यसको फाइदा लिन नसकेको मेयर रणबहादुर राईले बताए। ‘नगरले चार वर्षदेखि गरेको प्रयास सफल भइ स्कुस प्लान्ट क्वारेन्टाइन सूचीमा पर्यो तर भारतपट्टि कस्टम नहुँदा किसानले फाइदा लिन सकेका छैनन्,’ उनले भने, ‘कम्तीमा अब भारतीय र नेपाली व्यापारीबीच समन्वयमात्रै भयो भने पनि निकासी केही सहज हुन्छ, यसको दिगो समाधान चाहिँ भारतपट्टि कस्टम अफिस स्थापना हुनु नै हो।’ उनले निर्यात सहज हुनेबित्तिकै भारतीय रुपैयाँ सटही र भारु नोट कारोबारसमेत आफसेआफ सहज भएर जाने बताए।
यहाँबाट समस्या भएपछि व्यापारीले इस्कुससहितका तरकारी झापाको काँकडभिट्टा नाकाबाट निर्यात गर्छन्। तर, ढुवानी लागत बढी हुने भन्दै व्यापारीले काँकडभिट्टा प्रयोग गर्न नरुचाएपछि तरकारीले बजार पाउन नसकेको हो। सूर्याेदय उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राईले भारतपट्टि कस्टम अफिस स्थापना नहुँदा कृषिजन्य वस्तु निर्यात हुन नसकेको बताए। ‘सरकारले कूटनीतिक पहल गरी कस्टम अफिस स्थापनामा पहल गर्नुपर्छ,’ उनले भने, ‘पशुपतिनगर पूर्वीपहाडकै एकमात्र सहज नाका भएकाले यसको फाइदा इलामले मात्र लिँदैन, पूर्वीपहाडका सबै जिल्लाले लिनसक्छन्।’
इलाम, पाँचथर र ताप्लेजुङमा बर्सेनि पाँच हजार चार सय मेट्रिक टन स्कुस उत्पादन हुनेगरेकामा इलामको मात्रै हिस्सा तीन हजार नौ सय ७४ मेट्रिक टन छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार इलाममा एक सय ७९ हेक्टरमा स्कुस खेती हुन्छ।
प्रकाशित: २२ आश्विन २०८० ०४:३३ सोमबार