१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

मोरङको सडकमा ‘राडर गन’ सहित ट्राफिक प्रहरी

सवारी साधनको गति नाप्ने यन्त्र ‘राडर गन’सहित ट्राफिक प्रहरी पहिलो पटक मोरङका सडकमा देखिएका छन्। दुर्घटना न्यूनीकरणका लागि ‘राडर गन’को प्रयोग गर्न थालेको मोरङ ट्राफिक कार्यालयले जनाएको छ।

सवारी दुर्घटना हुनु मुख्य कारण तीव्र गतिमा सवारी चलाउनु हो। तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि मोरङ पहिलो पटक ‘राडर गन’को प्रयोग गर्न थालेको बताउँदै, मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले भने, ‘दुर्घटनाको मुख्य कारणमध्ये तीव्र गतिको सवारी पनि हो। गति कम गरेर सवारी चलाउन र दुर्घटनामा कमी आओस् भने ‘राडर गन’को प्रयोगमा ल्याइएका हो।’ मोरङमा पहिलो पटक यन्त्रको परीक्षणमा ल्याएको ट्राफिक प्रमुख न्यौपानेले जानकारी दिए।

पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ। दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन र लागु औषध सेवनको परीक्षण विभिन्न स्थानमा नियमित गरिरहेका छौं, ट्राफिक प्रमुख न्यौपानेले भने, ‘मुख्य सडक र भित्री सडकमा निगरानीका लागि थप उपकरण राडर गनको प्रयोगमा ल्याएका छौं।

विशेष गरेर चाडपर्वमा सार्वजनिक यातायातका साथ निजी यातायातका साधन तीव्र गतिमा चलाउँदा दुर्घटनाको संख्या बढ्ने मात्र नभई ज्यानको समेत क्षति हुन्छ। मानिसहरुको अकालमै ज्यान नजाओस् भनेर ट्राफिक प्रहरीले थप सक्रियता बढाएको मात्र हो।’

सवारीको गति मापन गर्ने यन्त्र ‘राडर गन’को प्रयोग गरेर तीव्र गति नियन्त्रणको प्रयास थालिएको छ। मुख्य सडक तथा भित्री सडकमा ‘राडर गन’बाट निगरानी गर्दा सवारीको तीव्र गति पाइएपछि कारबाही गर्न थालेको ट्राफिक प्रमुख न्यौपानेले बताए।

ट्राफिकले मापसे र लापसेको परीक्षणको दायर बढाएपछि दुर्घटनामा केही कमी आएको छ। पछिल्लो समय दुर्घटनाको मुख्य कारण नै तीव्र गति तथा चालकको लापरबाही हो,’ ट्राफिक प्रमुख न्यौपानेले भने, ‘सवारी साधनको अत्यधिक गति नियन्त्रण गर्न ‘राडर गन’को प्रयोग गर्नुका साथै दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएका छौं।’

मोरङ ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) र राडर गन (तीव्र गति सवारी चलाउनेलाई साउनदेखि असोजको तेस्रो सातासम्म २ सय ७९ जनालाई कारबाही गरेको छ। 

मापसेमा २ सय २८, लापसेमा १७ र राडर गनबाट ३४ जनालाई कारबाही गरिएको छ। साउनदेखि असोज तेस्रो सातासम्म विभिन्न किसिममा गरेको कारबाही ११ लाख ९ सय २९ र कारबाही बापत ७७ लाख ७३ हजार ५ सय रुपैयाँ राजश्व जम्मा भएको मोरङ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०८० १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App