भरतपुर महानगरपालिका–२० स्थित चनौलीमा रहेको मुस्कान मासु पसलले खसीको भनेर बाख्रीको मासु बिक्री गरेको पाइएको छ।
भरतपुर महानगरपालिकाबाट गएको बजार अनुगमन टोलीले आज (बिहीबार) बाख्रीको मासु बेचिरहेको अवस्थामा फेला पारेको हो। करिब १५ किलो बाख्रीको मासु बरामद गरेर वडा अध्यक्षको रोहबरमा नष्ट गरिएको बजार अनुगमन समितिका संयोजक विष्णु भुजेलले जानकारी दिए।

मासुलाई पहेँलो बनाउनको लागि अखाद्य रंग प्रयोग गरेको पाइएको छ। सो रंग पूजाका लागि प्रयोग गरिने संयोजक भुजेलले जानकारी दिए। खसीको भनी बाख्रीको मासु बेच्ने पसलेलाई पहिलो चरणमा सचेत गराएर महानगरमा उपस्थित हुन भनिएको उनले बताए।
भरतपुर महानगरपालिकाले आज पश्चिम चितवनका किराना पसल, मिठाई पसल र मासु पसलमा अनुगमन गरेको थियो। राम्रो देखाउनका लागि मिठाईमा अखाद्यय रंग प्रयोग गरेको भेटिएको बजार अनुगमन समितिका संयोजक गोपाल दराईले जानकारी दिए।

किराना पसलमा विभिन्न कम्पनीका मानव स्वास्थ्यका लागि असर गर्ने अखाद्यय तेल भेटिएको उनले जनाए। उनका अनुसार अनुगमन गरिएका धेरै पसलमा पूजाका लागि प्रयोग गरिने अखाद्यय तेल भेटिएको छ।

आज भरतपुर महानगरले वडा नम्बर-४ को एस फोर मार्ट, मंगलपुरको जेनिशा किराना पसल, सुरोज किराना स्टोर्स, भिमनगरको न्यू विवेक इन्टरप्राइजेज, सिंहदरबार खाजा घर, ओकेन मार्ट, चनौलीको मुस्कान मासु पसल, स्वीट एण्डचाट हाउस, बालाजी स्वीट एण्ड चाट हाउस र सुवेदी किराना स्टोर्समा अनुगमन गरेको थियो।
प्रकाशित: १८ आश्विन २०८० १३:२४ बिहीबार





