१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

मौलानाको शिरमा ढाका टोपी

नेपालगन्जमा सामाजिक तथा धार्मिक सद्भावका लागि मंगलबार बिहान निकालिएको बृहत् सद्भाव र्यालीमा मुस्लिम धर्मका मौलाना अब्दुल जब्बार मन्जुरीको पहिरनमा विविधता झल्किन्थ्यो । उनको शिरमा नेपाली ढाका टोपी थियो भने पोसाक मुस्लिम समुदायकै थियो । उनले हिन्दु र मुस्लिम समुदायबीचको एकता झल्काउन नेपाली ढाका टोली लगाएका थिए । उनीसँगै रहेका अर्का मौलानाले पनि ढाका टोपी पहिरिएका छन् । 

नेपालगन्जमा हुन सक्ने धार्मिक द्वन्द्वको जोखिमलाई मत्थर पार्न र थप सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न र्याली निकालिएको थियो । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का पूर्ववडाध्यक्ष मोहम्मद सफिक बहेनाले पनि हिन्दु–मुस्लिमबीचको मित्रताको सन्देश दिन शिरमा ढाका टोपी लगाए । अर्काको धर्मको सम्मान र हिन्दु समुदायको  

सद्भावका लागि ढाकाटोपी लगाएको मौलानाले जनाएका छन् । ‘मैले ढाका टोपी लगाउँदा मेरो धर्मको अस्तित्व सकिँदैन,’ उनले भने, ‘धर्मप्रतिको सद्भाव अझ बढेर जान्छ ।’ मुस्लिम समुदायले लगाउने टोपीको धार्मिक संस्कार छ । तर सद्भाव र एकताका लागि ढाका टोपी लगाएको मौलाना बताउँछन् ।

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्यालीका कारण उत्पन्न परिस्थिति र ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भएपछिको विवाद समाधान गर्न धर्मगुरु र नागरिक समाजका अगुवाहरूले धार्मिक सद्भावका लागि सकारात्मक पहल गरे । उनीहरूले हिन्दु र मुस्लिम समुदायबीच भेद्भावको वातावरण नभएको र वर्षौंदेखि भाइभाइ बनेर सद्भाव कायम गरी बसिरहेको सन्देश सामाजिक सञ्जालबाट प्रवाह गरिरहेका छन् । हिन्दुहरूको महान् पर्व दसैं र तिहार मुस्लिम समुदायका केही व्यक्तिहरूले समेत मनाउने गरेको स्मरण गर्दै एकअर्काको धर्मलाई सम्मानजनक व्यवहार गरिरहेको बताइरहेका छन् ।  

बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगी र मौलाना मन्जुरी एउटै मोटरसाइकलमा सवारी गरेको भिडियो र तस्बिरलाई पनि सकारात्मक ढंगले सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पहिलोपटक फेसबुकमा राखेको उक्त भिडियो र तस्बिरले यतिबेला हिन्दु र मुस्लिम समुदायबीचको एकता झल्काउन सकारात्मक भूमिका निर्वाह गरिरहेको छ । 

नेपालगन्जका वरिष्ठ पत्रकार सिराज खान भन्छन्, ‘वर्षाैंदेखि मिलेर बसेका छिमेकी र हरेक काममा साथ दिने साथी तथा हरपल हाईहेलो गर्ने अन्य धर्मका प्रियहरूलाई छोड्न सकिन्छ र ? सकिँदैन । त्यसैले सद्भाव कायम राखौं । यसैमा सबैको भलाइ छ ।’ यस्तै नागरिक समाजका अगुवा नमस्कार शाहले धर्मगुरुहरू यसरी मिल्ने, अनि धर्मका नाममा हामी सर्वसाधारण किन लड्ने भन्दै प्रश्न गरे । ‘कुनै पनि धर्मले मारकाट गर्न, अर्काको आस्थामा आघात पुर्याओस् भन्दैन,’ उनले भने, ‘त्यसैले धर्मका नाममा वितृष्णा नफैलाऔं, मित्रता र सद्भाव कायम गरौं ।’  

साथै बुधबार दिउसो बसेको सर्वपक्षीय बैठकले मंगलबारदेखि जारी कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउनेजस्ता कानुनविपरीतका कार्यहरू गर्ने कुनै पनि व्यक्तिहरूलाई तत्काल कानुनबमोजिम कडा कारबाही गरिने उक्त बैठकले निणर्य गरेको छ ।

सामाजिक सद्भाव कायम राख्न र अब उप्रान्त सद्भाव भड्किन नदिने प्रतिबद्धता गर्ने र सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्याली आयोजना गरिने सर्वपक्षीय बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जनाए ।

प्रकाशित: १८ आश्विन २०८० ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App