१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कागबेनी उठाउन हातेमालो गर्ने मुख्यमन्त्रीको आश्वासन

बाढीले क्षति पुर्याएको कागबेनी क्षेत्र अवलोकन गर्दै मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिरः नागरिक

गत साउन २८ मा मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी बजारमा अकल्पनीय बाढीले क्षति पुर्‍यायो। मानवीय क्षति भोग्नु नपरे पनि भौतिक पूर्वाधारमा भने नोक्सान पुग्यो। कागबेनीको बस्ती हुँदै बगेको कागखोलामा भीषण बाढी आउँदा आसपासका घरमा क्षति पुग्यो। धेरै नै पूर्वाधार बाढीको भेलसँगै बगे। नबगेका संरचनामा पनि बाढीले बगाएर ल्याएको ढुंगा, गिट्टी, लेदो भरियो।

बाढीले स्थानीयको घरमा क्षति पुर्‍याएपछि आसपासका छिमेकी मात्र नभई सिङ्गो जिल्लावासी नै राहत र उद्धारमा खटिए। बाढीले नोक्सान पुर्‍याएको कागबेनी क्षेत्रको मुख्यमन्त्री सहितको टिमले निरीक्षण गरेको छ। त्यस अवसरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कागबेनी क्षेत्रको पुनः निर्माणका लागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताए।  

‘प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने र दातृ निकायसँग पनि प्रदेश सरकारले सहकार्य गरेर कागबेनी पुनर्निर्माण गर्नेछ,’ उनले भने। बाढीले कागबेनी क्षेत्रमा ठुलो क्षति पुगेकाले संघीय सरकार र स्थानीय सरकारको सहकार्यमा सबैको सामूहिक प्रयास केन्द्रित गर्दा पुनर्निर्माण सहज र छिटो हुने उनले बताए।

‘प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरिरहेको छ,’ उनले भने, ‘प्राकृतिक विपत्तिसँग हामीले जुध्न सक्दैनौँ तर यसबाट शिक्षा लिएर अबको पुनर्निर्माणमा ध्यान दिनुपर्छ।’ कागबेनी क्षेत्रमा बाढीले भत्काएका सामाजिक तथा व्यक्तिगत संरचना, गुम्बा, धर्मशाला लगायतको मुख्यमन्त्री पाण्डेले स्थलगत निरीक्षण गरेका थिए।  

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार कागबेनीको क्षति निकै नै ठुलो छ। अझै पनि स्थानीयको घरभित्र थुप्रिएको गेग्रान हटाएर नसकिएको उनले बताए। ‘अकल्पनीय क्षति कागबेनीले भोगेको रहेछ,’ अधिकारीले भने, ‘अवस्था अझै पनि सहज छैन।’

प्रकाशित: १७ आश्विन २०८० १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App