१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोरखामा आमाका नामबाट नागरिकता

गोरखामा आमाका नामबाट नागरिकता वितरण सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले बाबुको पहिचान नखुलेका १६ वर्ष पूरा भएका नागरिकलाई आमाका नामबाट नागरिकता वितरण गर्न सुरु गरिएको हो।

कार्यालयपरिसरमा मंगलबार प्रशासकीय अधिकृत चुडानिधि तिवारीले भीमसेनथापा गाउँपालिका १ का १९ वर्षीय मञ्जित बानियाँलाई आमा मञ्जु बानियाँका नामबाट बनेको नागरिकताका आधारमा कार्य थालिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

‘बाबुको पहिचान नखुलेको हकमा मात्रै आमाका नामबाट नागरिकता दिने हो’, उनले भने। नागरिकता लिनका लागि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फाराम आवश्यक पर्ने प्रशासनले जनाएको छ।

त्यस्तै पति नभएको भनी आमाले र छोराले पनि बाबु नभएको भनी लिखित रूपमा स्वघोषणासमेत गरेको हुनुपर्ने बताइएको छ।

आवश्यक परेको खण्डमा प्रहरी मुचुल्कासमेत माग्न सकिने उनको भनाइ छ। नागरिकता लिनका लागि सम्बन्धित वडाध्यक्ष वा वडाध्यक्षले तोकेको जनप्रतिनिधि र नजिकका दुईजना आफन्तको सनाखतसमेत अनिवार्य रहेको बताइएको छ। प्रजिअ भुसालका अनुसार अबका दिनमा उमेर पुगेका तथा आवश्यक प्रक्रिया पूरा गरेकाहरूले जिल्ला प्रशासनमा आएर आमाका नामबाट नागरिकता बनाउन सक्ने छन्।  

प्रकाशित: १७ आश्विन २०८० ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App