मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा–४ बलिया चोकमा बसको ठक्करबाट सुन्दरहरैँचा–५ का ५२ वर्षीय केदार थापाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले सोही दिशातर्फ साइकलमा जाँदै गरेका थापालाई ठक्कर दिएको ट्राफिक प्रमुख न्यौपानेले बताए।
को १ ख ६१६९ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका थापालाई तत्कालै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। बसको ठक्करबाट घाइते भएका थापालाई उपचारका लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका ट्राफिक प्रहरीले जनाएको छ।
बसको ठक्करबाट थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। बस र बस चालक सुन्दरहरैँचा–१२ का ५३ वर्षीय नवराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस र बस चालकलाई इलाका प्रहरी कार्यालय बेलबारमा राखेर घटनाको थप अनुसन्धान अघि बढाएको ट्राफिक प्रहरी प्रमुख न्यौपानेले बताए।
प्रकाशित: १४ आश्विन २०८० १०:१९ आइतबार