१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मकवानपुरमा मुद्दा र पक्राउ पर्नेको संख्या बढ्दो

मकवानपुरमा विभिन्न प्रकृतिका घटना तथा मुद्दा र त्यसमा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या बढ्दो क्रममा रहेको छ। पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा प्रत्येक वर्ष मुद्दा र पक्राउ पर्नेको संख्या बढ्दो क्रममा रहेको पाइएको हो।

आर्थिक वर्ष २०७७/७८ मा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ७३२ वटा मुद्दा दर्ता हुँदा ५८७ जना नेपाली र ७ जना विदेशी गरी ५९४ जना पक्राउ परेका थिए।

आर्थिक वर्ष २०७८/७९ मा यो तथ्यांकमा वृद्धि भएको पाइएको छ। यस वर्ष ८०२ वटा मुद्दा दर्ता हुँदा उक्त घटनाहरुमा संलग्न रहेको आरोपमा ७०१ जना नेपाली र २९ जना विदेशी गरी ७३० जना पक्राउ परेका छन्।

यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ८६६ वटा मुद्दा दर्ता भएको पाइएको छ। जसमा ७२९ जना नेपाली र ३५ जना विदेशी गरी ७६४ जना पक्राउ परेका छन्। चालु आर्थिक वर्षको भदौ महिना सम्ममा १८८ वटा मुद्दा दर्ता भैसकेको छ। जसमा १४८ जना नेपाली र १० जना विदेशी गरी १५८ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले पछिल्लो समय विभिन्न आपराधिक घटनाहरु बढेकोले मुद्दा र पक्राउ पर्नेको संख्यामा पनि वृद्धि भएको बताए। यो स्वाभाविक भएको उनको भनाई छ।

फरार प्रतिवादी खोज्दै प्रहरी !

विभिन्न मुद्दाको फैसला पश्चात् फरार भएको प्रतिवादी पक्राउ अभियानलाई पनि प्रहरीले विशेष प्राथमिकतामा राखेको छ।

सजाय तोकिसकेका प्रतिवादीहरु समाजमा खुलेआम हिँड्ने गरेको अवस्थामा प्रहरीले पक्राउ गर्दै अदालत पेस गर्ने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा १५९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको मकवानपुर प्रहरीले २०७८/७९ मा ११४ जना र २०७९/८० मा १६७ जनालाई पक्राउ गरेको थियो।

यस्तै चालु आर्थिक वर्ष २०८०/८१ मा २९ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। फरार प्रतिवादी पक्राउ अभियान निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालले जानकारी दिए।

प्रकाशित: १३ आश्विन २०८० १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App