७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

गुनासो पेटिकामा गुनासो आउन छोड्यो

कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि उपयोगविहीन बनेका छन्। सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाइ गर्न राखिएका गुनासो पेटिका अहिले प्रयोगमा आएको देखिंदैन। प्रविधिको विकास र सहज पहुँचका कारण ती गुनासो पेटिका प्रयोगविहीन बनेका हुन्।

सडक डिभिजन कार्यालय महेन्द्रनगरको कार्यालय प्रवेश गर्ने मूल ढोकाको छेउमै गुनासो पेटिका राखिएको छ। तर उक्त गुनासो पेटिकामा गुनासो नआएको लामो समय भयो।  सेवाग्राहीको गुनासो सम्बोधन गर्न गुनासो पेटिका कार्यालयमा राखिए पनि पछिल्लो समय प्रयोगमा आउन छोडेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पियुष चटौतले बताए।

‘पछिल्लो समय बढीजसो फोनमा गुनासो आउने गरेका छन्’, उनले भने,‘हामीले कार्यालयको बेवसाइटमा सूचना अधिकारी लगायतको सम्र्पक नम्बर राखेका हुन्छौ।’

कार्यालयले सामाजिक सञ्जाल फेसबुकमा पेज बनाएको भए पनि अधिकांश गुनासो फोनबाट आउने गरेको उनको भनाइ छ।

भूमि सुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख शिवराज भट्टले पनि कार्यालयमा सेवाग्राहीको गुनासो सुन्न गुनासो पेटिका राखिएको भए पनि गुनासो पेटिका प्रयोगविहीन बनेको बताए।

‘‘गुनासो पेटिका प्रयोगविहीन बनेको छ गुनासो आउन छोड्यो’, उनले भने, “गुनासो पेटिकामा गुनासो नआएको लामो समय भयो।”

नागरिकलाई प्रदान गरिने सेवाबारे उनीहरूका गुनासा सङ्कलन गरी वस्तु तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउने उद्देश्यले हरेक सरकारी कार्यालयमा  गुनासो पेटिका राखेका भए पनि प्रविधिको बढ्दो प्रयोगले गुनासो पेटिकामा गुनासो आउन छोडेका हुन्।

प्रविधिको विकास भएसँगै सेवाग्राहीले अन्य माध्यमबाट आफ्ना गुनासा व्यक्त गर्दा गुनासो पेटिका खाली भएको कार्यालय प्रमुख बताउँछन्। कञ्चनपुरका सरकारी कार्यालयमा राखिएको गुनासो पेटिकामा अहिले गुनासो आउन पूर्ण रूपले बन्द भएको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले गुनासो पेटिकामा नभएर फोन प्रत्यक्ष भेटेर सेवाग्राहीका गुनासो आउने गरेको बताए।

“धेरैजसो गुनासो कार्यालय भेटेर फोनका माध्यमबाट र इमेलबाट आउने गरेका छन्”, उनले भने, “कार्यालयको सामाजिक सञ्जाल फेसबुकमा आएका गुनासो पनि हेर्ने गरेका छौं।”

सेवाग्राहीले गुनासो पेटिकामा गुनासो गर्ने प्रक्रिया झन्झटिलो मान्दा गुनासो पेटिकाको प्रयोग कम भएको कार्यालय प्रमुखको बुझाइ छ।

प्रकाशित: ११ आश्विन २०८० ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App