१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तिमीलाई कसले फर्कायो...!

होमनाथ न्यौपाने

‘तिमीलाई कसले पढायो? हामी जस्ता गुरुले

मन्त्री कसले बनायो? हामी जस्ता गुरुले

मन्त्री कसले खुस्काउँछ? हामी जस्ता गुरुले।’

संसद् सचिवालयमा दर्ता शिक्षा विधेयकविरुद्धको आन्दोलनमा शिक्षक होमनाथ न्यौपानेले गाएको यो गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमतिसँगै आन्दोलन सकिए पनि सामाजिक सञ्जालमा न्यौपानेलाई पछ्याउँदै अन्य शिक्षकहरू भाइरल बन्ने क्रम रोकिएको छैन।

सामाजिक सञ्जालमा भाइरल भएका शिक्षक र गाएका गीतबारेमा सञ्जालमै रमाइला प्रतिक्रिया व्यक्त भइरहेका छन्। आफ्ना महŒवपूर्ण माग पूरा नगरीकन जिल्ला फर्किएका शिक्षकलाई लक्षित गर्दै सामाजिक सञ्जालमा व्यंग्यसमेत गरिएको छ।

‘तिमीलाई कसले फर्कायो? तिमीलाई कसले पढायो ...? भन्ने न्यौपानेको गीतकै भाकामा प्रभात विष्ट सामाजिक सञ्जालमा लेख्छन्, ‘तपाईंहरूले पढाएका नेताले तपाईंहरूलाई नै घुमाएर घर पठाइदिए।’

विष्टको गीतमा धेरैले सहमति जनाएका छन्। सामुदायिक विद्यालयका शिक्षक दरबन्दी मिलान, शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई दिन नहुने लगायतका माग राखेर शिक्षक आन्दोलनमा उत्रिएका थिए। आन्दोलनले उचाइ लिँदै गर्दा उनीहरू यी माग सम्बोधन नहुँदै बाहिरिएपछि धेरैले ‘चिसो पानीले नुहाएको’ संज्ञासमेत दिए।

सरकार र नेपाल शिक्षक महासंघबीच शिक्षक समायोजन, तहगत प्रणाली र आवधिक बढुवामा महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुनेगरी अध्ययन समिति बनाउने र त्यसको सुझावबमोजिम आवश्यक कानुनी प्रबन्ध गर्नेलगायतमा सहमति भएको छ। तर यो सहमतिमा सबै शिक्षक सन्तुष्ट छैनन्। राहत शिक्षकले त अझै आन्दोलन जारी राखेका छन्।

‘यति ठूलो आन्दोलन प्रमुख माग पूरा नगरी कसरी टुंगियो हामीलाई अचम्म लागेको छ,’ राहत शिक्षक आन्दोलनमा भेटिएका निर्मल केसीले भने, ‘यो आन्दोलन त घिरौंला काट्न तरबार प्रयोग गरेजस्तै भयो।’

भाइरल न्यौपाने

सानो उपलब्धि हासिल गर्दै आन्दोलन सेलाएपछि यतिबेला सामाजिक सञ्जालमा थुप्रै शिक्षक भाइरल बनेका छन्। तीमध्ये ‘तिमीलाई कसले पढायो...?’ भन्ने गीत गाएर आन्दोलनमा रौनक भरेका शिक्षक न्यौपाने विशेष भाइरल बनेका छन्। सियोले सिलाएको झोला बोकेर आन्दोलनमा सहभागी उनले गाएको गीतले धेरैको मन छोयो।

सामाजिक सञ्जालमा असल शिक्षकको रूपमा प्रशंसासहित छाएका शिक्षक हुन् न्यौपाने। ४० वर्षीय न्यौपाने देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा माध्यमिक तहका गणित शिक्षक हुन्। आन्दोलनमा देखाएको सक्रियताको कदर गर्दै न्यौपानेलाई उनले अध्यापन गराउने विद्यालयले सम्मान गरेको छ।

आन्दोलनलगत्तै खुलेको विद्यालयको पहिलो दिन व्यवस्थापन समितिले जिल्ला र आफ्नो विद्यालयको नामसमेत चर्चामा ल्याएको भन्दै उनलाई सम्मान गरेको हो। न्यौपानेले आन्दोलनको सफलता असफलताबारे केही नबोल्ने बताए। उनले प्राप्त उपलब्धि संरक्षण गर्दै थप प्राप्तिमा लागिरहनुपर्ने बताए।

प्रकाशित: ११ आश्विन २०८० ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App