१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरको थिमिमा शुक्रबार राति जिब्रो छेड्ने जात्रा हुने

भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा भन्ने बित्तिकै प्रत्येक वर्ष विस्केटमा मध्यपुर थिमिको बोडेमा हुने जिब्रो छेड्ने जात्रा भनेर बुझिन्छ। तर मध्यपुर थिमिमै प्रत्येक वर्ष यस्तै जिब्रो छेड्ने जात्रा हुने गर्दछ। प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा (इन्द्रजात्राको क्रममा जिब्रो छेड्ने जात्रा) हुने गर्दछ।

यो जात्रा यस वर्ष असोज १२ गते शुक्रबार हुनेछ। जात्राको क्रममा जिब्रो छेड्ने स्थान भने मध्यपुर थिमि नगरपालिका वडा नं ५ दिगु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबालीमा हुने गर्दछ। विस्केटमा हुने जिब्रो छेड्ने जात्रा दिउँसो हुने गरे पनि यहाँ भने राति मात्रै जात्रा हुने गर्दछ। यो वर्ष राति ८ बजे जिब्रो छेड्ने कार्यक्रम तय गरिएको छ।

यस वर्ष मध्यपुर थिमि नगरपालिका वडा नं– ५ चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले दोस्रो पटक (पहिलो पटक बि.सं. २०७५) जिब्रो छेड्ने साहसिक कार्य गर्ने घोषणा गरेका छन्। त्यस दिन जिब्रो छेड्ने व्यक्तिले दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गरिन्छ। यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नु पर्दछ। जिब्रो छेड्ने दिनमै बेलुकापख साँझ बालकुमारीदेखि दिगु भैरवसम्मको स्थानमा बत्ती दिन गइन्छ।

त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ। यो पूजा पश्चात् जिब्रो छेड्ने व्यक्तिमा दैविक शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिँडाई डबलीमा पुर्याइन्छ। सयौं जनमानस सामु जामनः गुरु, नायःपमा, नकर्मी नाईकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ।

जिब्रो छेडेपछि भ्ये (महादिप) बोक्न लगाई उसको इच्छा अनुसार नगर परिक्रमा गराउने गर्दछ। यस वर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पशुपतिमा राति नै पैदल जाने छन्। जिब्रो छेडिसकेपछि यस वर्ष मध्यपुर थिमि नगरपालिका ५ दिगुटोलबाट चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ष गणेश मन्दिर दर्शनसँगै सिद्धिकाली माइको मन्दिर भई सिद्धिकाली चोक पुग्नेछ।

त्यहाँबाट पुनः सानोठिमी, सिनामंगल, महादेव चोक हुँदै एयरपोर्ट १० नम्बर गेट, सान बैंक्वेट चोक हुँदै एयरपोर्टसँगैको बाटो हुँदै गुहेश्वरी मन्दिर दर्शन गरी पशुपतिनाथ दर्शन गर्ने र सोही बाटो भई मध्यपुर थिमि फर्कने कार्यक्रम तालिका रहेको जात्रा व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण श्रेष्ठले जनाए। राति नै पैदल हिँडेर हुने यो यात्रा आवत र जावत गरी कुल मध्यपुर थिमिदेखि काठमाडौंसम्म मात्रै १७ किलोमिटर रहेको जनाइएको छ।

इच्छाएको ठाउँमा परिक्रमा गरेपछि मध्यपुर थिमिको बालकुमारी मन्दिरमा पुगी कमी नायोले सुइरो निकालिन्छ। सुइरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ। मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्ष भन्दा पहिलादेखि नै जिब्रो छेड्ने जात्रा सुरु भएको र एकै वर्षमा १७ जना व्यक्तिले जिब्रो छेडेको देखिएको मंगलबार आयोजित छलफल कार्यक्रममा बताइयो।

बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने गरिन्छ। त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाइन्छ। भोज खाईसकेपछि पूर्णिमाको भोलिपल्टको बिहान नातु पूजा भनी जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ र द्यः लित तवनेगु भनी विसर्जन पूजा गर्न गरिन्छ। जिब्रो छेड्ने व्यक्तिको इच्छा अनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमाका लागि गरेको पाइएको कार्यक्रममा बताइयो।

कार्यक्रममा जनाइए अनुसार यस ऐतिहासिक जात्रा वि. सं २०२६ सालदेखि लुप्त भइसकेको अवस्थालाई पुन संचालन गर्न वि.सं. २०५० सालबाट मध्यपुर थिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले ३ पटक जिब्रो छेडेर जात्रालाई जिवन्तता प्रदान गरेका थिए। 

जिब्रो छेड्ने जात्राका क्रममा थुप्रै व्यक्तिहरुलाई भोज खुवाउनुपर्ने तथा जात्राको प्रबन्ध पनि आफै मिलाउन पर्ने भएकोले थुप्रै रकमको आवश्यकता पर्ने बताइएको छ। आफ्नो जिब्रो छेड्नु अनि जात्रा खर्च पनि आफै मिलाउन पर्ने जस्ता विविध समस्याले गर्दा विगत वि.सं २०६३ सालदेखि संचालन हुन नसकेको जात्रा गत वर्ष वि. सं २०७४ सालबाट स्थानीय युवाहरु, संस्कृति प्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रमुखहरु सक्रिय भई जात्राको सम्पादन र व्यवस्थापन गर्न यया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरिएको थियो।

जात्रालाई व्यवस्थित गर्ने क्रममा मध्यपुर थिमि –४ बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले दुई पटक (बि.सं.२०७४ र २०७९) जिब्रो छेडेर लोपोन्मुख जात्रालाई निरन्तरता दिएको कार्यक्रममा बताइयो।

जात्राको क्रममा यस वर्ष पनि नौ लाख खर्च हुने अनुमान छ। जात्राका लागि आवश्यक खर्च मध्यपुर थिमि नगरपालिकाले व्यहोरिदिने कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

यो वर्ष जिब्रो छेडाउने बालकराम नानी श्रेष्ठका अनुसार जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडिदेखि नै तयारी गर्नुपर्ने हुन्छ। जिब्रो छेड्ने नातु (सुइरो) बनाउनका लागि करिब एक महिना अगाडि नातु बनाउने नकर्मीलाई खबर गर्ने जानु पर्दछ। नातु बनाउन खबर गर्न जाँदा पूजा लिएर नकर्मीको घरमा जान्छ। नकर्मीले नातु बनाइसकेपछि ३ हप्ताजति सुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राखेको हुन्छ। यस जात्रामा तीनतिर भएको नातु (सुइरो) बनाएको हुन्छ।

जिब्रो छेड्ने आठ दिन अगाडि द्यः दुसालेगु भनी बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको वली दिएर बालकुमारीको साधना गरिन्छ। जिब्रो छेडाउँदा तत्कालीन राज्य संचालकहरुको सहभागितासमेत भएका देखिएको कार्यक्रममा बताइयो। जिब्रो छेड्ने जात्राको चार दिन अघि थिमिको लाय्कूका पःमा तत्कालीन राज्य संचालक) हरुले अहिले पनि हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर जात्रामा डबलीमा राखेको हुन्छ।

इन्द्र जात्राको दिनमा बालकुमारीमा रातो भालेको बलीसहितको पूजा गरी भोज खाइन्छ। त्यसैको भोलिपल्ट येंया पुन्हीको दिनमा जिब्रो छेड्ने व्यक्ति मध्यपुर थिमिको श्रेष्ठ थरको नै हुनुपर्ने भएता पनि यां मता (आकाशदीप) मानन्धरहरुले बोक्नुपर्ने हुन्छ। त्यस्तै नातु बनाउने नकर्मी थरका व्यक्ति, राजखड्ग लिन जाँदा खड्गीहरुले नाखी बाजा बजाउने र कुस्ले (कपाली) ले मुहाली बजाउने परम्परा रहेकोमा यो जात्रा सम्पूर्ण थिमिबासीको सामूहिक सहभागितामा संचालन हुने जात्राको रुपमा रहने बताइयो।

पौराणिक कथन अनुसार परापूर्वकालमा मध्यपुर थिमिका स्थानीय बासिन्दाहरुमा विभिन्न खालका रोग, डर र भयले त्रसित बनाई दिई भयवित मानवविय मनलाई शान्ति दिलाई सुख चयनले बाच्न दिने अभिप्रायले कल्याणी भाव भएका एक महान् मानवले आराध्येदेवी श्री बालकुमारी माईको साधन गरी वहाँको दिव्य उपदेशलाई मनन गरी थिमि वासीहरूको साथ सहयोग लिई भाद्र शुक्ल पूर्णिमाका दिन एक साहसिक निर्भिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर मेंय् प्वाः खना) नगर परिक्रमा गराइएको थियो। 

ती साहसिक व्यक्तिले आफ्नो पीडालाई वास्ता नगरी थिमि भेगको मात्र होइन, आफ्नो बस्ती आसपासमा पनि भूत प्रेत र पिचास होलान् र तिनीहरुलाई पनि भगाउनुपर्छ, नत्र बाहिरको त्यस्ता पिचासहरु फेरि पनि दुख देला भनी सोचेर चाँगुनारायण, गुहेश्वरी, पशुपति आदि बस्तीहरुमा भ्ये (महादिप) तथा आकाशदिप (यां मता) लिई घुमेर यस नगर क्षेत्रको मानव मनलाई शान्तिको महसुस दिलाई चयनका साथ बस्न लाएको, बस्तीमा सुरक्षा र सहकाल आएको आम जनधारण रहेको बताइयो।

प्रकाशित: ९ आश्विन २०८० १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App