१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राप्तीसोनारीले ल्यायो ‘गुनासो एप’

राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरे पनि उक्त एपलाई औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गुनासो एपलाई सञ्चालनमा ल्याएका हुन् ।

मोबाइलको प्लेस्टोरमा गई ‘गुनासो राप्तीसोनारी एप’ डाउनलोड गरेर सेवाग्राहीले गाउँपालिका कार्यालय, विषयगत शाखा, वडा कार्यालयसँग सम्बन्धित गुनासो पठाउन सक्नेछन् । यसबाट सम्बन्धित शाखालाई गुनासो पठाउन सकिने र गाउँपालिकासँग प्रत्यक्ष कुराकानी गर्न पनि सकिने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए ।

गुनासो एपमा गाउँपालिकाले नागरिक बडापत्र नेपाली, थारू र अवधी भाषामा राख्ने तयारी गरेको उनले जानकारी दिए । गाउँपालिकालाई पारदर्शी, सुशासनमैत्री गराउन तथा जनताका गुनासालाई छिटोभन्दा छिटो समाधान गर्ने उद्देश्यले यस्तो एप प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाइ छ ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलका अनुसार सेवाग्राहीले सम्बन्धित शाखा तथा वडा कार्यालयमा पठाएको गुनासोलाई तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । जनताको गुनासो सम्बोधन भए/नभएको विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अनुगमन गर्न सक्ने सूचना प्रविधि अधिकृत पौडेलले बताए ।

उनले गाउँपालिकाले सूचना अधिकारीलाई गुनासो सुन्नका लागि फोकल पर्सन बनाउने तयारी गरेको जानकारी दिए । गाउँपालिकाले आइतबार एप प्रयोगमा ल्याएसँगै विभिन्न शाखा प्रमुख, कार्यपालिका सदस्यलगायतलाई प्रशिक्षण दिएको छ ।

प्रकाशित: ९ आश्विन २०८० ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App