‘सामाजिक सद्भाव कायम गरौँ हामी नेपाली एक हौ’ भन्ने नाराका साथ वीरगन्जमा धार्मिक सद्भाव र्याली निकालिएको छ। केही दिन देखी वीरगन्जमा पनि धार्मिक सद्भाव खलबलिने सम्भावना बढेपछि महानगरको अगुवाइमा सोमबार दिउसो सद्भाव र्याली निकालिएको हो।
आर्दशनगरमा रहेको स्वीमिङ्गपुलबाट निकालिएको सद्भाव र्याली आदर्श नगर, माइस्थान, घण्टाघर चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। सिडिओ कार्यालयमा पुगेको र्यालीले सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साललाई ज्ञापन पत्र बुझाएको थियो।

ज्ञापन पत्र बुझाउनेमा महानगरका मेयर राजेशमान लगायत प्रतिनिधिसभा सदस्य प्रदीप यादव, उपमेयर इम्तियाज आलम, राजनीतिक दलका नेता, महानगरपालिकाका कर्मचारी, शिक्षक–शिक्षिका, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी लगायतका सहभागिता थियो।
‘वीरगन्जमा सदियौंदेखी हिन्दु र मुस्लिमबिच आपसी सद्भाव र भाइचारा रहिआएकोमा केही समय देखी दुवै समुदायका चाडपर्व, सभा, जुलुस तथा जात्रामा दुवै धर्मावलम्बीका केही सीमित व्यक्तिहरुबाट आपसी सद्भाव र भाइचारा बिथोल्ने गरी धार्मिक सहिष्णुता विरुद्ध अवाञ्छित गतिविधि गर्ने क्रम बढ्दै गएको, समाजमा रहेको अमनचयन र शान्ति भंग गर्न क्रियाशील त्यस्ता उच्छृङ्खल व्यक्तिहरुले सामाजिक संजालको दुरुपयोग गरी समाजलाई भड्काउने, विभाजित गर्ने र कुनै धर्म तथा समुदायलाई उक्साउने र धार्मिक द्वन्द्व बढाउने खालका श्रव्य दृश्य सामग्रीसमेत पोष्ट गरिरहेकोले त्यस्ता व्यक्ति वा समूहविरुद्ध साइबर अपराध तथा कडा कानुनी कारबाहीको लागि माग गर्दछौँ।’ ज्ञापन पत्रमा लेखिएको छ।

महानगरका मेयर सिंहले ज्ञापन पत्र बुझाउँदै पछिल्लो समय धार्मिक द्वन्द्व बढाउने, सद्भाव बिगार्ने काम भइरहेकाले यस्ता समाजलाई लडाउने व्यक्तिलाई प्रशासनले कारबाहीको दायरामा ल्याउन जरुरी रहेको बताए। ‘भाइचारालाई जसले तोड्छ वीरगन्जवासीले उसलाई महुतोड जवाफ दिन्छ , ’उनले भने।
ज्ञापन पत्र बुझ्दै सहायक सिडिओ लम्सालले सद्भाव बिगार्ने जोसुकैलाई नछाडिने बताए। गलत गर्ने जो कोहीलाई कानुन अनुसार कारबाही गर्नबाट प्रशासन पछाडि नहट्ने उनको प्रतिबद्धता थियो।
सर्लाहीको मलंगवा मूर्ति सेलाउन क्रममा दुई समुदायबिच विवाद भएको थियो। त्यही विवादका दोषीको कारबाहीको माग गर्दै वीरगन्जमा पनि शनिबार वीरगन्ज हिन्दु समाजको आह्वानमा प्रदर्शन तथा बजार बन्द भएको थियो।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सर्वपक्षीय बैठकले सबै समुदायका बिच आपसी सद्भाव कायम राख्ने निर्णय गरेको थियो। यता, वीरगन्जमा पनि दुई समुदायबिच विवाद चर्किने सम्भावना बढेपछि त्यसलाई निरुत्साहित पार्नका लागि महानगरले आइतबार सद्भाव र्याली निकाल्ने सूचना जारी गरेको थियो।
प्रकाशित: ८ आश्विन २०८० ११:०६ सोमबार





