धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा दशगजा क्षेत्र नजिकै एक जनाको शव सोमबार भेटिएको छ।
भेटिएको शव पचरौता नगरपालिका-१ पिपरपातीका ३३ वर्षीय अमरेश कुमार सिंहको रहेको बारा प्रहरीले जनाएको छ।
बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले शव भेटिएका अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेर घाइते बनाएको निशान देखिएको बताए।
सिंहले सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी जवानमा पाँच वर्ष जागिर गरी छोडेका थिए सशस्त्रको जागिर छोडे पछि उनले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल समेत सञ्चालन गरेका थिए।
सिंहले रक्सी पसललाई छोडेर अहिले गाउँमै बसेर खेतीपाती गर्दै आएको र हत्या गरिनुको कारणको बारेमा प्रहरीले अनुसन्धान गरी रहेको उपरीक्षक काफ्लेले बताए।
सिंहको हत्याको अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतो गरी दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दाडीराम न्यौपानेले बताए।
सिंहकाे हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपाल तर्फ रक्सी पसल सन्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडा समेत भएको अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ।
प्रकाशित: ८ आश्विन २०८० १०:१२ सोमबार





