१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा गुन्जियो ‘राजा आऊ देश बचाउ’

तस्बिर: राजिव खत्री/नागरिक

पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार भक्तपुरमा भव्य स्वागत भएको छ। भक्तपुरको दरबार स्क्वायरस्थित तलेजु भवानीको दर्शन गर्न र पाँच तल्ले मन्दिरस्थित भैरवनाथको दर्शन गर्न उनी दिउँसो ३ बजे भक्तपुर पुगेका थिए।

पूर्वराजाको स्वागतका लागि हजारौं मानिसको भीड लागेको थियो। भक्तपुरको दरबार क्षेत्र पूरै सर्वसाधारणको भीडले घेरिएको थियो। त्यहाँ राजावादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता एवं विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ताहरूका साथसाथै सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

पूर्व राजालाई भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने (खौमा) प्रवेशद्वारमा कन्याहरुले स्वागत गरेका थिए। साथै पूर्व राजाको स्वागतमा गठन गरिएको श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत समारोह समिति भक्तपुरका पदाधिकारीहरुले स्वागत गरेका थिए। साथै खौमा प्रवेशद्धारदेखि तलेजु प्रवेश गर्ने बाटोको दुवैतर्फका समर्थकहरुले झण्डा बोकेर स्वागत गरेका थिए।

दरबार स्क्वायरस्थित स्वर्ण गजुर ढोकाबाट प्रवेश गरी पूर्व राजा तलेजु पुगेका थिए। उनले त्यहाँ दर्शन गरेका थिए। त्यहाँ पुनः उनी भक्तपुरका पाँच तल्ले न्दिमर छेउको भैरवनाथ मन्दिरमा गएका थिए। त्यहाँ उनले बेताल र भैरवनाथको दर्शन गरे। त्यसपछि पुनः पाँच तल्ले मन्दिरबाट क्वाछें हुँदै दरबार क्षेत्रमा पुगे। त्यहाँबाट उनी गाडी चढेर सल्लाघारीस्थित ग्रीनल्याण्ड होटेलमा पुगेका थिए। दिउँसो तीन बजे भक्तपुर पुगेका उनी साढे चार बजेसम्म रहेका थिए।

पूर्वराजा दरबार स्क्वायरमा आउँदा राजा आऊ देश बचाउ भनेर नारा लगाइएको थियो। साथै राजतन्त्र जिन्दाबाद नारा पनि लगाइएको थियो। साथसाथै लोकतन्त्र मुर्दावाद पनि नारा गुन्जिएको थियो।

कार्यक्रम अनुसार पूर्व राजाले ग्रीनल्याण्ड होटल सल्लाघारीमा सर्वसाधारणलाई दर्शन भेट दिएका थिए। होटेलमा भने सर्वसाधारणलाई प्रवेश निषेध थियो। त्यहाँ पहिला नै तय भएको नामावलीमा समावेश व्यक्तिहरूलाई मात्रै प्रवेश थियो। त्यसो भए पनि त्यहाँ पनि राजावादीहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता कार्यकर्ताहरू लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो।

सीमितलाई मात्रै भेटघाट गर्ने भनिए पनि त्यहाँ सयौँले पहिला नै पास लिएर दर्शनभेट पाएका थिए। पत्रकारलाई प्रवेश गराइए पनि राजाले पत्रकारसँग कुराकानी गरेनन्। पत्रकारलाई पनि तस्बिर खिच्न र दर्शनभेट मात्रै दिए। पाँचबजे ग्रीनल्याण्ड होटल पुगेर आधा घण्टा आराम गरी साढे पाँच बजेबाट दर्शनभेट सुरु भएको थियो। यो क्रम साढे ६ बजेसम्म चलेको थियो।

पूर्वराजाको धार्मिक देशाटन भव्य र उल्लासमय बनाउन तथा उनको स्वागत, सत्कार गर्नका लागि स्थानीय समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा एक समिति गठन गरिएको थियो। समितिका संयोजक धौभडेलले पूर्वराजाको भक्तपुर भ्रमणलाई विशेष महत्त्व र प्राथमिकता दिएको बताए।

समितिका सदस्य सचिव रामेश्वर थापाले स्वागत समारोह समिति कुनै पनि राजनीतिक एवं संगठनको रङको नभई विशुद्ध रूपमा सम्पूर्ण भक्तपुरवासीको प्रतिनिधित्व गर्दै गठन भएको प्रस्ट पारे।

पूर्वराजाको भक्तपुर भ्रमणमा स्थानीय कला, संस्कृति भकल्ने परम्परागत शैलीमा स्वागत, सत्कार गरिने उनले जनाए। साथै सोही दिन भक्तपुरको सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा पूर्व राजासँग देशको समसामयिक विषयमा सर्वसाधारणलगायत सञ्चारकर्मीहरूले अन्तर संवाद गर्ने कार्यक्रम तय गरिएको जनाएको छ। 

तस्बिरहरु: राजिव खत्री/नागरिक

प्रकाशित: ७ आश्विन २०८० १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App