१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बाल सुधार गृहप्रति आफन्तको आक्रोश: ‘कुलतमा फसाउने होइन सुधार गर’

बिहीबार तनावग्रस्त भएको जयेन्त बाल सुधार गृह परिसर। तस्विरः गणेश/नागरिक

बाँकेको डुडुवा गाउँपालिका–५, असमानपुरमा रहेको जयेन्त बाल सुधार गृहमा रहेका भाइलाई भेट्न बिहीबार रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिकाबाट एक महिला पुगिन्।

भाइलाई आफ्नै हातले बनाएको खाना ल्याएर उनी पुग्दा बाल सुधार गृह रणभूमि जस्तै थियो। बाल सुधार गृह वरिपरि ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियारसहित तैनाथ थिए। बाल सुधार गृहभित्र रहेकाले तोडफोड गरिरहेका थिए। उक्त आवाज उनी आउने बाटैसम्म सुनिन्थ्यो।

सिर्जित तनावग्रस्त स्थितिलाई प्रहरीले नियन्त्रण गर्न खोजिरहेको थियो भने उनीहरु प्रहरीलाई रोक्न हर प्रयास गरिरहेका थिए। एक दिनभरि गाडी यात्राबाट सुधार गृहमा पुगेकी उनले भाइलाई भेट्न पाइनन्।

बिहीबार बिहान बाल सुधार गृहमा छोरालाई ‘मिनिरल वाटर’ र घरबाटै बनाएर ल्याएको खाना हातमा समातेरे तीर्थराज बाल सुधार गृह पुगे। तर, विडम्बना उनले ती सबै खानेकुरा छोरालाई दिन पाएनन्। उनका छोरा बिरामीसमेत छन्।

‘छोराले बेलैमा औषधि खान्छ खाँदैन सोधपुछसँगै उसको अवस्था बुझ्न आएको थिएँ,’ उनले भने, ‘अवस्था त शान्त देखिएन।’ यहाँको परिस्थिति देखेर उनी चिन्तित छन्। बाल सुधार गृहमा बढ्दो कुलत र हिंसात्मक गतिविधिप्रति उनले दुःखेसो पोखे।

‘जबरजस्ती करणी अभियोगमा भाइ पाँच दिन पहिला बाल सुधार गृहमा आएको हो,’ ती महिलाले भनिन्, ‘सुधार गृह नाम मात्रको रहेछ।’ बाल सुधार गृहमा बालक मात्र हुने र उनीहरुको आनीबानी सुधार हुने अपेक्षा गरेको भन्दै उनले भनिन्, ‘यहाँ त १८ वर्षभन्दा माथिका धेरै रहेछन्। उनीहरु हिंसात्मक गतिविधि र कुलतमा लागेको देखियो। यसले यहाँ सुधार गर्नभन्दा पनि अझ कुलतमा फस्लान् भन्ने डर भयो।’

पछिल्लो समय बाल सुधार गृहमा दुई समूहबिच बेलाबेला झडप हुँदै आएको छ। बाल सुधार गृहमा लागु औषधको कारोबार हुँदा पनि बाल सुधार गृहमा बाल कैदीबन्दी तथा थुनुवामा नकारात्मक मनस्थिति पैदा हुँदै गएको छ। यहाँ कर्तव्य ज्यान, बलात्कार, चोरी, अपहरणलगायतका मुद्दा लागेकाहरु बस्दै आएका छन्।

आफन्त भेट्न आएका नवीन बुढाथोकीले यहाँ बालक राख्नु भनेको झनै कुलतमा फसाउनु भएको बताए। ‘सुधार गृहमा बालकहरु सुध्रिउन भन्ने हो,’ उनी आवेगमा आउँदै भन्छन्, ‘यहाँ सुधार गर्न होइन अझ बिगार्न राखिएको छ।’ 

बुधबारदेखि १५ घण्टासम्म चलेको झडपका कारण यहाँ रुपन्देहीका १८ वर्षीय सुलभ केसीको मृत्यु भएको छ भने ११ जनाको मृत्यु भएको छ। यहाँ रहेका बालकहरु बेलाबेला भाग्ने प्रयास गरेका छन्। पछि प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरेको छ। यहाँ रहेका बालकलाई शिक्षा र सीपमूलक काम सिकाउनु पर्ने भन्दै उनले यहाँको प्रशासनले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले बताए।

सुधार गृहभित्र रहेका १८ वर्षभन्दा माथिकाले भाँडभैलो गर्दै आएका छन्। उमेर पुगेकालाई यहाँबाट कारागार सार्दा यहाँको अवस्था केही शान्त हुन सक्ने उनले बताए। बाल सुधार गृहभित्र रहेकाहरुलाई सिर्जनात्मक काममा लगाउनु पर्ने उनको भनाइ छ।

झडपका क्रममा आक्रोशित सुधार गृहभित्र रहेका उनीहरुले पनि १८ वर्षभन्दा माथिकालाई कारागार लिनु पर्ने बताएका थिए। आफूहरु बालक नभएको भन्दै उनीहरुले बालकलाई धेरै सजाय सुनाएको प्रति पनि गुनासो आक्रोश व्यक्त गरे। उक्त बाल गृह व्यवस्थापनको जिम्मा २०७५ देखि न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) गैरसरकारी संस्थाले लिएको छ। बाल सुधार गृहकी प्रमुख विमला काउचा मगरका अनुसार यहाँ १८ वर्षभन्दा माथिका मात्रै एक सय ६६ जना छन्।

उनका अनुसार यहाँ हाल दुई सय ५४ बाल कैदीबन्दी तथा थुनुवा छन्। लागु औषध सेवनकर्ताहरुकै कारण बेलाबेला झडपको अवस्था आउनेको उनको भनाइ छ।

‘यहाँ रहेकालाई जति सम्झाउँदा पनि मान्दैनन्,’ उनले भनिन्, ‘नसा (लागु औषध) को कुलतमा परेपछि यहाँ खाने र नखानेबिच समूह बनेको छ। उनीहरुको झगडा हुन्छ।’

प्रकाशित: ६ आश्विन २०८० १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App