डडेल्धुरा भागेश्वर गाउँपालिकाकी २० वर्षीय एक युवतिमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेर बिहीबार डडेल्धुरा जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो। सामूहिक बलात्कारमा परेर युवतीको ५ महिनाको गर्भ समेत रहेको खुलेको छ।
पक्राउ पर्नेमा डडेल्धुरा भागेश्वर गाउँपालिका वडा नं-३ निवासी २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र १८ वर्षीय प्रकाश ओड रहेकाे डडेल्धुराका प्रहरी नायव उपरीक्षक दिपक कार्कीले जानकारी दिए।
प्रहरीले मंगलबार पक्राउ परेका ४ जनालाई बिहीबार जिल्ला अदालत डडेल्धुराबाट ७ दिनको म्याद थप गरेर सार्वजनिक गरेको हो। युवतीलाई सामूहिक बलात्कार गरेको घटनामा अन्य व्यक्तीको पनि संलग्नता हुनसक्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।
गत वैशाख ५ गते दिउँसो भागेश्वर गाउँपालिकाको बाटो छेउमा रहेको नानिगाड खोलामा दिउँसो र वैशाख १२ गते साँझ एउटा बाँझो (मान्छे नबस्ने) घरको गोठमा लगेर सामूहिक बलात्कार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
डडेल्धुरा भागेश्वर गाउँपालिकाका २० वर्षीय युवती स्थानीय लामिकांडे स्वास्थ्य चौकीमा संचालन भएको स्वास्थ्य शिविरमा उपचार गर्न भदौ ३० गते पुगेकी थिइन्। पेट सम्बन्धी समस्या भएकाले उपचार गर्न आएकी उनको भिडिओ एक्स-रे गर्दा पेटमा ५ महिनाको गर्भ रहेको पाइयो।
विवाहित ती युवतीको पती एक वर्ष भन्दा बढी समयदेखि मजदुरी गर्न भारतमा थिए। पेटमा गर्भ रहेको पाइएपछि परिवारका मान्छेले सोधी खोजी गर्दा पीडित युवतीले सामूहिक बलात्कारमा परेको घटना सुनाइन्।
‘पीडित युवतीले सामूहिक बलात्कार गर्ने मध्य एक जनाको हात र घाँटीमा ट्याटु रहेको हुलिया बत्ताइन। उनले दिएको हुलियाका आधारमा एक जनालाई पक्राउ गर्यौँ, आरोपित युवाले घटना स्विकारे, उनीबाट थप अरूको जानकारी लिएर मंगलबार ४ जना पक्राउ गरेर ल्यायौँ’ डिएसपी कार्कीले भने, ‘घटनाको बारेमा थप अनुसन्धान गरिरहेका छौं’।
पीडित युवतीका ससुराले मंगलबार नै बुहारीमाथि सामूहिक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा किटानी उजुरी दर्ता गराएका थिए। पीडित युवतीको डेढ वर्षको एक छोरी पनि रहेको उनले बताए।
प्रकाशित: ४ आश्विन २०८० १५:१८ बिहीबार





