वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर काठमाडौंमा गई आन्दोलन गरिरहेका शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।
बिहीबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले एक सूचना जारी गरेर विद्यालयको पठनपाठन नै ठप्प पारेर आन्दोलन नगर्न शिक्षकहरुलाई आग्रह गर्दै यथाशीघ्र विद्यालयमा फर्किएर पठनपाठन सुचारु गर्न आग्रह गरेका छन्। अन्यथा सम्बन्धित विद्यालयका प्रधानाध्यापक स्वयं जिम्मेवार हुने उक्त सूचनामार्फत नै चेतावनी समेत दिइएको छ।
महानगरको सूचनामा विद्यालयको पठनपाठन नै अवरुद्ध हुने गरी भइरहेको शिक्षकहरुको आन्दोलनप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै महानगरपालिकाले विद्यालयको पठनपाठन बन्द हुँदा संविधान प्रदत्त बालबालिकाको शिक्षा पाउनु पर्ने मौलिक अधिकारबाट बालबालिका वञ्चित भएकोले उक्त मौलिक अधिकारबाट बालबालिकालाई वञ्चित नगराउन आन्दोलनरत शिक्षकहरुलाई सचेत गराएको छ।
प्रकाशित: ४ आश्विन २०८० १८:१७ बिहीबार