१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कोशी प्रदेशको माटोमा अधिक ‘अम्लीयपन’

फाइल।

कोशी प्रदेशको माटोमा अधिक अम्लीयपन भएको पुष्टि भएको छ। माटोमा वर्षेनी अम्लीयपन बढे पनि यसलाई उपयुक्त बनाउने ढंगले नियमनकारी निकायले योजना ल्याउन भने सकेको छैन।

आर्थिक वर्ष २०७९–८० मा कोशी प्रदेश भरी तीन हजार ८३६ वटा माटोको नमुना संकलन गरी परीक्षण गर्दा एक हजार २२१ वटा नमुना अधिक अम्लीयपन पुष्टि भएको हो।

माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका अनुसार कुल नमुनामध्ये डिजिटल सोयल म्यापका आधारमा परीक्षण गर्दा २५३ वटा नमूनामा अम्लीयपन देखा परेको हो। यस्तै, ल्याबमा गरिएको परीक्षणमा २२२ वटा नमुना, मोबाइल भेनमा ५१३ र किट बक्समा गरिएको परीक्षणमा २३३ वटा नमूनामा अम्लीयपन देखा परेको प्रयोगशालाका अधिकृत सन्तोष कट्टेलले बताए। 

पछिल्लो समय डिटिल सोयल म्यापका आधारमा कोशी प्रदेशका पहाडी जिल्ला सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, भोजपुर र उदयपुरमा माटो परीक्षण गर्ने गरिएको छ। अन्नबाली उत्पादनको उर्वर भूमि मानिने झापा, मोरङ र सुनसरीका तीन वटै जिल्लामा आर्थिक वर्ष २०७९–८० मा माटोमा अम्लीयपन बढी नै रहेको पाइएको छ। जसमा झापामा २५ वटा नमुना संकलन गर्दा ८८ प्रतिशत, मोरङमा १९१ वटा नमुना परीक्षण गर्दा ८८.४ प्रतिशत र सुनसरीमा ६३९ वटा नमुना परीक्षण गर्दा ७५.५ प्रतिशत अम्लीयपन पाइएको छ।

अनुकूल माटो हुँदा स्वाभाविक रुपमा अन्नबाली उत्पादन बढ्छ। तर, उपयुक्त माटो नभएर अम्लीयपन बढी हुँदा अपेक्षाकृत उत्पादन भने नहुने गरेको कोशी अञ्चल स्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले जनाएको छ।

माटोमा अम्लीयपन भएपनि सुधार नहुँदा अन्नबाली उत्पादन घट्ने गरेको छ। यद्यपि धानले अम्लीय माटो सहन सक्छ। धानका लागि ५ देखि ६.५ सम्म पिएच भएको माटो आवश्यक पर्छ।

‘मुख्य कुरा त माटोका कारण अन्नबाली उत्पादन राम्रो नहुँदा किसान नै तात्नुपर्छ, अम्लीयन बढी भएको माटो धान बालीले सहने भएकाले गर्दा पनि अहिलेसम्म किसान चुप भएको पाइएको छ,’ माटो परीक्षण प्रयोगशाला झुम्का सूचना अधिकृत राजेन्द्रप्रसाद यादवले भने।

माटोमा अम्लीयन बढी हुँदा यसलाई हटाउन मुख्य उपाय भनेको कृषि चुनको प्रयोग हो। अम्लीयपन घटाउने घरेलु विधिमा कम्पोष्ट मलको प्रयोग गर्न सकिन्छ। तर, अभियानकै रुपमा कृषि चुन प्रयोग गर्दा माटो राम्रो बन्ने तर्क माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका सूचना अधिकारी यादवको तर्क छ।

‘तीनै तहका सरकारले माटोलाई उपयुक्त बनाउन कृषि चुनको प्रयोगलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्छ,’ उनले भने।

तराईको माटोमा कृषि चुन प्रयोग गर्दा प्रतिकट्ठा अधिकतम ३५० केजीदेखि न्यूनतम २२ केजीसम्म लाग्छ। यस्तै, पहाडमा न्यूनतम १५ केजीदेखि अधिकृतम ४२० केजीसम्म प्रतिकट्ठा कृषि चुन चाहिन्छ।

माटोलाई स्वास्थ्य राख्न सक्दा उत्पादन स्वतः बढ्नेछ। माटो परीक्षण नगरी रासायनिक मलको जथाभाबी र गोबर मलको घट्दो प्रयोगले माटोमा अम्लीयपनका साथै क्षरीयपन बढ्दै गएको अधिकृत कट्टेलले बताए।

कुल माटोको नमुनामध्ये कोशी प्रदेशमा तटस्थ वा उपयुक्त प्रकारको माटो ७७४ वटा नमुना मात्र परीक्षणबाट पत्ता लागेको जानकारी दिइयो। यस्तै, अध्याधिक अम्लीयपन १६, मध्यम अम्लीयपन ८५४, कम क्षारीय ८९, मध्यम क्षारीय ७४ र अधिक क्षारीय १३ वटा नमूनामा रहेको माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: ४ आश्विन २०८० १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App